अटो


नेपाली लुब्रिकेन्टको गुणस्तर: गाडी चाँडाे बिग्रिए खत्तम, नबिग्रिए गज्जब !

नेपाली लुब्रिकेन्टको गुणस्तर: गाडी चाँडाे बिग्रिए खत्तम, नबिग्रिए गज्जब !

बसन्त अर्याल
पुस २०, २०७६ आइतबार १२:३०,

नेपालमा कसैले गाडी किन्न खोज्यो भने कस्तो गाडी हो भनेर धेरै ठाउँमा बुझ्ने गरेका छन्।

कति मूल्य, कस्तो ठाउँमा कुद्न सक्छ, खरिदपछिको सेवा सुविधा कस्तो छ, पार्टस् पुर्जा सहजै पाउँछ कि पाउँदैन भन्ने धेरै बुझेर किन्ने गरेका छन् । तर त्यही गाडीको मुटु मानिने इन्जिनमा प्रयोग हुने तेल/लुब्रिकेन्ट्स कस्तो प्रयोग गर्ने भन्ने खासै ध्यान दिएको देखिँदैन।

यसले गाडीको आयु कम हुने गरेको अटो व्यवसायीले बताउने गरेका छन्। नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुर प्रसाद न्यौपाने भन्छन्, ‘नेपालीले जब गाडी छिट्टै बिग्रिन्छ अनि मात्रै लुब्रिकेन्ट्स नराम्रो रहेछ भनेर थाहा हुन्छ। नेपालमा कस्तो लुब्रिकेन्ट्स आउँछ, नेपालमा कस्तो उत्पादन हुन्छ भनेर जाँच गर्ने कुनै निकाय नै छैन। नेपाली बजार फस्टाउँदै गएकाले नराम्रो भन्न पनि मिलेन तर विश्वसनीयताको लागि नेपाली ब्राण्डले पनि स्ट्यान्डर्ड हुनुपर्छ।’

नेपालमा उत्पादित मात्रै होइन विदेशबाट आयात हुनै लुब्रिकेन्ट्स पनि कस्तो छ भन्ने कुनै चेकजाँच हुँदैन। नेपाली व्यवसायीहरु नै नेपाली बजारमा भारतको एकदम कम गुणस्तरका लुब्रिकेन्ट्स नेपाल आउने गरेको बताउँछन्। ‘हेर्दा उस्तै देखिन्छ तर गुणस्तर फरक हुन्छ’, यस व्यवसायमा संलग्नहरु भन्छन्।

एनल्युब र क्लासिक ल्युबका नेपाली लुब्रिकेन्ट्स उत्पादक भरत फुँयाल भारतबाट आउने कम गुणस्तरका उत्पादनले स्वदेशी उत्पादनलाई असर गरेको बताउँछन्। नेपालमा आउने लुब्रिकेन्टस् कम्तीमा ५ वटा देशमा निर्यात गरेका वस्तु मात्रै नेपाल ल्याउन पाउने मापदण्ड बनाउनुपर्ने उनी बताउँछन्। ‘भुटानले कम्तीमा ५ देश निर्यात गरेका वस्तु मात्रै आयात गर्ने गरेको छ। नेपालमा केही मापदण्ड छैन, बिल ल्याएर आए निर्यात गर्न सजिलै पाउँछ।’

२० वर्षअघि नेपाली ब्राण्ड कसैले पत्याउँदैनथे
भरत फुँयालले २० वर्षअघि लुब्रिकेन्ट्सको काम गर्दा बजारमा कसैले नेपाली ब्राण्डलाई पत्याउने थिएन। उनी बजारमा नेपाली लुब्रिकेन्ट्स भनेर बेच्न जाँदा नेपालमा पनि लुब्रिकेन्ट्स बन्छ र? भन्ने धेरै थिए। तर आज करिब ३० प्रतिशत बजार नेपाली लुब्रिकेन्टले ओगटेको छ।

नाडा अटो एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलालले अटोमोबाइल सेक्टरमा नेपालमा चलेको उद्योग भनेको लुब्रिकेन्ट्स मात्रै भएको बताउँछन्। सरकारले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने हो भने ७५ प्रतिशतसम्म बजार हिस्सा धान्ने बताउँछन्। उनले नयाँ उद्योग खोल्न प्रोत्साहनभन्दा पनि पुराना उद्योगलाई बचाउने नीति लिनुपर्ने बताए।

