नर्थ मेसेडोनियालाई पराजित गर्दै युक्रेनले युरोपियन च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ।
युरोकपअन्तर्गत बिहीबार भएको समूह ‘सी’को दोस्रो चरणको पहिलो खेलमा युक्रेनले नर्थ मेसेडोनियालाई २–१ गोल अन्तरले हराएको हो।
रोमानियास्थित एरिना नेसनल बुखारेस्टमा भएको खेलको पहिलो हाफमा २–० ले पछि परेको स्थितिमा दोस्रो हाफमा नर्थ मेसेडोनियाले गोल गर्दै खेलमा फर्किने संकेत गरे पनि जित निकाल्न सकेन।
पहिलो हाफको २९औँ मिनेटमा एन्ड्रि यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाए।
३४औँ मिनेटमा रोमन यारेमचुकले गोल गर्दै युक्रेनको अग्रता दोब्बर पारे।
खेलको दोस्रो हाफमा नर्थ मेसेडोनियाले गोल फर्काउँदै खेलमा फर्कने संकेत गर्यो। खेलको ५७औँ मिनेटमा इज्जान एलिओस्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए।
तर खेलको ८४औँ मिनेटमा युक्रेनले पेनाल्टीमार्फत अग्रता फराकिलो पार्ने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।
जितसँगै युक्रेन ३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ।
अन्तिम १६ मा स्थान बनाउन युक्रेनको सम्भावना जीवितै छ भने लगातारको दुई हारले नर्थ मेसेडोनियाको अघिल्लो चरण पुग्ने सपना तुहिएको छ।
समूह ‘बी’ को दोस्रो चरणको अन्तिम खेलमा अहिले डेनमार्क र बेल्जियम भिडिरहेका छन्।
खेल कोपनहेगनमा पौने १० बजे सुरु खेलमा डेनमार्क पहिलो हाफसम्म १–० गोलले अघि छ।
समूह ‘सी’कै अर्को खेलमा नेदरल्यान्ड्सले अष्ट्रियासँग खेल्नेछ।
खेल मध्यराति पौने १ बजे सुरु हुनेछ। समूह चरणमा बलियो टोलीका रुपमा रहेका दुवै टोलीको नजर अन्तिम १६ मा स्थान बनाउने भन्नेमा छ।
समूह चरणको पहिलो खेलमा जित निकालेका दुवै टोलीलाई अन्तिम १६ मा स्थान बनाउन जित उत्तिकै महत्वपूर्ण छ।

प्रतिक्रिया