खेल


खुकुरी नेपाल सुपर लिगमा बुटवल लुम्बिनीको विजयी सुरुवात

खुकुरी नेपाल सुपर लिगमा बुटवल लुम्बिनीको विजयी सुरुवात

नेपालखबर
बैशाख १२, २०७८ आइतबार १४:१,

बुटवल लुम्बिनी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पोखरा थन्डर्समाथि २–० को जित निकाल्दै विजयी सुरुवात गरेको हो।

बुटवल लुम्बिनीको जितमा विदेशी खेलाडी अर्मान्ड वियडुअमले गोल गर्दा एक गोल उपहार पाएको थियो।

उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए। मैदानको मध्यभागबाट मान बहादुर परियारको फ्रिकिकलाई डि बक्समा अनमार्क रहेका अर्मान्डको फ्रि हेडर अजित भण्डारीलाई लाग्दै गोलमा परिणत हुँदा पोखराका गोलरक्षक दीप कार्कीले रोक्ने कुनै मौका नै पाएनन्।

पोखरा थन्डर्स बढी आक्रामक बनेपनि फिनिसिङ गर्न सकेन।

खेलको दोस्रो मिनेटमा नै अर्मान्ड वियडुअमले वान भर्सेस वानको अवस्थामा बललाई नियन्त्रणमा लिन नसक्दा बुटवल लुम्बिनी एफसी अग्रता लिनबाट चुक्यो।

१२ औं मिनेटमा पोखरा थन्डर्सका नितिन थापाको पेनाल्टी बक्सबाहिरको प्रहार आकासियो।

१४ औं मिनेटमा नवयुग श्रेष्ठले काउन्टर एट्याकमा बल अघि बढाउँदै गर्दा अघि बढेका बुटवल लुम्बिनीका गोलरक्षक विशाल श्रेष्ठले उनीमाथि पेनाल्टी बक्सबाहिर फल गर्न पुगेका थिए।

उक्त फ्रिकिकलाई नितिनले सदुपयोग गर्न सकेनन्।

२३ औं मिनेटमा नवयुग श्रेष्ठको पेनाल्टी बक्सभित्रको प्रहार दोस्रो बार नजिकैबाट बाहिरिदा पोखरा थन्डर्स अग्रता लिनबाट चुक्यो।

२५ औं मिनेटमा नवयुग श्रेष्ठको पासमा नितिन थापाको लेफ्ट फुटेट सट पोस्टमाथि बाट थोरै आकासिँदा पोखराले अग्रता लिन सकेन।

२८ औं मिनेटमा रवीन श्रेष्ठले रवि शंकर पासवानलाई लडाएपछि प्राप्त फ्रिकिकमा राजेश परियारको प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो।

४२औं मिनेटमा अमिर श्रेष्ठको झन्डै ३० यार्ड टाढाको प्रहार आकासिएको थियो। त्यसको एक मिनेट पछि नै बुटवल लुम्बिनीले अर्मान्डको गोलबाट अग्रता लिएको हो।

५८ औं मिनेटमा लक्ष्मण रुचालको शक्तिशाली प्रहारलाई पोखरा थन्डर्सका गोलरक्षक दीप कार्कीले एक हातले पञ्च गर्दै उत्कृष्ट बचाउ गर्दै बुटवल लुम्बिनीले अर्को खतरा टारे।

६५ औं मिनेटमा लक्ष्मण रुचालको पासमा सुमन लामाको सशक्त प्रहार गोलरक्षक दीप कार्कीको हातले थोरै छुँदै क्रसबारमा लागेर फर्कदा बुटवल लुम्बिनीले अग्रता दोब्बर पार्नबाट चुक्यो।

७६ औं मिनेटमा मौसा अब्बाको प्रहार आकासिँदा पोखरा बराबरीबाट चुक्यो।

लगत्तै काउन्टर अट्याकमा ७७ औं मिनेटमा अजित भण्डारीले आत्मघाती गोल गरेपछि बुटवल लुम्विनीले अग्रता दोब्बर बनायो।

अमिर श्रेष्ठको क्रसलाई अजितले क्लियर गर्न खोज्दा खुट्टामा लाग्दै गोलमा परिणत हुँदा गोलरक्षक दीप कार्कीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन।

त्यसपछि थप गोल निस्कन नसक्दा बुटवल लुम्बिनी विजयी हुन सफल भयो।

जितसँगै बुटवल लुम्बिनीले ३ अंक जोडेको छ।

लिगमा सोमबार ललितपुर सिटी एफसी र एफसी चितवनबीच साँझ ५:३० बजे खेल हुनेछ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ।

राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन्।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन्।

व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन्।

हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad