खेल


इन्द्रेणी पोखरीले जित्यो खोटेहाङ फुटबल प्रतियोगिताको उपाधि

इन्द्रेणी पोखरीले जित्यो खोटेहाङ फुटबल प्रतियोगिताको उपाधि

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार ५:४८, खोटाङ

दोस्रो संस्करणको ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि कात्तिके फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीले जितेको छ। 

खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित टुँडिखेल मैदानमा आज सम्पन्न फाइनल खेलमा मेर्ला फुटबल क्लब इन्द्रेणी पोखरीलाई ५–० गोलअन्तरले पराजित गर्दै कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले प्रथम उपाधि जितेको हो।

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले रु एक लाख नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता मेर्ला फुटबल क्लबले नगद रु ५० हजार तथा सेमिफाइनलिस्ट दुईवटा टिम पारूहाङ फुटबल क्लब इन्द्रेणी पोखरी र कट्टा फुटबल क्लब सावाकटहरेले नगद रु २५–२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

खोटेहाङ खेलकुद विकास समिति खोटहाङ गाउँपालिकाले सञ्चालन गरेको दोस्रो संस्करणको प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीका सौजन राई घोषित हुनुभएको छ। 

गाउँपालिकाभित्रका १९ टिम (समूह) को सहभागिता रहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएका सौजनलाई नगद रु तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्तामा कात्तिके फुटबल क्लबका शुभराजहाङ राई, उत्कृष्ट गोलरक्षकमा कात्तिके फुटकल क्लबका शुभराज राई, उत्कृष्ट डिफेन्डरमा मेर्ला फुटबल क्लबका महेश राई (खोटेहाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत) , उत्कृष्ट प्रशिक्षकमा कात्तिके फुटबल क्लबका सजन राई र अनुशासित टिममा पारूहाङ फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरी घोषित भएका छन्। 

अनुशासित टिमलाई रु १० हजार तथा विधागत पुरस्कार विजेता खेलाडीलाई नगद रु दुई–दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको वडा नं ३ सावाकटहरेका वडाध्यक्ष जेफर राईले जानकारी दिए।

वैशाख २२ गतेदेखि सुरू भएको ‘खोटेहाङ फुटबल कप–२०८२’ अन्तर्गत प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई  र उपप्रमुख रूपेश राईले पुरस्कार वितरण गरे। गत वर्षदेखि सुरू गरिएको ‘खोटेहाङ फुटबल कप’को प्रथम संस्करण मेर्ला फुटबल क्लब इन्द्रेणी पोखरीले जितेको थियो।

फुटबल खेलको विकास गर्दै गाउँपालिकामै व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको ‘खोटेहाङ फुटबल कप’ अन्तर्गतको प्रतियोगितामा सम्बन्धित वडाका खेलाडीले मात्र सहभागी हुन पाउने व्यवस्था मिलाइएको खेलकुद विकास समितिले जनाएको छ। 

गाउँपालिकाले प्रत्येक वर्ष सञ्चालन हुने ‘खोटेहाङ फुटबल कप’ स्थापना गरेपछि खेलाडीहरू उत्साहित भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad