World Cup 2026


विश्वकपमा आमनेसामने हुँदै चेक रिपब्लिक र दक्षिण अफ्रिका, दुवैलाई जित्नैपर्ने दबाब

विश्वकपमा आमनेसामने हुँदै चेक रिपब्लिक र दक्षिण अफ्रिका, दुवैलाई जित्नैपर्ने दबाब

नेपालखबर
असार ४, २०८३ बिहिबार १८:२६, काठमाडौँ

समूह ‘ए’को आफ्नो पहिलो खेलमा पराजय व्यहोरेका चेक रिपलब्लिक र दक्षिण अफ्रिका आज राति पौने १० बजे आमनेसामने हुँदै छन्।

बिहीबार राति एट्लान्टास्थित मर्सिडिज बेन्ज रंगशालामा भिड्दै गर्दा दुवै टोलीमाथि जित्नैपर्ने दबाब छ।

दक्षिण अफ्रिकालाई उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले २–० ले पराजित गरेको थियो। त्यसको सात घण्टापछि दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २–१ को पुनरागमन जित निकाल्यो।

यूईएफए छनोटको प्लेअफमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै चेक रिपब्लिकले २० वर्षपछि विश्वकपमा पुनरागमन जनाएको हो।

२००६ जर्मनी विश्वकपमा समूह चरणबाट बाहिरिएको चेक रिपब्लिक (चेकिया) स्वतन्त्र राष्ट्र भएयता दोस्रोपटक विश्व फुटबलको महाकुम्भमा सहभागिता जनाइरहेको छ।

यसपालि टोलीले जसरी पनि नकआउट चरण पुग्ने लक्ष्य बोकेको छ। पहिलो खेलमा टोलीले लक्ष्यअनुरुप सुरुआत गरेको थियो।

मिरोस्लाभ कौबेकको नेतृत्वमा रहेको टोलीले कप्तान लाडिस्लाभ क्रेज्कीको गोलमार्फत दक्षिण कोरियाविरुद्ध ५९औं मिनेटमा अग्रता लिएको थियो। तर, अन्त्यमा जित कोरियाको भयो। यसबीच मिडफिल्डर थोमस सौसेकको गोलले अफसाइडका कारण मान्यता पाउन सकेन।

हारसँगै चेक रिपब्लिकको अपराजित यात्रा सातौँ खेलमा आएर टुंगियो।

यो खेलअघि टोलीले निर्धारित ९० मिनेटमा चार खेल जितेको थियो। बाँकी दुई खेलमा चेकिया पेनाल्टी सुटआउटमा भाग्यशाली रह्यो। पछिल्ला चार खेलमा टोली क्लिनसिट राख्न असफल भएको थियो। कोरियाविरुद्ध पनि त्यही कथा दोहोरियो।

बिहीबार दक्षिण अफ्रिकालाई हराए चेकियाको आशा जीवितै रहनेछ। टोलीले बढीमा समूहको शीर्ष दुई स्थानका लागि आफ्नो दाबेदारी बनाइरहनेछ। कम्तिमा उत्कृष्ट ‘सेकेन्ड रनर्स–अप’को बाटो खुल्नेछ।

यी दुई अहिलेसम्म एकैपटक अन्तर्राष्ट्रिय मञ्चमा आमने–सामने भएका छन्। १९९७ फिफा कन्फेडेरेसन कपमा भएको खेल २–२ को बराबरीमा टुंगिएको थियो।

दक्षिण अफ्रिकाको यो चौथो विश्वकप हो। सन् २०१० मा प्रतियोगितालाई होस्ट गरेको टोली त्यसयता पहिलोपटक सहभागिता जनाइरहेको छ। १६ वर्षअघि पनि टोलीले उद्घाटन खेलमा मेक्सिकोसँग खेलेको थियो। त्यतिबेला टोलीले मेक्सिकोसँग १–१ को बराबरी खेलेको थियो।

यसपालीको कथा फरक रह्यो। तीन रातो कार्ड देखाइएको खेलमा दक्षिण अफ्रिका सह–आयोजकसामू निरीह बन्यो।

मिडफिल्डरद्वय स्फेफेलो सिथोले र थेम्बा ज्वाने रातो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भएका थिए। इन्जुरी समयमा मेक्सिन रक्षक सेजार मोन्टेसलाई पनि रातो कार्ड देखाइएको थियो।

मुख्य प्रशिक्षक ह्युगो ब्रुजका लागि चिन्ताको विषय यी खेलाडीको विकल्प खोज्नु होइन। जितविहीन यात्रालाई ब्रेक गर्नु हो। पाँच खेल भइसक्यो टोलीले जित्न नसकेको। टोली जब जब हारेको छ, सबैमा दुई गोल खाएको छ।

चेक रिपब्लिकविरुद्ध दक्षिण अफ्रिकालाई एउटै कुराले ‘मोटिभेट’ गरेको छ। त्यो हो विश्वकपमा दक्षिण अफ्रिकाले युरोपियन टोलीसँग भएको पछिल्लो भेटमा जित निकालेको छ। २०२० मा टोलीले फ्रान्सलाई २–१ ले हराएको थियो।

समूह ‘ए’को अर्को खेलमा शुक्रबार बिहान मेक्सिको र दक्षिण कोरियाले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार ६ः४५ बजे हुनेछ। दुबै नकआउट चरण पुग्ने पहिलो टोली बन्ने दाउमा हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad