World Cup 2026


२८ वर्षपछिको विश्वकप भेटमा नर्वेविरुद्ध ऐतिहासिक जित खोज्दै ब्राजिल

२८ वर्षपछिको विश्वकप भेटमा नर्वेविरुद्ध ऐतिहासिक जित खोज्दै ब्राजिल

नेपालखबर
असार २१, २०८३ आइतबार १६:१८, काठमाडौँ

विश्वका दुई चर्चित खेलाडीहरु भिनिसियस जुनियर र एर्लिङ हाल्यान्ड आज राति ०१ः४५ बजे विश्वकपमा आमनेसामने हुँदै छन्। 

संयुक्त राज्य अमेरिकाको न्युजर्सीमा नर्वे र ब्राजिलबीच अन्तिम १६ को खेलमा भिड्दै गर्दा यी दुईले आफूलाई अब्बल प्रमाणित गर्न भरमग्दुर प्रयास गर्ने निश्चित छ। 

त्यसो त यी दुई टोलीबीचको विश्वकपमा रोमाञ्चक इतिहास छ। दुई टोलीले ४ वटा ऐतिहासिक खेल खेलेका छन्। जसमा नर्वेले २ वटा जित र २ बराबरीसहित अपराजित इतिहास बनाएको छ। त्यसकारण चारपटकको असफल प्रयासपछि ब्राजिल आइतबार नर्वेविरुद्ध पहिलो जितको खोजीमा हुनेछ। 

यी दुई टोलीले विश्वकपमा पछिल्लोपटक सन् १९९८ मा खेलेका थिए। जहाँ नर्वेले २–१ को ‘कमब्याक’ जित हात पारेको थियो। 

कार्लो एन्सेलोटीको टिम प्रतिभा र अनुभवले निखारिएको छ। अन्तिम ३२ को जापानविरुद्धको खेलमा ब्राजिलले साँघुरो जित हात पार्दै यो भिडन्त तय गरेको थियो। त्यसकारण यो प्रतियोगिताकै ‘डार्क हर्स’मध्येको नर्वेविरुद्ध जबर्जस्त प्रदर्शनको खाँचो छ। 

ब्राजिल जारी विश्वकपको समूह ‘सी’को शीर्ष टोली बन्दै अघि बढेको टोली हो। उसले स्कटल्यान्ड र हाइटीविरुद्ध जित तथा मोरक्कोसँग बराबरी खेलेको थियो। अन्तिम ३२ मा जापानविरुद्ध १ गोलले पछि परेको अवस्थाबाट २–१ को जित निकालेको थियो। 

यता नर्वे ग्रुप ‘आई’को दोस्रो शीर्ष टोलीका रुपमा अघि बढेको थियो। उसले इराक र सेनेगललाई हराए पनि फ्रान्ससँग सकेन। अन्तिम ३२ मा आईभरी कोस्टविरुद्ध २–१ को जितसँगै यहाँ आइपुगेको हो। जुन स्क्यानडिनाभियन राष्ट्रको पहिलो विश्वकप नकआउट जित थियो। 

हाल्यान्ड र भिनिसियससँग आश 
ब्राजिलसँग भिडिरहँदा नर्वेको आशाको केन्द्र हुनेछन् एर्लिङ हाल्यान्ड। क्लब होस् कि देशका लागि उनको प्रभावलाई नजरअन्दाज गर्न सकिँदैन। विश्वकपमा नर्वेले गरेका १० गोलमध्ये पाँचवटामा उनकै योगदान छ। जुन २५ वर्षीय उनको पहिलो विश्वकपमा उल्लेखनीय सफलता हो। 

नर्वेले सन् १९९८ को विश्वकपमा ब्राजिलविरुद्ध पाएको सफलतालाई प्रेरणा मान्दै यसमा पनि खुलेर खेल्न सक्छ। उसका लागि ब्राजिलका भिनिसियसले टाउको दुखाउन भने सक्नेछन्। भिनिसियसले प्रतियोगितामा ४ गोल गरिसकेका छन्। उनी सन् २००२ मा रोनाल्डो र रिवाल्डोपछि समूह चरणका तीनवटै खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। यो त्यही विश्वकप थियो जुन ब्राजिलले अन्तिम पटक जितेको थियो। 

आजको खेलमा ब्राजिल र नर्वे दुवैले ४–३–३ संरचनामा खेल्ने अपेक्षा छ। ब्राजिलको लाइन एलिसन, डानिलो, मार्किन्हो, ग्याब्रियल, सान्तोस, गुइमराइस, क्यासेमिरो, मार्टिनेटली, रायन, कुन्हा र भिनिसियससहितको हुन सक्नेछ भने नर्वेले निल्यान्ड, पिडरसन, अजेर, हेगेम, मोलर वल्फ, ओडिगार्ड बर्ग, बर्ग, सोर्लोठ, हाल्यान्ड र नुसालाई खेलाउन सक्नेछ। 

आजको खेलको विजेताले क्वार्टरफाइनलमा सोमबार बिहान हुने मेक्सिको र इंग्ल्यान्डबीचको खेल जित्ने टोलीको सामना गर्नेछ। यसअघि फ्रान्स र मोरक्कोले क्वार्टरफाइनलको भेट पक्का गरिसकेका छन्। फ्रान्सले पाराग्वेलाई १–० ले र मोरक्कोले क्यानडालाई ३–० गोलले हराएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad