इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीका सैन्य सल्लाहकारले जनरल कासिम सुलेमानी हत्याको बदला ‘सैन्य ठेगानामै’ गरिने बताएका छन्।
‘निश्चय नै यसको प्रतिशोध सैन्य रुपले नै लिइन्छ र त्यो पनि सैन्य ठेगानामै,’ खामेनीका सैन्य सल्लाहकार हुसेन देगानले सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्।
पूर्वरक्षामन्त्री समेत रहेका देगान खामेनीका सबैभन्दा निकट मानिन्छन्।
‘एउटा कुरा प्रस्ट पारुँ। हाम्रो नेतृत्वले आधिकारिक रुपमै हामी युद्ध चाहँदैनौँ भनिसकेका छन्,’ उनले भने, ‘अमेरिकाले युद्ध सुरु गरेको छ। यो युद्धलाई अन्त्य गर्ने एक मात्र तरिका भनेको हामीलाई उनीहरुले जति दुख्नेगरी मुक्का हानेका छन्, अमेरिकीहरुले पनि उत्तिकै दुख्ने मुक्का सहनुपर्छ। तब मात्र हिसाब बराबर हुन्छ। त्यसपछि उनीहरुको अर्को चक्र सुरु गर्नु हुँदैन।’
सुलेमानीको हत्या गरेर अमेरिकाले ठूलो गल्ती गरेको इरानी राष्ट्रपति हसन रुहानीले बताएका छन्।
इरानले प्रतिशोध साँध्न खोजे ५२ वटा निसानामा आक्रमण गरिने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन्। एजेन्सी

प्रतिक्रिया