नेपाली उत्पादनको गुणस्तर
कन्ट्रोल लुब्रिकेन्ट्सका उत्पादक नवीन बस्नेतले नेपाली उत्पादन अन्तर्राष्ट्रिय गुणस्तरअनुसार उत्पादन भइरहेको बताउँछन्। नेपालमा कुनै मापदण्ड नभए पनि अन्तर्राष्ट्रिय फम्यार्ट एसआई र एपीआईअनुसार उत्पादन हुने गरेको बताए। ‘बजारमा जस्तो गुणस्तरको आवश्यक छ, त्यस्तै गुणस्तरको उत्पादन गर्न सक्षम छौं। हामीसँग पनि विभिन्न गुणस्तरका लुब्रिकेन्ट्स छन्, कम गुणस्तर र उच्च गुणस्तर दुवै उत्पादन गरिरहेका छौं’, उनले भने।

अर्का नेपाली लुब्रिकेन्ट्स उत्पादक भरत फुँयाल भने ‘कच्चा पदार्थ कहाँबाट आउँछ फर्मुलेसन त्यहीँबाट ल्याउँछौँ। हामीले भारतबाट क्यामिस्ट ल्याएर गुणस्तर मेनटेन गर्ने गरेका छौं। अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स र नेपाली लुब्रिकेन्ट्समा खासै अन्तर हुँदैन।’

उनले नेपालमा कुनै मापदण्ड नभए पनि अफ्नो ब्राण्डलाई जोगाउनको लागि गुणस्तरीय सामग्री उत्पादन गर्ने बताए। ‘आज हामीले कम गुणस्तरको उत्पादन गर्यौँ भने भोलि कम्पनी नै बन्द हुनसक्छ। हामीले गुणस्तरलाई एकदमै ध्यान दिएर काम गरिरहेका छौँ।’

मेड इन नेपाल कि प्याक इन नेपाल
हेवी इक्विप्मेन्ट महासंघका अध्यक्ष तथा आईटीआर र जेपी लुब्रिकेन्ट्सका विक्रेता तारा बहादुर कुँवरले नेपाली उत्पादन गुणस्तर युक्त नभएको दाबी गर्छन्। उनले बाहिरबाट ठूलो कन्टेनरमा लुब्रिकेन्ट्स ल्याउने सानोमा प्याक गरेर नेपालको उत्पादन भनेर बिक्री गर्ने गरेको आरोप लगाए। ‘सरकारलाई उद्योग भनेर कर छल्ने बाटो मात्रै हो। नेपालको कुनै पनि लुब्रिकेन्ट्स डेट एक्स्पायर हुँदैन। बाहिर डेट एक्सपायर हुन्छ। बाहिर डेट एक्सपायर भएको कुरा नेपालमा ल्याएर बेच्ने गरेका छन्।’

उनले आफुले हेभी इक्विपमेन्टमा प्रयोग गर्ने लुब्रिकेन्ट्स आयात गर्ने गरेको बताए। नेपाली लुब्रिकेन्ट्सले हेवी इक्विपमेन्टमा गुणस्तरीयता पुग्दैन भन्दै उनले मोटरसाइकलमा आईटीआर वा जेपीजस्ता गुणस्तरीय लुब्रिकेन्ट्स प्रयोग गरे करिब ५ हजार किलोमिटर चल्छ तर नेपालमा बनेका अधिकांश लुब्रिकेन्ट्स १२ सयदेखि १५ सय किमि मात्रै चल्ने दाबी गर्छन्। तर बजारमा मूल्य भने एउटै भएको बताए।

‘नेपाली ग्राहक कुन इन्जिन आयल प्रयोग गर्ने भन्ने विषयमा खासै जानकारी छैन। नेपाली काममा व्यस्त छौं। मेकानिक्सले जुन राम्रो भन्यो त्यही प्रयोग गर्ने गरेका छन्। मेकानिक्सले आफूलाई जुन फाइदा हुन्छ त्यही प्रयोग गर्छन्’, उनले भने।

तर उत्पादक भरत फुँयाल उनको कुरामा सहमत छैनन्। उनी भन्छन्, ‘प्याकिङ गर्ने भए किन प्लान्ट लगाउनुपर्छ र? कसैलाई विश्वास नलागे नेपाली उद्योगको अवलोकन गरे हुन्छ। नेपालमा ८ वटा लुब्रिकेन्ट्स उद्योग छन्, सबैले कच्चापदार्थ बाहिरबाट ल्याउने हुन्। उत्पादन आफैँ गर्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad