कारोबार


कोरोनाको संकटमा पनि बैंकहरुको नाफा उत्साहजनक

कोरोनाको संकटमा पनि बैंकहरुको नाफा उत्साहजनक

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार ७:३८,

कोरोना संकटको समयमा पनि बैंक तथा वित्तीय कम्पनीहरुको नाफा उत्साहजनक रहेको पाइएको छ।

चालू आर्थिक वर्षको ९ महिना अवधिको ती संस्थाहरुले जारी गर्न थालेका वित्तीय विवरणमा उनीहरुको नाफा गत वर्षभन्दा बढी देखिएको हो।

कोरोना संकटको कारण ऋणीहरुलाई सहुलियत दिनुपरेको तथा लगानीको प्रतिफल उलेख्य रुपमा आउन नसकेको कारण बैंकहरुको नाफा घट्ने आकलन गरिएको थियो।

तर चालू आवको दोस्रो त्रैमासिकअघि नै नेपालमा व्यावसायिक माहोल बढेकोले बैंकहरुको नाफामा वृद्धि हुनपुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार नै फागुनसम्ममा कर्जा लगानी उल्लेख्य मात्रामा विस्तार भएको छ। यसले पनि बैंकहरुको नाफा बढाउन सहयोग गरेको देखिएको छ।

राष्ट्र बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.१ प्रतिशतले बढेको थियो। चालू आवको फागुनसम्मको अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २१.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.१ प्रतिशतले बढेको छ।’

२०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।

यस्तो छ बैंकहरुको नाफा
वैशाख महिनाभरिमा बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्नैपर्ने बाध्यकारी व्यवस्था छ।

सोअनुसार अहिले बैंकहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गरिरहेका छन्।

सिभिल बैंक
यसअनुसार सिभिल बैंकले ९ महिनामा आफ्नो नाफा आधा अर्ब नघाएर ५० करोड २५ लाख रुपैयाँ पुर्याएको छ।

बैंकले चालू आर्थिक वर्षको चैत मसान्त अवधिमा आफ्नो नाफा ३९.३९ प्रतिशतले बढाउन सफल भएको हो।

बैंकको वितरणयोग्य मुनाफा ११ करोड ६ लाख रुपैयाँबाट बढेर ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७४ पैसा बढेर ७ रुपैयाँ ७५ पैसा पुगेको छ। बैंकले चैत मसान्त अवधिमा ८७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख छ।

जुन गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा ६१.९६ प्रतिशतले बढी हो भने भने कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढी हो।

सिटिजन्स इन्टरनेशनल बैंक
यता सिटिजन्स इन्टरनेशन बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा अर्थात् पहिलो ९ महिनामै एक अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.६१ प्रतिशतले बढी हो। बैंकले गत आवको तेस्रो त्रैमासिक अर्थात् पहिलो ९ महिनामा एक अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

तेस्रो त्रैमासिक अवधिमा बैंकले एक अर्ब ३४ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। जुन अघिल्लो आवको चैत मसान्तसम्ममा ४१ करोड ९ लाख रुपैयाँ मात्रै रहेको थियो।

बैंकको प्रतिसेयर आम्दानी बढेर २०.७२ रुपैयाँ पुगेको छ।

कामना विकास बैंक
त्यस्तै विकास बैंकहरुको अवस्था हेर्ने हो भने वाणिज्य बैंकहरुको तुलनामा अझै नाफाको वृद्धिदर धेरै छ। कामना सेवा विकास बैंकको नाफा १७२ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।

गत वर्ष यही अवधिभन्दा बैंकको नाफा एक वर्ष अवधिमा १७२ प्रतिशत अर्थात् ३६ करोड ७७ लाख रुपैयाँले बढी हो।

बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ५८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिसम्ममा २१ करोड ५४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

ज्योति विकास बैंक
अर्को विकास बैंक अर्थात् ज्योति विकास बैंकले ९ महिना अवधिमा ३८.१९ प्रतिशत बढीले खुद नाफा बढेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्मा ४३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसअनुसार चालू आर्थिक वर्षको सो अवधिसम्म ६० करोड २५ लाख रुपैयाँ बढी खुद नाफा कमाउन सफल भएको हो।

मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले तेस्रो त्रैमासिकसम्ममा एक अर्ब बढी रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.७५ प्रतिशतले बढी देखिएको छ।

बैंकले गत आवको तेस्रो त्रैमास अर्थात् पहिलो ९ महिनामा ६७ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad