सुदूरपश्चिम प्रदेश सभाका सभाध्यक्ष शिवराज भट्ट सम्पर्कविहीन भएका छन्।
सर्वदलीय बैठकमा शुक्रबार दिउँसो प्रदेश सभा बैठक राख्ने सहमति भए पनि सभाध्यक्ष नहुँदा बैठक सुरु हुन सकेको छैन।
‘सभाध्यक्ष गाडी र पीएसो प्रदेश सभामै छोड्नुभएको छ, उहाँ कहाँ जानु भयो? थाहा छैन,’ एक प्रदेश सभा सांसदले भने, ‘फोन पनि स्विच अफ गर्नुभएको छ, सम्पर्कविहिन हुनुहुन्छ ।’
शुक्रबार सभामुख चयनप्रक्रिया अगाडि बढाउने तयारी छ। तर, सभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसद शिवराज भट्ट सम्पर्कविहीन भएका हुन्।
प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावल सभामुखको उम्मेदवार रहेकाले भट्टले सभाध्यक्षता गरिरहेका छन्।
सभामुख चयनका लागि बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।
सर्वदलीय बैठकमा शुक्रबार दिउँसो ४ बजे बस्ने सहमति भएको थियो। यसअघि बिहीबार सभामुखको मतविभाजनमा कांग्रेसका मानबहादुर रावल र माओवादीका भीमबहादुर भण्डारी दुवैले बहुमत जुटाउन सकेका थिएनन्।
सभामुखको मत विभाजनमा भण्डारीको पक्षमा २६ र विपक्षमा २३ मत आएको थियो। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछन्।
प्रदेश सभामा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र सांसद १/१ छन्।
पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रो पटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए।
दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले दुवै पटक २३ मत पाएका थिए।
सुरुको दिनमा भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि के गर्ने भन्नेबारे प्रदेश सभा नियमावलीमा स्पष्ट नभएका कारण बैठक स्थगित भएको हो।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । यो समय माघ २ गते पूरा हुन्छ।
माघ २ गतेसम्म सभामुख र उपसभामुख चयन गरिसक्नु पर्छ। यता पहिलो चरणमा कसैले बहुमत नपुर्याउँदा के गर्ने भन्ने बारे अनिश्चित हुँदा माघ २ भित्रै सभामुख र उपसभामुख चयन गर्न समेत सकस पर्ने देखिएको छ।
प्रतिक्रिया