ओडिशामा दुई दिनदेखि बेपत्ता महिला क्रिकेटर मृत भेटिएकी छन्।
बीबीसी हिन्दीका अनुसार राजश्री स्वेन नामकी क्रिकेटरको शव शंकास्पद अवस्थामा फेला परेको हो। उनी गत बुधबारदेखि कटक सहरस्थित एक होटलबाट बेपत्ता भएकी थिइन्।
आज बिहान २६ वर्षीया राजश्रीका स्कुटी र हेलमेट कटक जिल्लाको गुर्डी झटिया जंगलमा भेटिएपछि प्रहरीले खोज्दै जाँदा रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला पारेको हो।
पुडुचेरीमा हुने तीन खेलको शृंखलाका लागि सिनियर महिला टोलीमा नछानिएपछि राजश्री ठूलो तनावमा रहेको बताइएको छ। कटकमा चलिरहेको २५ खेलाडीको छनोट शिविरमा उनी सहभागी भएकी थिइन्।
तर मंगलबार खेलाडीको सूची सार्वजनिक गर्दा उनको नाम भने थिएन।
भोलिपल्ट अर्थात बुधवार उनी आफ्नो कोच पुष्पाञ्जली बनर्जीसँग आफू आफ्नो बुबालाई भेट्न पुरी गाउँ जान लागेको बताएकी थिइन्।
तर उनी आफ्नो गाउँको सट्टा गुर्दी झटियाको जंगलमा कसरी पुगिन् भन्ने खुल्न सकेको छैन ।
यसअघि टोलीमा छनोट नहुँदा निराश भएर राजश्रीले आत्महत्या गरेको अनुमान गरिए पनि टाउको र मुखमा चोट देखिएपछि आशंका उत्पन्न भएको छ।
राजश्रीका बुबा गुणनिधिले भने छोरीको हत्या गरी शवलाई रुखमा झुन्ड्याएर आत्महत्या जस्तो देखाउने प्रयास गरिएको आरोप लगाएका छन्।
उनले आफ्नी छोरीको हत्या हुनुमा ओडिशा क्रिकेट संघ (ओसीए) जिम्मेबार ठहर्याएका छन्। राजश्रीकी कान्छी बहिनी जयश्रीले पनि दिदीको मृत्युमा ओसीए र प्रशिक्षक पुष्पाञ्जली बनर्जीलाई दोष दिएकी छन्।
प्रतिक्रिया