नेपाल सुपर लिग (एनएसएल) क्लब धनगढी एफसीलाई मुख्य प्रायोजकको रूपमा चर्चित दक्षिण कोरियाली कम्पनी ‘किया’ले साथ दिएको छ।
विश्व बजारकै चर्चित कार उत्पादन कम्पनीले धनगढी एफसीसँगको सम्झौतासँगै आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ। धनगढीले बिहीबार किया नेपालसँग मुख्य प्रायोजनको सम्झौता समेत गरेको छ।
धनगढी एफसीका सुवास शाही र किया नेपालका अनिश लामिछानेले सम्झौता आदानप्रदान गरे।
गो–ड्रिमर्सको स्वामित्वमा रहेको धनगढी एफसीका अध्यक्ष सुवास शाहीले कियाँसँग जोडिदा पाउँदा खुशी व्यक्त गरे। उनले फुटबलमा बहुराष्ट्रिय कम्पनीको लगानी आउनु हर्षको कुरो भएको बताए।
‘कियाजस्तो बहुराष्ट्रिय कम्पनी फुटबलमा आउनु धेरै राम्रो हो। यसले नेपाली फुटबलको विकास र प्रवर्द्धन गर्नेछ। कियाको संलग्नताले हाम्रो क्लबलाई मात्रै होइन, नेपाली फुटबललाई नै माथिल्लो स्तरमा पु¥याउन सहयोग गर्नेछ,’ उनले भने, ‘हाललाई एकवर्षे सम्झौता गरेका छौं। भविष्यमा दीर्घकालीन योजनासहित हामी एकसाथ अघि बढ्नेछौं।’
शाहीले नेपालमा फ्रेन्चाइज क्रिकेट भित्र्याउने पहिलो व्यक्ति हुन्। उहाँकै सक्रियतामा नेपालमा पहिलोपल्ट धनगढी प्रिमियर लिग (डीपीएल) मार्फत् नेपालमा फ्रेन्चाइज प्रतियोगिताको थालनी भएको थियो। यसपटक उहाँले फुटबलमा लगानी गरेका छन्।
सम्झौता पत्र आदानप्रदान गरेपश्चात किया नेपालका सहायक महाप्रबन्धक अनिश लामिछानेले विश्वकै खेल जगतमा कियाले सहयोग गर्दै आएको र नेपाली फुटबलमा पनि लगानी गर्न पाउँदा खुशी व्यक्त गरे।
‘विश्वमै खेलमा कियाको प्रायोजन हेर्ने हो भने विशेषतः फुटबलको विश्वकपलगायत धेरैमा संलग्नता छ। नेपालमा सुपर लिग सुरु हुँदै छ, यसमा हामीसँग मिल्ने कुनै जुझारुपन टिमसँग सहकार्य गर्ने सोच थियो,’ उनले भने, ‘यसबाट धनगढी एफसीसँग हाम्रो भावना मिलेको पायौं र सहकार्य गर्ने निधोमा पुग्यौं। हामीले धनगढी एफसीसँग दीर्घकालीन रूपमै सहकार्य गर्ने सोचेका छौं।’
सम्झौतका कार्यक्रममा धनगढीका आइकोनिक खेलाडी किरण चेन्जोङ र मार्की खेलाडी विशाल राई पनि उपस्थित थिए।
कियाको नयाँ लोगो पनि धनगढी एफसीबाटै सार्वजनिक गरेको छ। कम्पनीको लोगोसहितको जर्सी दुवै खेलाडीले पहिरिएका थिए। किया विश्वकप फुटबल २०१४ र २०१८ को पनि प्रायोजक थियो।
धनगढीले चेम्जोङ र राईसहित अफ्रिकी मूलका दुई र स्थानीय दुई खेलाडी भित्र्याएको छ। शनिबारबाट सुरु हुने प्रतियोगितामा धनगढीले विराटनगर सिटी फुटबल क्लबविरुद्ध आइतबार प्रतिस्पर्धा गर्दै एनएसएलको यात्रा थाल्नेछ।

प्रतिक्रिया