ad ad

अटो


पहिलोपटक नेपाल भित्रियो हाइड्रोजन कार (भिडिओ)

केयूले बनाएको हाइड्रोजन इन्धनको अनुसन्धान गरिने

वसन्त अर्याल
कात्तिक २३ , काठमाडौँ

नेपालमा पहिलो पटक हाइड्रोजन इन्धनबाट चल्ने गाडी भित्रिएको छ। काठमाडौं विश्वविद्यालयले हाइड्रोजन इन्धनको अनुसन्धान गर्न कोरियाबाट नयाँ गाडी झिकाएको हो।

नेपाल आयल निगमको सहयोगमा केयूले ग्रिन हाइड्रोजन ल्याब स्थापना गरी यससम्बन्धी अध्ययन गरिरहेको छ। केयूले उत्पादन गरेको हाइड्रोजन इन्धन सो गाडीमा प्रयोग गरिनेछ।

काठमाडौं विश्वविद्यालय मेकानिकल इन्जिनियरिङ विभागका एसोसिएट प्रोफेसर डा. विराजसिंह थापाले केयूले हाइड्रोजन उत्पादन र भण्डारण गर्ने क्षमता विकास गरिसकेको बताए। 

‘हाइड्रोजनले गाडी पनि चल्छ भनी देखाउन गाडी र रिफ्युलिङ सेन्टर ल्याएका छौँ,’ थापाले भने, ‘केही समयमै हाइड्रोजनबाट गाडी सडकमा गुडाउने अवस्थामा हुनेछौँ।’

ब्याट्रीबाट स–साना गाडी सञ्चालन गर्न सहज हुने तर ठूला सवारी चलाउन हाइड्रोजन इन्धन उपयुक्त हुने उनले बताए।

‘पेट्रोलबाट चल्ने गाडीको विकल्प ईभी हो। नेपालमा पनि त्यसको सम्भावना कायम नै छ,’ ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. थापा भन्छन्, ‘तर डिजेलबाट चल्ने साधनको विकल्प ब्याट्री नभई हाइड्रोजन हो।’

नेपालमा पहिलो हाइड्रोजन कार भित्रिएसँगै यसको अनुसन्धानको ढोका खुलेको छ। तर नेपाल सरकारले हाइड्रोजनलाई इन्धनको रुपमा अझै परिभाषित गरेको छैन। त्यसैले अहिले व्यावसायिक रुपमा हाइड्रोजन कार ल्याउन कानुनी अड्चन छ। अनुसन्धानका लागि ल्याइएको गाडीमा कर छुट दिए पनि हाइड्रोजनका गाडीलाई कति कर लगाउने, सरकारले यसबारे कानुनी स्पष्टता गर्न आवश्यक रहेको उनको भनाइ छ।

यातायात व्यवस्था विभागले वर्गीकरण गरेको इन्धनबाहेक अरुबाट चल्ने गाडी सडकमा कुदाउन पाइँदैन। पेट्रोल, डिजेल, विद्युतीय कारलाई जस्तो नम्बर प्लेट दिने व्यवस्था छैन। विद्युतीय गाडीलाई नम्बर प्लेट दिन नै एक दशकभन्दा बढी समय लाग्यो। 

‘नेपालमा हाइड्रोजन सम्बन्धी राष्ट्रिय नीति बनाउन आवश्यक छ,’ उनले भने, ‘नीतिगत व्यवस्था जति छिटो भयो, त्यति छिटो नै व्यावसायिक रुपमा हाइड्रोजन फ्युल प्रयोगमा ल्याउन सकिन्छ।’

हाइड्रोजनबाट चल्ने साधन नेपालमा कति उपयुक्त?
विश्वभरि नै पेट्रोलियम पदार्थको विकल्प खोजी भैरहेको छ। हाइड्रो, सोलार र हावाबाट उत्पादन हुने विद्युतलाई यातायातका साधनमा कसरी प्रयोग गर्न सकिन्छ भनेर विभिन्न प्रयोग भैरहेका छन्। ब्याट्रीमा विद्युत सञ्चित गरी साधन सञ्चालन गर्ने र पानीबाट हाइड्रोजन निकाली गाडी सञ्चालन गरिएको छ। 

केयूले एक पटक हाइड्रोजन भर्दा ६०० किलोमिटर कुद्ने गाडी भित्राएको हो। हुन्डाईको २०१९ को नेक्सो कार सेकेन्ड जेनेरेसन हाइड्रोजन भेहिकल हो। 

