आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० मतदाता थपिएका छन्।
जेनजी आन्दोलनपछि संसद विघटन भएर निर्वाचन घोषणा भएपछि सुदूरपश्चिमका ९ जिल्लाबाट ४६ हजार २० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
प्रदेश निर्वाचन कार्यालयका अनुसार अनलाइनबाट २९ हजार ४३९ र निर्वाचन कार्यालयमै उपस्थित भएर १६ हजार ५८१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
मतदाता नामावलीमा नाम दर्ता गराउने यीमध्ये अधिकांश युवाहरू उमेर समूहका छन्।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार कैलाली र कञ्चनपुरमा अन्य जिल्लाको तुलनामा बढी मतदाता थपिएका छन्।
कैलालीमा सबैभन्दा बढी १८ हजार २१३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। २०८१ चैत्र मसान्तसम्म कैलालीमा १८ वर्ष उमेर पुगेका मतदाताहरुको संख्या ५ लाख ३५ हजार ३४४ छ।
कञ्चनपुरमा १२ हजार २९१ जना मतदाता थपिएका छन्। चैत्र मसान्तसम्म कञ्चनपुरमा मतदाताको संख्या ३ लाख ३ हजार ४५७ छ।
बैतडीमा २ हजार ६५२, दार्चुलामा २ हजार ६२८ नयाँ मतदाता थपिएका छन्। यस्तै, डडेल्धुरामा १ हजार ९२, बझाङमा २ हजार ३४५, अछाममा २ हजार ६०४, डोटीमा १ हजार ८७ र बाजुरामा १ हजार ५१७ नयाँ मतदाता थपिएका छन्।
यो सँगै सुदूरपश्चिम कुल मतदाता संख्या १७ लाख २० हजार ६४३ पुगेको छ। चैत्र मसान्तसम्म सुदूरपश्चिमा १८ वर्ष पुगेका मतदाताको संख्या १६ लाख ७४ हजार ६२३ रहेको थियो।
मतदाता नामावली संकलन भएसंगै निर्वाचन कार्यालयहरुले निर्वाचनको तयारी पनि अघि बढाएका छन्। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार अहिले मतदान केन्द्रको अनुगमनको गर्ने काम चलिरहेको छ।
सँगै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन भइरहेको उनले बताए।
Shares

प्रतिक्रिया