प्रमुख प्रतिपक्ष दलको मिलोमतोमा सभाध्यक्ष शिवराज भट्ट सम्पर्कविहीन बनेको नेकपा एमालेले आरोप लगाएको छ।
नेकपा एमालेका प्रदेश कमिटी सचिवसमेत रहेका प्रदेश सभा सदस्य धर्मराज पाठकले नेपाली कांग्रेससँगको मिलेमतोमा सभाध्यक्ष अनिश्चितकालका लागि संसद बन्द गरेर गायब भएको टिप्पणी गरेका हुन्।
अल्पमतका रहेको कांग्रेससँगको मिलेमतोमा सभाध्यक्ष गायब भएर संवैधानिक संकट सिर्जना गर्न खोजिएको उनको आरोप छ।
‘अहिलेसम्म सभाध्यक्ष सम्पर्कमा आउनुभएको छैन, मुख्य दलहरुसँग परामर्श नै नगरी अनिश्चितकालका लागि सदन बन्द गर्नुभएको छ,’ उनले नेपालखबरसँग कुराकानी गर्दै भने, ‘कांग्रेससँगको मिलमतोमा संवैधानिक संकट खडा गर्न खोजिएको छ।’
सभाध्यक्षको यो कदमले संवैधानिक व्यवस्थामै प्रश्न उठ्ने खतरा बढेको उनले बताए। शुक्रबार सभामुख चयनका लागि प्रदेश सभा बैठक बस्ने तयारी थियो।
तर कांग्रेसका प्रदेश सभा सदस्यसमेत रहेका सभाध्यक्ष शिवराज भट्ट गाडी र सुरक्षाकर्मी प्रदेश सभामै छोडेर गायब भएका छन्। जसले सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र त्यसपछि सभामुखले उपसभामुखको निर्वाचन गर्नु पर्ने पर्ने संवैधानिक व्यवस्था रहेको छ। सोही अनुसार माघ २ गतेसम्म सभामुख र उपसभामुख चयन गरिसक्नुपर्छ।
अहिले सत्तारुढ चार दल २९ जना सांसदको हस्ताक्षर गरेर तत्काल बैठक सुचारु गर्न मागसहित पहल गरिरहेका छन्।
प्रदेश सभाको ज्येष्ठ सदस्य मानबहादुर रावल सभामुखको उम्मेदवार रहेकाले भट्टले सभाध्यक्षता गरिरहेका थिए।
सभामुख चयनका लागि बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। सर्वदलीय बैठकमा दिउँसो ४ बजे बैठक बस्ने सहमति भएको थियो। तर सभाध्यक्ष भट्ट भने सम्पर्क बाहिर रहेका हुन्।
यसअघि बिहीबार सभामुखको मतविभाजनमा कांग्रेसका मानबहादुर रावल र माओवादीका भीमबहादुर भण्डारी दुवैले बहुमत जुटाउन सकेका थिएनन्।
सभामुखको मत विभाजनमा भण्डारीको पक्षमा २६ र विपक्षमा २३ मत आएको थियो। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछन्।
प्रदेश सभामा कांग्रेसका १९, माअोवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र सांसद १/१ छन्।
पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रो पटक भएको मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए।
दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन्। कांग्रेसका रावलले दुवै पटक २३ मत पाएका थिए।
गाडी र सुरक्षागार्ड छाडेर सभाध्यक्ष भट्ट गायब, अन्योलमा सुदूरपश्चिम प्रदेश सभा बैठक
प्रतिक्रिया