ad ad

खेल


विश्वकप छनोटः अष्ट्रेलियासँग नेपालको फराकिलो हार

विश्वकप छनोटः अष्ट्रेलियासँग नेपालको फराकिलो हार

नेपालखबर
असोज २३, २०७६ बिहिबार १०:५४,

कतार विश्वकप छनोट २०२२ अन्तर्गत बिहीबार सम्पन्न अवे खेलमा नेपाल अष्ट्रेलियासँग ५–० को फराकिलो अन्तरले पराजित भएको छ।

जेमी मकलरेनको ह्याट्रिक तथा डेब्यू खेलाडी ह्यारी साउटरको दुई गोल मद्दतमा अष्ट्रेलियाले नेपालमाथि ५-० को जित हात पारेको हो।

खेलको छैटौं मिनेटमा नै जेमी मकलरेनले अस्ट्रेलियालाई सुरुवाति अग्रता दिलाएका थिए। फ्रिकिकबाट पाएको पासमा उनले डी बक्सबाहिरबाट गोल गरेका थिए।

यस्तै खेलको १९ औं मिनेटमा मकलरेनले नै अस्ट्रेलियाका लागि दोस्रो गोल गरे। उनले हेडर गोल गरे। त्यसको चार मिनेट नबित्दै ह्यारी साउटरले तेस्रो गोल गरे। अस्ट्रेलियाका लागि उनको यो डेब्यू गोल समेत थियो।

दोस्रो हाफमा अष्ट्रेलियाले दुई गोल थप्यो। ५९औं मिनेटमा ह्यारीले नै व्यक्तिगत दोस्रो गोल गरे। आरोन मोनीको पासमा गोल गर्दै उनले अष्ट्रेलियालाई ४–० ले अघि बढाए।

अन्तिम मिनेटमा जेमी मेकलरेनले ह्याट्रिक पूरा गर्दै अष्ट्रेलियालाई ५–० को जित दिलाए। जारी विश्वकप छनोटमा नेपालको यो दोस्रो ठूलो हार हो। यसअघि पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोलअन्तरले पराजित भएको थियो।

फिफा विश्व वरियतामा अष्ट्रेलिया ४४ स्थानमा रहेको टोली हो भने नेपाल १६१ स्थानमा रहेको छ।

नेपाल र अस्ट्रेलियाको खेल हेर्न मैदानमा १८ हजार ५६३ जना खेल दर्शकहरु उपस्थित थिए। हजारौंको संख्यामा नेपालीहरु पनि रहेका थिए।

विश्वकप छनोटमा नेपालको तालिका

फिफा वरियताका आधारमा नेपाल सोझै फिफा विश्वकप २०२२ अन्तर्गतको एसिया छनोट दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणमा विभिन्न ८ समूहमा बाडिएका ४० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। समूहका शीर्ष टोली र उत्कृष्ट चार उपविजेता टोली अन्तिम चरणमा पुग्नेछन्।

नेपाल समूह बीमा छ। नेपालको समूहमा कुवेत, अष्ट्रेलिया र जोर्डन छन्। सबै टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल भदौ १९ गते कुवेतविरुद्ध उसैको भुमीमा खेलेको थियो। उक्त खेलमा नेपाल ७-० ले पराजित भयो। 

त्यस्तै नेपालले दोस्रो अवे खेल भदौ २४ गते चाइनिज चाइपेइ उसैको मैदानमा खेल्यो। उक्त खेलमा भने नेपाल २-० ले विजयी भएको थियो। नेपालका लागि दुवै गोल अन्जन विष्टले गरेका थिए। नेपालले अब अन्तिम अवे खेल असोज २८ गते जोर्डनविरुद्ध उसैको भुमीमा खेल्नेछ।

नेपालले होम खेलहरुमा मंसिर ३ गते कुवेत, चैत्र १३ गते चाइनिज ताइपेइ, चैत्र २८ गते अष्ट्रेलिया र २०७७ जेठ २२ गते जोर्डनविरुद्ध दशरथ रंगशालामा खेल्दैछ।

कसरी पुगिन्छ विश्वकप?

आगामी विश्वकप २०२२ मा एसियाली राष्ट्र कतारमा हुने यसअघि नै टुंग्गो लागिसकेको छ। सोही विश्वकपका लागि अहिले छनोट प्रतियोगिता भइरहेका छन्। 

नेपालले बिहीबार देखि सोही विश्वकप अन्तर्गतको एसिया छनोटका दोस्रो चरणका खेलहरु खेल्न लागेको हो। जसअन्तर्गत पहिलो खेल नेपालले बिहीबार कुवेतसँग खेल्दैछ। चार महिनाअघि एसियाको शीर्ष ३४ भित्र रहेपछि नेपालले पहिलो चरण नखेली दोस्रो चरणमा प्रवेश पाएको हो।

दोस्रो चरणमा एसियाका ४० राष्ट्रले सहभागिता जनाउँदैछन्। उनीहरुलाई विभिन्न ८ समूहमा बाडिएको छ। नेपाल समूह बीमा छ। नेपाली समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे छन्। सबै राष्ट्रले होम र अवेका आधारमा एकअर्कासँग खेलेपछि समूहको शीर्षमा रहने टोली तेस्रो चरणमा पुग्नेछ। साथै सबै समूहका खेल सकिएपछि उत्कृष्ट ४ समूह उपविजेता टोलीलाई पनि तेस्रो चरणमा प्रवेश दिइन्छ।

तेस्रो चरणमा दोस्रो चरणबाट आएका १२ टोलीलाई दुई समूहमा बाँडिनेछ। एउटा समूहमा हुने ६ टिमले पुन: होम एण्ड अवेका आधारमा खेल्नेछन्। दुवै समूहका शीर्ष २ टोली विश्वकपमा छानिनेछन्। यस्तै तेस्रो हुने २ टोलीले चौथो चरणको छनोट खेल्नेछन्।

चौथो चरणमा तेस्रो चरणबाट आएका २ टोलीहरुले होम एण्ड अवेका आधारमा २ लेग(होममा २, अवेमा २)को खेल खेल्नेछन्। त्यसको विजेता टोली इन्टर कन्फिडेरेशन प्लेअफ खेल्नेछ। जहाँ एएफसी, कोन्काकेफ, कोनमेबोल र ओएफसीबाट आएका चार टोलीहरुबीच प्रतिस्पर्धा हुनेछ।

उनीहरुले पनि होम एण्ड अबेका आधारमा २ लेगको खेल खेल्नेछन्। अन्तिममा शीर्ष २ स्थानमा रहने टोली विश्वकपमा छानिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .