राजनीति


२०४६ सालयताका उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौँ : प्रचण्ड

२०४६ सालयताका उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौँ : प्रचण्ड

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १५:३१, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ सालयता उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। 

भ्रष्टाचारविरुद्ध २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले सबैको सम्पत्ति  छानबिन गर्नुपर्ने कुरा दोहोर्‍याएका हुन्। ‘हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबिनको माग मैले संसद्को रोस्टमबाटै समेत गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्‍याउँछु,’ प्रचण्डले भनेका छन्। 

यसका लागि आफू सरकारको नेतृत्वमा रहँदा प्रयास गरेको उनको भनाइ थियो। प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालेको उनले स्मरण गराए।
भ्रष्टाचारविरुद्ध लागेकाले नै आफ्नो नेतृत्वको सरकार ढाल्ने षडयन्त्र भएको उनले आरोप लगाएका छन्।

‘म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौं। सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, विचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ,’ प्रचण्डले भने, ‘तर पनि त्यो अवधिमा सुशासनका कैयौं मानकहरू स्थापित भए। विना कुनै राजनीतिक आग्रह-पूर्वाग्रह, भूटानी शरणार्थी प्रकरण लगायत ठूला ठूला भ्रष्टाचार काण्डहरूको छानबिन अघि बढाइयो।’

उनले भ्रष्टाचारविरुद्धको लडाइँलाई अभियानकै रुपमा लग्नुपर्ने उनको भनाइ छ। ‘भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन, यो निरन्तरको सङ्घर्ष हो। यसका लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य छ,’ उनले भनेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad