अमेरिकाकी उपविदेशमन्त्री सारा बी रोजर्स काठमाडौँ आइपुगेकी छन्।
अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्।
वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्।
साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्।

रोजर्सले मे २७ देखि जुन १० सम्म भारत, नेपाल, उज्बेकिस्तान र तुर्कमेनिस्तानको यात्रा गर्दैछिन्।
शाहको नेतृत्वमा सरकार गठन भएयता अमेरिकी उच्चस्तरीय अधिकारीहरूले नेपाल भ्रमण गरिरहेका छन्।
यसअघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दक्षिण तथा मध्यएसिया विशेषदूत सर्जियो गोर नेपाल भ्रमणमा आएका थिए।
अमेरिकी उपविदेशीमन्त्रीको पदभार ग्रहणपछि रोजर्स पहिलोपटक मध्य एसियाको भ्रमणमा निस्केकी हुन्।
रोजर्स काठमाडौँस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले सगरमाथा आरोहण गरेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। हार्करले जेठ ६ गते सगरमाथाको आरोहण गरेका थिए।
यसै अवसरमा अमेरिकी दूतावासले रोजर्सको सम्मानमा आइतबार ‘द एसेन्ट समिट’ नाम दिएर विशेष समारोह आयोजना गरेको छ। यस समिटमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।
उनले नेपाल भ्रमणका क्रममा राजनीति दलका नेता, मन्त्री तथा कूटनीतिज्ञलाई भेट्ने जनाइएको छ।
यसअघि नेपालमा भ्रमणका आएका अमेरिकी सहायक विदेशमन्त्री कपुरले पनि रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए। त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया विशेषदूत गोरले पनि परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्लेसँग भेटवार्ता गरेका थिए।
उनीहरूले प्रधानमन्त्री शाहसँग भने भेट गरेनन्।
रोजर्सले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने वा नगर्ने भन्ने केही खुलाइएको छैन।
Shares

प्रतिक्रिया