World Cup 2026


रोमाञ्चक जित निकाल्दै विश्व च्याम्पियन अर्जेन्टिना सेमिफाइनलमा

रोमाञ्चक जित निकाल्दै विश्व च्याम्पियन अर्जेन्टिना सेमिफाइनलमा

नेपालखबर
असार २८, २०८३ आइतबार ९:४६, काठमाडौँ

अतिरिक्त समयमा स्वीटजरल्यान्डलाई पराजित गर्दै विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। 

कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेलमा स्वीटजरल्यान्डलाई ३–१ गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो। 

फाइनल प्रवेशका लागि अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नेछ। 

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटेरो मार्टिनेजले गोल गरे। स्वीटजरल्यान्डका डान डोयोले गरेको गोल शान्त्वना बन्यो। निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

पहिलो हाफको १० औँ मिनेटमा कप्तान लियोनल मेस्सीको कर्नरमा एलेक्सिले हेडर गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो। 
पहिलो हाफमा १–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा गोल खाँदा खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको ६७ औँ मिनेटमा डान डोयोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

खेलको ७२ औँ मिनेटमा ब्रिन एम्बोले रातो कार्ड खाँदै मैदान छाडेपछि स्वीटजरल्यान्ड १० खेलाडीमा समेटियो। यद्यपी टोलीले विश्व च्याम्पियनलाई कडा टक्कर दिदै दबाबमा राखेको थियो। 

खेलको ११२ औँ मिनेटमा अल्भारेजको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको थियो। अतिरिक्त समयको इन्ज्युरी टाइममा मार्टिनेजको गोलमा अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो। 

७२ वर्षपछि क्वार्टरफाइनलमा पुगेको स्वीटजरल्यान्ड भने अन्तिम ८ बाट नै बाहिरियो। आजै बिहान भएको क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेलाई २–१ ले हराउँदै सेमिफाइनल पुगेको थियो। 

विश्वकपको सेमिफाइनलमा अब फ्रान्स र स्पेन तथा इंग्ल्यान्ड र अर्जेन्टिना भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad