नेपालमा पहिलोपटक हुनलागेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगको शुक्रबार अक्सन हुँदै छ।
सुपर लिगको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी किनबेच हुँदै छन्। अक्सन सोल्टी क्राउन प्लाजामा बिहान ११ बजेबाट सुरु हुनेछ।
अक्सनमा जाने खेलाडीलाई ३ समूहमा विभाजन गरिएको छ। राष्ट्रिय टोलीबाट खेलेका र बन्द प्रशिक्षणमा ३६ जना खेलाडी ए क्याटोगोरीमा छन्। बी क्याटगोरीमा ६५ र सी मा ५० जना खेलाडी समावेश छन्।
अन्तर्राष्ट्रिय लिग खेलिरहेका रोहीत चन्द, किरण कुमार लिम्बु, अभिषेक रिजाल लगायतका खेलाडी ए क्याटगोरीमा छन्। उनीहरु पनि लिगमा सहभागी हुने सम्भावना रहेको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक सुदिप शर्माले जानकारी दिए। उनले भने, खेलाडीहरुसँग कुरा भैरहेको छ उनीहरु खेल्ने सम्भावना धेरै छ।

राष्ट्रिय टोलीका डिफेन्डर सुमन अर्याल र देवेन्द्र तामाङले भने लिग गुमाउने सम्भावना छ। उनीहरुले चोटका कारण लिग गुमाउने सम्भावना छ।
सुपर लिगमा फ्रेन्चाइज टोलीहरु विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी खेल्नेछन्।
यी मध्ये धनगढी फुटबल क्लबले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडी घोषणा गरेको हो। धनगढीले प्रशिक्षकमा नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई अनुबन्ध गरेको छ।
यस्तै राष्ट्रिय फुटबल टोली तथा मनाङ मर्स्याङ्दी क्लबका मिडफिल्डर अन्जन विष्ट ललितपुर सिटी फुटबल क्लबको मार्की खेलाडी बनेका छन्।
एफसी चितवनले भने राष्ट्रिय टोलीका स्टाइकर भरत खवास र प्रशिक्षकमा मेघराज केसीलाई अनुबन्ध गरेको छ। विराटनगर एफसी र काठमाडौ रेजर्सले बिहिबार मार्की खेलाडी र प्रशिक्षक घोषणा गर्दै छन्।

प्रतिक्रिया