आजभन्दा ७ हजार ५०४ दिन अगाडि मेस्सीलाई बार्साले अनुबन्ध गरेको थियो। त्यसबेला किशोर मेस्सी र बार्साबीच मुख पुछ्ने ‘न्यापकिन’मा हस्ताक्षर भएको थियो।
बार्साले सम्झौता समाप्त हुन नदिन अनेकौं प्रयास गरेता पनि मेस्सीले बार्साको आकर्षक प्रस्तावमा सहमति नजनाएपछि बुधबार जुन ३० मध्यरातमा बार्सासँगको सम्झौता सकिएको हो।
दुई दशकको अवधिमा मेस्सीले बार्सासँग सम्झौता समाप्त नभइकनै कयौंपटक पुनः सम्झौताहरुमा हस्ताक्षर गरे। तर यसपटक माह्वल फरक बनिदियो, जब मेस्सी गत सिजन क्लबका खेलहरु समाप्त भएसँगै अर्जेन्टिना हानिए कोपा अमेरिकाको तयारी गर्न।
हाल पनि उनी कोपा अमेरिका प्रतियोगितामा व्यस्त छन्। तर बार्साको सम्झौताबाट उनी मुक्त भइसके, फ्रि–एजेन्ट बनेका उनलाई अब जुनै क्लबले पनि आकर्षक प्रस्ताव दिएर अनुबन्ध गर्न सक्छन् जसका लागि रिलिज क्लज तिर्नुपर्दैन।
बार्साका प्रमुख जोआन लापोर्ताले मेस्सी खुशी बनाउने अनेकौं प्रयास गर्दासमेत मेस्सीले किन बार्सामै रहनेगरी सम्झौता गरेनन् त? यो प्रश्न सबैको मनमा उब्जेको छ।
विश्वभर मेस्सी भनेकै बार्सा हो र बार्सा भनेकै मेस्सी हो भन्ने गरिन्छ। तर मेस्सी फ्रि–एजेन्ट बन्दा बार्साका समर्थक दुःखी छन्।
विश्व चर्चित ब्रान्ड नाइक लगायत अन्य दर्जनौं ब्रान्ड यतिबेला मेस्सीको निर्णयको पर्खाइमा छन्। मेस्सी बार्सामा रहेमात्र उनीहरुले बार्सालाई प्रायोजन गर्नेछन्।
मेस्सी र बार्सा प्रमुख लापोर्ताको सम्बन्ध राम्रो छ। यसैवर्ष क्लब प्रमुखमा पुनः निर्वाचित हुँदा र निर्वाचन अगाडि देखि नै आफू क्लबमा रहेमा मात्र मेस्सी बार्सामा रहने उनले बताउँदै आएका थिए।

लापोर्ताले चुनाव जितेपछि एउटा सम्बोधनमा मेस्सीलाई बार्सामै रहन आग्रह गरेका थिए। त्यसकारण उनी मेस्सीलाई सजिलै क्लब छाड्न दिने पक्षमा छैनन्।
उनले अहिले पनि मेस्सीले बार्सासँग नयाँ सम्झौता गर्ने दाबी गरिरहेका छन्। उनी भन्छन्,‘मलाई मेस्सी अर्को क्लबको खेलाडी भएको देख्न मन छैन।’
यसैबीच बार्सा ब्लाउग्रेन्स वेबसाइटले भने मेस्सी र बार्साबीच मौखिक सहमति भइसकेको जानकारी दिएको छ।
सो वेबसाइटअनुसार मेस्सी र बार्साबीच दश वर्षे सम्झौता भएको छ। जसअनुसार मेस्सीले अब दुई वर्ष बार्सामै खेलाडीको रुपमा खेल्नेछन् त्यसपछि अर्को दुई वर्ष उनी अमेरिकी क्लब इन्टर मायामीबाट खेल्नेछन् र ६ वर्ष उनी क्लबको सद्भावना दूत रहेर काम गर्नेछन्।
आगामी ४ वर्षको अवधिमा उनले २४० मिलियन युरो कमाउने बताइएको छ। इन्टर मायामी डेभिड बेकहमले खरिद गरेको अमेरिकी क्लब हो।
समाचारअनुसार सर्जियो अग्वेरो जसले दुईवर्षको लागि बार्सासँग सम्झौता गरेका छन् उनी पनि इन्टर मायामी जानेछन्।
यदी मेस्सीले बार्सासँग सम्झौता नगर्ने निधो नै गरे उनी अनुबन्धित हुने सम्भावित क्लब पीएसजी र म्यानचेस्टर सिटी भएको गोल डटकमले जनाएको छ।
पीएसजीमा उनका मिल्ने पूर्व सहकर्मी नेमार जुनिएर छन् भने सिटीमा बार्साका पूर्व प्रशिक्षक पेप ग्वार्डिओला छन्।
तर ग्वार्डिओलाले दोहोर्याउँदै मेस्सीले बार्सा नछाड्ने बताउँदै आएका छन्। (मार्का, गोलडट कम र एजेन्सीको सहयोगमा)
Shares

प्रतिक्रिया