खेल


अप्सरी अठोट: अब निर्धक्क क्रिकेट खेल्छु

अप्सरी अठोट: अब निर्धक्क क्रिकेट खेल्छु

यज्ञराज जोशी
भदौ ३१, २०७६ मंगलबार १२:१३,

क्रिकेटलाई करिअर बनाउने सोचेकी अप्सरी बेगम चार महिना अघिसम्म सम्पूर्ण रुपमा क्रिकेटमा केन्द्रित हुन सकेकी थिइनन्।

कारण, नेपालमै जन्मेको १९ वर्ष पुग्दा पनि उनी यो देशकी अनागरिक थिइन्। एकातिर सम्पूर्ण कागजात पूरा गर्दा पनि नागरिकता नपाएको चिन्ता थियो त अर्कोतिर क्रिकेट करिअरको।

मन दुईतर्फ बाँडिएको थियो।

चार महिना भयो, वैधानिक रुपमा अप्सरी यो देशको नागरिक भएकी। अहिले नागरिकताको चिन्ता रहेन। भन्छिन्, ‘अब निर्धक्क भएर क्रिकेट खेल्छु।’

नागरिकता भर्सेस क्रिकेट
झापाको मेचीनगर नगरपालिका ६ मा २०५६ असार २३ गते अप्सरीको जन्म भयो, बुबा आफफ मियाँ र आमा लैमा बेगमबाट। बुबा अफाफले जन्मका आधारमा २०६३ सालमा नागरिकता पाएका थिए। आमाको भने २०५५ सालमै वंशजका आधारमा नागरिकता थियो। उनका दाईले पनि वंशजकै आधारमा नागरिकता बनाएका थिए।

apsari5अप्सरीले नागरिता पाउन निकै संघर्ष गर्नुपर्‍यो। तस्बिर: प्रविन कोइराला

तीनवर्ष अघि १६ वर्ष पुगेदेखि नै नागरिकताका लागि अप्सरी जिल्ला प्रशासन कार्यालय धाउन थालेकी हुन्। तर, बुबाको जन्मको आधारमा नागरिकता भएको र आमाको नामबाट नागरिकता बनाउने कानुन बनिनसकेको भन्दै उनलाई जहिल्यै फर्काइयो।

‘जहिलेपनि जन्मका आधारमा बुबाको भएपछि सन्तानलाई दिने कानुन नै छैन भन्दै फर्काइदिन्थे,’ अप्सरीले नेपालखबरसँग भनिन्, ‘आमा, दाईको त वंशजकै थियो। त्यसका आधारमा पाउनुपर्ने। तर, पनि हुँदैन भन्नुहुन्थ्यो। खै किन हो किन?’

एकातिर नागरिकता बनिरहेको थिएन। अर्कोतिर भने अप्सरीले क्रिकेटमा राम्रो गर्दै गईन्। स्कुल, जिल्ला, क्षेत्र हुँदै यसैवर्ष राष्ट्रिय टिममा समेत स्थान बनाइन्। राष्ट्रिय टिममा परेपछि प्रतियोगिता खेल्न विदेश जान पासपोर्ट चाहिने भयो। त्यसका लागि फेरि नागरिकता नै चाहिन्थ्यो।

तर, जतिपटक गएपनि प्रशासनले पूरानै जवाफ दिएर फर्काईदिन्थ्यो।

‘मैले हार मानिसकेकी थिएँ, कतिपटक त त्यहीँ धुरुक्कै रोएँ,’ उनले नागरिकता नबन्दाको पीडा सम्झिन्।

राष्ट्रिय टोलीमा परेपनि नागरिकता नभएकै कारण गत जनवरी(२०१९)मा थाइल्याण्डमा भएको टि–२० स्म्यास प्रतियोगिता उनले गुमाएकी थिइन्। त्यसपछि अर्को महिना भएको आइसीसी टि–२० विश्वकपको एसियाली छनोटमा भने ट्राभलिङ डक्युमेन्ट बनाएर प्रतियोगितामा सहभागिता जनाइन्। तत्कालिन सिनियर पुरुष टिमका प्रशिक्षक जगत टमटा तथा प्रशिक्षक विनोद दासले युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा ट्राभलिङ डक्युमेन्ट बनाइदिएका थिए।

apsari4

ट्राभलिङ डक्युमेन्टले त्रिभुवन विमानस्थलमा नेपाली अध्यागमनले त मान्यो। तर, थाइल्याण्ड पुगेपछि त्यहाँको अध्यागमनले पासपोर्ट नभएपछि उनलाई अनेक केरकार गर्यो। अन्त्यमा प्रशिक्षक विनोद दास जमानी बसेपछि बल्ल कुरो मिल्यो।

आइसीसी महिला टि–२० विश्वकप एसियाली छनोटमा यूएईविरुद्ध अप्सरीले डेब्यू गरेकी थिइन्। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता दबाब अनि पासपोर्टका कारण ब्यहोर्नुपरेको तनावले प्रदर्शन सोचेअनुरुप भएन। दोस्रो खेलमा भने हङकङविरुद्ध उनको इनिङ्स निर्णायक बन्यो। उनले जोडेको २४ रन नेपाली खेलाडीहरुले बनाएको सबैभन्दा बढी स्कोर थियो। त्यसैका आधारमा नेपालले ४ विकेटले खेल जित्यो।

नेपाल फर्केपछि सबै कागजात पूरा भएरपनि अप्सरीले नागरिकता नपाएको कुराले खुबै चर्चा पायो। आमाको नामबाट नागरिकता पाउने प्रावधान समेत राष्ट्रिय चर्चा बन्यो। त्यहीबीच चार महिना अघिमात्रै उनको पनि नागरिकता बन्यो। यसपटक उनले बंशजकै आधारमा बुबाआमाको नामसहितको नागरिकता पाइन्।

apsari3
चारमहिना अघिमात्रै अप्सरीले नागरिकता पाइन्। तस्बिर: प्रविन कोइराला

‘पटक पटक नागरिकता नबन्दा मनै मरिसकेको थियो। नागरिकता नबन्ने रहेछ, खेलेर पनि के गर्नु भन्ने लागेको थियो,’ नागरिकता हात पारेपछिको खुशी साट्दै उनले भनिन्, ‘यतिधेरै खुशी लाग्यो कि, एउटा टेन्सन दूर भयो अब सबै ध्यान क्रिकेटमै लाउँछु ठानेँ।’

पहिलो मुस्लिम खेलाडी
अप्सरी पढ्ने स्कुल नजिकैै मैदान थियो। त्यहाँ राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री लगायत महिला खेलाडीहरु खेलिरहेका हुन्थे। त्यो देख्दा उनको पनि मन लोभिन्थ्यो। एकदिन घरमा आमाले पनि उनकै मनको कुरो भनिन्, ‘सबैको छोराछोरी के के खेल खेल्छन् तिमीलाई केही खेल्न मनपर्दैन?’

आमाको कुराले उनलाई झन् बल मिल्यो। भनिन्, ‘त्यसो भए क्रिकेट एकेडेमीको प्रशिक्षकसँग कुरा गर्नुस न त। म खेल्न जान्छु।’

आमाले पनि क्रिकेट प्रशिक्षक विरु श्रेष्ठसँग कुराकानी गरेपछि अप्सरीको क्रिकेट यात्रा सुरु भयो। क्रिकेट प्रति लगाव थियो। श्रेष्ठको प्रशिक्षण र कप्तान रुविनाको साथले विस्तारै उनको क्रिकेटले उचाई लिन थाल्यो। अन्तर स्कुल, जिल्ला हुँदै क्षेत्रीयको टिममा परिन्।

विराटनगरमा २०७३ मा भएको सातौं राष्ट्रिय खेलकुद उनको पहिलो राष्ट्रिय प्रतियोगिता हो। जसमा उनको टोली पूर्वाञ्चल च्याम्पियन बन्यो। सोही प्रतियोगिताको प्रदर्शनपछि अप्सरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परिन्। बन्द प्रशिक्षणमा पनि आफूलाई प्रमाणित गर्दै उनी राष्ट्रिय टोलीमा परिन्।

apsari5
उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो मुस्लिम महिला खेलाडी समेत हुन्। तस्बिर: प्रविन कोइराला

राष्ट्रिय टोलीबाट डेब्यू गरेसँगै अप्सरीको परिचय नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो मुस्लिम महिला खेलाडीको समेत बन्यो। प्रतियोगिता खेल्दा अप्सरीलाई त्यो कुरा थाहा थिएन्, तर नेपाल फर्केपछि उनलाई पहिलो मुस्लिम खेलाडी बनेको भन्दै बधाई दिइयो। त्यसपछि मात्रै उनले थाहा पाइन्।

‘आफ्नो समुदायलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय जर्सी लगाउने पहिलो अवसर पाउँदा नै गर्व लाग्यो’, उनले भनिन्, ‘पहिलो त भएँ अब आफ्नो प्रदर्शनबाट अझै आफ्नो समुदाय, देशको नाम उचो बनाउने सोचेकी छु।’

मुस्लिम समुदायमा महिलाहरुको चाँडै बिहे गरिदिने प्रचलन हुन्छ। तर, अप्सरीलाई भने उनको परिवारले साथ दियो। आफ्नो करिअरमा लाग्न सपोर्ट गर्‍यो। त्यो कुरा उनको मनैमा गडेको छ।

भन्छिन्, ‘अहिले ममीबाबाको ठूलो सपोर्ट पाएकी छु। आफ्नो खुट्टामा उभिन आँट दिनुहुन्छ। म काठमाडौं हुँदा नि घरको चिन्ता नगर राम्रो खेल भन्नुहुन्छ। राम्रो खेल्दै गएर एकदिन आमाबुबाको गुन फर्काउँछु भन्ने ठाँनेकी छु।’

स्वर्ण जित्छौं भन्ने लागेको छ
अप्सरीसहितको नेपाली महिला टोली अहिले आगामी मंसिरमा घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा व्यस्त छ। तीन महिना बन्द प्रशिक्षण राखिएको छ। पहिलो चरणमा देशभरिबाट बन्द प्रशिक्षणमा ३५ जना बोलाइएको थियो। अघिल्लो हप्ता दोस्रो चरणमा २५ जना खेलाडीहरु छनोटमा परेका छन्। 

apsari6
सागमा नेपालले स्वर्ण जित्ने उनको विश्वास छ। तस्बिर: प्रविन कोइराला

केहीदिनमा १८ हुँदै अन्तिम १४ जनाको अन्तिम नामावली सार्वजनिक गरिनेछ। अनुभवी तथा प्रतिस्पर्धी खेलाडीहरुकाबीच अप्सरीले पनि अन्तिम टोलीमा स्थान बनाउने विश्वास लिएकी छिन्।

‘टिममा धेरै प्रतिस्पर्धा छ। सिनियर जुनिएर आएका छन्’, अप्सरीले भनिन्, ‘तर पनि प्रशिक्षकले जे गराउनुभएको छ, त्यसमा आफ्नो उत्कृष्ट गरिरहेकी छु। आफूले सक्दिनँ भनेर छोडेको छैन। मनमा त टिममा पर्छु भन्ने नै लागेको छ।’

टोलीका अन्य सदस्यसँगै घरेलु मैदानमा हुने प्रतियोगितामा स्वर्ण जित्ने उनको पनि सपना छ। अहिले गरिरहेको मेहनतले घरेलु मैदानमा आफूहरुले स्वर्ण जित्ने उनको विश्वास छ।

‘टिममा परेपछि बेष्ट दिने सोचेकी छु। जसरी अहिले सिनियर देखि जुनियरसम्म सबैले मेहनत गरिरहनुभएको छ। त्यो देख्दा यसपटक हामीले स्वर्ण रक्षा गर्छौं भन्ने लागेको छ,’ उनले भनिन्।

यो पनि: भारतलाई हराउँदै स्वर्ण जितेको त्यो गर्विलो क्षण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad