रुख कटानको काम सकिएसँगै दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया सुरु भएको छ। सुक्खा बन्दरगाह निर्माणको ठेक्का पाएको भारतीय कम्ट कन्सट्रक्सनलाई इन्टरमोडल यातायात विकास समितिले साइट हस्तान्तरण गरेको छ।
दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशंकर सामुदायिक वनमा तोकिएको सुक्खा बन्दगाहको निर्माणस्थलमा निर्माण कम्पन्नीले भौतिक संरचना निर्माण पूर्वको काम थालेको छ।
रुख कटान गरेर खुला गरिएको सुक्खा बन्दरगाह निर्माणस्थल सीमाकंन गर्ने काम सकिएको छ। जमिन घेरबार गर्न सुरु गरिएको छ।
मलरिया नालामा अस्थायी पुल निर्माण गरेर निर्माणस्थलसम्म उपकरण लैजान बाटो खोलिएको छ।

अहिले रुखका मुढा उखेल्ने र झाडी फडानको काम भारतीय निर्माण कम्पनीले गरिरहेको छ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाह निर्माणका लागि ठेक्का पाएको कम्ट कन्सट्रक्सनलाई क्षेत्र हस्तान्तरण गरेसंगै निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको बताए।
‘औपचारिक रुपमा निर्माणको काम दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गरेपछि मात्रै सुरु हुनेछ,’ उनले भने, ‘अहिले साइट खाली गर्नेदेखि मुढाहरु निकाल्ने र कम्पनीको कार्यालय निर्माण लगायतको काम हुनेछ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको क्रममा सुक्खा बन्दरगाहको विधिवत् शिलान्यास हुने सम्भावना छ। त्यसपछि धमाधम निर्माणको काम सुरु गरेर तीन वर्षभित्र सुक्खा बन्दरगाह निर्माण गरिसकिने छ।

भारतसँगै सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका १ मा पर्ने गौरीशंकर सामुदायिक वनमा रहेका १ हजार ५ सय ९३ रुख काटेर नेपाली पक्षले काम सुरु गर्न भारतीय पक्षलाई क्षेत्र दिएको हो।
सुक्खा बन्दरगाह निर्माणको चर्चा सुरु भएको झन्डै दुई दशक पुग्न लाग्दा अब भने यहाँका स्थानीयमा निर्माण हुने आशा पलाएको छ। ढिलै भए पनि सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढ्ने भएपछि स्थानीय खुसी छन्।
सुक्खा बन्दरगाह निर्माणपछि यहाँको नाकाबाट भारतसँगको व्यापार व्यवसाय बढ्ने अपेक्षा छ। सुक्खा बन्दरगाहकै लागि नेपाल र भारत दुवैतर्फ पहुँचमार्गदेखि अन्य पूर्वाधार निर्माणाधीन अवस्थामा छन्।

नेपालतर्फ पूर्वाधारका रूपमा महाकाली नदीमा ४ लेनको पक्की पुलसँगै पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी नगरपालिका–१ मलेरिया नालासम्म ८ किलोमिटर ६ लेनको पहुँचमार्ग निर्माण भइसकेको छ।
भारततर्फ राष्ट्रिय राजमार्गको चक्करपुर क्षेत्रबाट पहुँच मार्ग निर्माणको काम अन्तिम चरणमा छ। भारत सरकारको पूर्ण लगानीमा सुक्खा बन्दरगाह निर्माण हुन लागेको हो।
सुक्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका १ मा रहेको गौरीशंकर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर क्षेत्र खाली गरिएको छ। सुक्खा बन्दरगाहका लागि चर्चेको उक्त जमिनमध्ये अहिले २५ दशमलव ३ हेक्टरमा मात्रै संरचना निर्माण गरिने छन्।

बन्दरगाहको डीपीआरअनुसार प्रशासनिक भवन, गोदाम, भन्सार, सुरक्षा, क्वारेन्टिन घर र लोड अनलोड सेडलगायत निर्माण गरिनेछ।
वर्षौदेखि बन्दरगाहको सपना बोकेका दोधारा चाँदनीसहित सुदूरपश्चिमका स्थानीय बासिन्दामा आशा जागेको छ।
‘बन्दरगाह बन्ने भनेर सुनेको वर्षौं भइसक्यो। भारततिर काम भइरहेको थियो। हाम्रोतिर थिएन। अब सुरु भयो,’ दोधारा चाँदनीका स्थानीय हरी भट्ट भन्छन्, ‘अब त बन्दरगाह निर्माण हुन्छ कि भन्ने आशा जागेको छ।’
सुक्खा बन्दरगाह व्यापारिक पूर्वाधार भएकोले सुदूरपश्चिमसहित समग्र देशकै समृद्धिमा टेवा पुग्ने इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन्।

‘सुक्खा बन्दरगाहबाट मालसामान आयात मात्रै हुने होइन, यो व्यापारिक पूर्वाधार हो, यहाँबाट पनि युरोप, अमेरिकातिर निर्यात गर्न सकिन्छ,’ गजुरेलले भने, ‘अब हामीले पनि निर्यातका लागि उद्योगहरु स्थापना गर्नुपर्छ।’
सुक्खा बन्दरगाह निर्माणका लागि कम्ट कन्सट्रक्सनले २ अर्ब ४० करोड भारुमा ठेक्का पाएको छ। तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको कन्सट्रक्सनका प्रबन्ध निर्देशक सुनिल शर्माले बताए ।






Shares

प्रतिक्रिया