‘हाइड्रोजन फ्युलको गाडी विद्युतीयजस्तै हो। ईभीमा ब्याट्रीले मोटरमा पावर दिएको हुन्छ,’ ग्रिन हाइड्रोजन ल्याबका प्रोजेक्ट इन्जिनियर नितेश यादवले भने, ‘यसमा फ्युल सेलमा हाइड्रोजनले नै मोटर चलाउँछ।’

गाडीमा ६ केजी हाइड्रोजन भण्डारण क्षमता छ। त्यसका लागि ३ वटा हाइप्रेसर ट्यांक छन्। राम्रो विद्युत् भए ५५ लिटर पानीबाट ६ केजी हाइड्रोजन उत्पादन गर्न सकिन्छ। गाडीमा ५ देखि ६ मिनेटमा रिफिल सेन्टरबाट हाइड्रोजन भर्न सकिन्छ। 

केयूले ‘प्रोटोटाइप अनसाइड हाइड्रोजन प्रोडक्सन एन्ड रिफ्युलिङ युनिट’ भित्र्याएको छ। यसले भने दैनिक २ केजी मात्रै हाइड्रोजन उत्पादन गर्न सक्छ। यसको बफर ट्यांकको क्षमता बढाउँदा उत्पादन पनि बढाउन सकिन्छ।

हुन्डाईले एक पटक हाइड्रोजन भरेपछि एक हजार किमि कुद्ने गाडी बनाइसकेको छ। टाटाले व्यावसायिक रुपमा हाइड्रोजनबाट चल्ने ट्रक र बस सञ्चालन गर्दा त्यसको पूर्वधारको रुपमा रिफ्युलिङ सेन्टर पनि स्थापना गरिरहेका छन्। 

‘हाइड्रोजनको विकास नेपालमा मात्रै नभई विश्वभर नै अनुसन्धान भैरहेको छ,’ डा. थापाले भने, ‘भारतमा टाटाले हाइड्रोजनबाट १५ देखि २० टन भार बोकेर गुड्ने कमर्सियल ट्रक बनाएको छ। दिल्लीबाट जयपुरसम्म टिकट काटेरै हाइड्रोजन बस चढ्न पाइन्छ।’

भिडिओ

पानी र बिजुलीबाट हाइड्रोजन उत्पादन
‘नेपालले हाइड्रोजन बस ल्याउने, रिफ्युलिङ उपकरण पनि ल्याउँला। तर हाइड्रोजन फ्युल पनि आयात नै गरे इन्धनमा कसरी आत्मनिर्भर हुने?’ उनले भने, ‘रिफ्युलिङ स्टेसनलाई चाहिने पानी र बिजुली मात्रै हो। जुन नेपालमा पर्याप्त छ। हाइड्रोजनको उत्पादन हामी आफैँ गर्ने कि अहिले भारतबाट डिजेल पाइपमा ल्याएजस्तै ल्याउने?’

ग्रिन हाइड्रोजन ल्याबमा रिसर्च गरिरहेका विष्णु पाण्डेले पानीबाट हाइड्रोजन उत्पादन गरी भण्डारण गर्न सकिने बताए। उनले नेपालको पानी र विद्युतको प्रयोगबाटै हाइड्रोजन र मिथेन उत्पादन गर्न सकिने बताए। 

‘हाइड्रोजन उत्पादन गरी चाउचाउ पकाएर खाएका छौँ। अब केयूको क्याफेटेरियामा यसको प्रयोगको तयारीमा छौँ,’ पाण्डेले भने, ‘हाइड्रोजनसँग कार्बनडाइअक्साइड मिसाइ मिथेन बनाए एलपीजी ग्यासको विकल्पमा प्रयोग गर्न सकिन्छ।’

नेपालमा बिजुली बेचेर हाइड्रोजन आयात गर्ने नीति बनाउने कि उत्पादित विद्युत खपत गरी हाइड्रोजन उत्पादनगरी निर्यात गर्ने, यो सरकारको नीतिमा भर पर्ने थापाले बताए।

‘अब हाइड्रोको खपत बढाउन पानीबाटै हाइड्रोजन निकाली नवउर्जाको रुपमा प्रयोग गर्न सकिन्छ,’ थापाले भने, ‘हाइड्रोजनले हवाईजहाजदेखि बस, कार, उद्योग सञ्चालन गर्न सकिन्छ।’

पेट्रोल, डिजेल, कोइला प्रयोग हुने ठाउँमा हाइड्रोजन प्रयोग गर्नेगरी विकसित देशमा अनुसन्धान धेरै अघि बढिसकेको उनको भनाइ छ। 

फोटो/भिडिओ : विशाल कार्की

कात्तिक २२, २०८० बुधबार २०:२९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .