फिफा विश्वकप २०२६ गएराति भव्य उद्घाटनसहित सुरु भएको छ।
आयोजक तथा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले हराउँदै शानदार सुरुवात गरेको छ।
घरेलु मैदानमा उत्कृष्ट लयमा देखिएको मेक्सिकोले उद्घाटन खेलमा समर्थकलाई जितको उपहार दियो। खेलमा गोल गर्नेमध्ये एक थिए मेक्सिकोका स्ट्राइकर राउल जिमेनेज। पछिल्ला तीन विश्वकपमा जाली चुमाउन नसकेका उनले यसपालि पाएको मौका चुकाएनन्।
मेक्सिकोको स्टेडियममा जिमेनेजले ६७औँ मिनेटमा बललाई दक्षिण अफ्रिकाको पोस्टको जाली चुमाए। विश्वकपमा मेक्सिकोको यो दोस्रो गोल थियो। त्यसपछि मैदानमा उनले गरेको सेलिब्रेसन हेर्नलायक थियो– जिमेनेजले आकाशतिर हेरे। आँखाभरि आँशु भरिएको थियो।
यो भावनात्मक उत्सव थियो भने वास्तविकतामा धेरै गहिरो कुरा लुकेको थियो।
त्यो गोल केवल एक लक्ष्य मात्र थिएन, यो वर्षौँको त्याग, मिहिनेत र दृढताको एक क्षण थियो।
फुटबलमा फर्किन उनले पार गरेका सबै कठिनाइ र दुःखको सुखद परिणाम थियो। स्टेडियममा हजारौँ समर्थकले उनको गोलको खुसियाली मनाइरहेका थिए। लाखौँ समर्थकले टेलिभिजनमा हेरिरहेका थिए।

पीडादायी विगत
विश्वकप सुरु हुनुअघि गत मार्चमा उनले जीवनको पीडादायी क्षण बिताउनुपरेको थियो। बुवा राउल जिमेनेज भेगाको निधन भएको थियो।
खेलकुदको सुरुवाती दिनदेखि नै उनका बुबा उनको साथमा उभिएका थिए। फुटबलको सबैभन्दा ठूलो मञ्चमा गोल गरेको सपना यी बुबा र छोराले सँगै देखेका थिए। जिमेनेजले गोल त गरे तर साथमा उनका बुवा थिएनन्। त्यसैले उनले आकाशतिर औँल्याएको धेरैले बुझेका छन्– यो विश्वकपको गोल मात्र थिएन, यो एक श्रद्धाञ्जली पनि थियो।
उनको जीवनको अर्को कठिनतम क्षण थियो २०२०। यो वर्षको नोभेम्बर २९ मा वोल्भरह्याम्प्टन वान्डरर्स र आर्सनलबीचको प्रिमियर लिग खेलमा उनलाई मैदानै स्तब्ध पार्ने चोट लागेको थियो।
आर्सनलका डिफेन्डर डेभिड लुइससँग ठोक्किएपछि जिमेनेज मैदानमा नै बेहोस भएर ढलेका थिए।

त्यो सामान्य बेहोसी वा चोट थिएन। उनको खप्पर भाँचिएको थियो। उनको जीवन बचाउन आपत्कालीन शल्यक्रिया गर्नु अति आवश्यक थियो।
केही हप्तासम्म उनको जीवन अनिश्चितताको घेरामा थियो। त्यो समयमा उनी खेल्न सक्छन् कि सक्दैनन् भन्ने होइन, सामान्य जीवनमै फर्किन सक्छन्÷सक्दैनन् भन्ने थियो। डाक्टरहरुको लामो समयको हेरचाहपछि शारीरिक र भावनात्मक रुपमा उनलाई स्वास्थ्य लाभ भयो।
त्यसपछि जिमेनेज सामान्य जीवनबाट खेल जीवनमा फर्किन थाले। आत्मविश्वास फेरि फर्काउन थाले।
खेलको समयमा उनले सुरक्षाको लागि ‘हेडब्यान्ड’ लगाउन थाले। धेरैले उनलाई पहिलेकै अवस्थामा फर्किन सक्नेमा शंका गरे। तर उनले हार मानेनन्। मेक्सिकोको राष्ट्रिय टोलीका लागि मुख्य खेलाडी हुँदै युरोपको शीर्ष लिगमा फर्किन संघर्ष गरे।
३५ वर्षको उमेरमा उनले १ सय ५८ क्लब र मेक्सिकोका लागि ४७ गोल गरेका छन्। जिमेनेजले २०१४, २०१८ र २०२२ को विश्वकप खेलेका थिए। तर विश्वकपमा गोल गर्न सकेका थिएनन्। यसपालि उनको समय थियो, गोल गरे। त्यो पनि घरेलु मैदानमा, घरेलु समर्थकका सामुन्ने र देशलाई जिताउन सफल भए।

Shares

प्रतिक्रिया