घुमघाम


कोसी पर्यटन वर्षको प्रवर्द्धन काठमाडौँबाट प्रारम्भ

कोसी पर्यटन वर्षको प्रवर्द्धन काठमाडौँबाट प्रारम्भ

नेपालखबर
पुस ३, २०८२ बिहिबार १३:२, काठमाडौँ

कोसी प्रदेशको पर्यटन प्रवर्द्धनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा स्थापित गर्ने लक्ष्यसहित ‘कोशी पर्यटन वर्ष २०८२’ को अभियान काठमाडौँबाट अघि बढाइएको छ। 

संघीय सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी तथा चलचित्रकर्मीसँग सहकार्य विस्तार गर्दै कोसी प्रदेश सरकारले राजधानीमै व्यापक छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो। कोसीको पर्यटन प्रवर्द्धनका लागि कोसी पर्यटन वर्ष २०८२ को सचिवालय र नेपाल पर्यटन बोर्डबीच औपचारिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

समझदारीअनुसार, कोसी प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन, भारतलगायत अन्तर्राष्ट्रिय बजार लक्षित प्रचार तथा संयुक्त कार्यक्रम सञ्चालन गरिने भनिएको छ। नेपाल पर्यटन बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको उपस्थितिमा बोर्डका कार्यकारी निर्देशक दीपक जोशी र मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। बोर्डको टोली १५ दिनभित्र कोशी प्रदेश पुगेर थप सहकार्यका कार्यक्रम कार्यान्वयनमा लैजाने सहमति भएको छ।

त्यस्तै काठमाडौँमा पर्यटन व्यवसायीसँग ‘व्यवसायीसँगको सहकार्य’ विषयमा अन्तरक्रिया गरिएको छ। कार्यक्रममा सहभागी व्यवसायीले कोसी प्रदेशले थालेको पर्यटन अभियानको स्वागत गर्दै सरकार–निजी क्षेत्रको सहकार्यबाट पर्यटकीय गतिविधि अघि बढाउनुपर्नेमा जोड दिएका छन्। 

मन्त्री मण्डलले कोसी प्रदेशलाई राजनीतिक, सामाजिक र आर्थिक हिसाबले पर्यटनमैत्री बनाउन सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे। त्यस्तै, कोसीको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सापकोटाले कानूनी जटिलता हटाएर पर्यटनमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। 

काठमाडौँ केन्द्रित कार्यक्रमअन्तर्गत मंगलबार चलचित्रकर्मीसँग पनि कोसी पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया गरिएको थियो। चलचित्रकर्मीले कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउँदै फिल्म सुटिङमैत्री नीति र पूर्वाधार सुधारको आवश्यकता औंल्याए।

चलचित्र निर्देशक मिलन चाम्सले कोसी प्रदेश फिल्म सुटिङका लागि सम्भावनायुक्त रहेको बताउँदै विमानस्थलदेखि सेवा सुविधामा सुधार गर्न सुझाव दिए। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्ममार्फत पर्यटन गन्तव्यको दीर्घकालीन ब्रान्डिङ गर्न सकिने बताए।

पर्यटन वर्षका लागि १० करोड बजेट विनियोजन भइसकेको र अब द्रुत गतिमा कार्यक्रम अघि बढाइने निर्देशक समितिका सहसंयोजक भविश श्रेष्ठले जानकारी दिए।

काठमाडौँ भ्रमणका क्रममा प्रदेशका मन्त्री, सचिव तथा सचिवालयका पदाधिकारीले संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वसँग भेट गरी प्रदेशस्तरमा भइरहेको पर्यटन अभियानबारे जानकारी गराउँदै थप सहयोगको आग्रह गरेका छन्।

सचिवालयले आन्तरिक तथा बाह्य पर्यटक कोसी भित्र्याउन सुरक्षा, सेवा सुविधा र आतिथ्य व्यवस्थालाई व्यवस्थित गर्दै चाँडै २४ घण्टे पर्यटन हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad