भारतीय राज्य हरियाणाकी टेनिस खेलाडी राधिका यादवको हत्या प्रकरणमा नयाँ कुरा सार्वजनिक भएको छ।
गुरुग्रामकी २५ वर्षीया यादव मारिनुको कारण इन्स्टाग्राम रिल भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
राधिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा ४२ सेकेन्डको रिल सेयर गरेकी थिइन्, जसमा उनी सहअभिनेता इनामुल हकसँग देखिएकी थिइन्।
यो रिल देखेपछि परिचितहरूले आपत्ति जनाए। त्यसपछि राधिकाका बुबा दीपक यादवले उनको हत्या गरेको आरोप छ।
गुरुग्राम प्रहरीका अनुसार, उनका बुबा पछिल्लो १५ दिनदेखि मानसिक तनावमा थिए। उनले गाउँमा निस्किँदा मानिसहरूले छोरीको रिलबारे कुरा गरेर गिल्ला गरेको बताएका छन्।
यही तनावका कारण रिस उठेर छोरीलाई गत बिहीबार दिउँसो गोली हाने। गोली लागेर गम्भीर घाइते भएकी राधिकालाई अस्पताल त लगियो, तर उपचारका क्रममा उनको मृत्यु भयो।
सुरुमा परिवारले प्रहरीलाई भ्रममा पार्ने प्रयास गर्यो र भन्यो- राधिकाले आफैँले आफूलाई गोली हानेकी हुन्।
तर प्रहरीले कडाइका साथ सोधपुछ गरेपछि उनका बुबाले अपराध स्वीकार गरे।
प्रहरीले आरोपितलाई पक्राउ गरिसकेको छ र हत्यामा प्रयोग गरिएको रिभल्भर पनि बरामद गरेको छ।
शुक्रबार राधिका यादवको शवको पोस्टमार्टम गरिएको छ। डाक्टरहरूले उनको शरीरबाट चारवटा गोली निकालेका छन्।
रिलमा के थियो?
राधिकाले ‘कारवाँ’ म्युजिक भिडिओमा मुख्य अभिनेत्रीका रूपमा काम गरेकी थिइन्।
यो गीत २ मिनेट ५५ सेकेन्डको छ। यसको प्रचारका लागि बनाइएको रिलमा राधिकाले सहअभिनेता इनामुलको काँधमा टाउको राखेर उनको हात समातेकी छन्।
दैनिक भास्करको रिपोर्टअनुसार, केही मानिसलाई यो दृश्य मन परेन। राधिकाको परिवार, विशेष गरी बुबा दीपक यादवका अगाडि परिचितहरूले आपत्ति जनाए।
सुशान्त लोक फेज-२ का रेसिडेन्ट वेलफेयर एसोसिएसनका अध्यक्ष पवन यादवले रिलका कारण परिवारमा तनाव बढेको बताए।
राज्यस्तरीय टेनिस खेलाडी राधिका २ वर्षअघि चोट लागेका कारण खेल्न असमर्थ थिइन्। त्यसैले उनी कला क्षेत्रतिर लागेकी थिइन्।

छोरी हत्या आरोपमा पक्राउ परेक दीपक यादवलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ।
Shares

प्रतिक्रिया