जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।
बिहीबार (आज) बिहान ११ बजेका लागि बोलाइएको कार्यकारिणी समितिको बैठक तयारी नपुगेको कारण देखाएर स्थगित गरिएको हो।
जसपाका नेता केशव झाले थप तयारी गर्नका लागि बैठक स्थगित गरिएको बताए। उनले राजपा र संघीय समाजवादीबीचको एकतापछि संगठनिक लगायतका विषयको टुंगो नलागेको र त्यसका लागि शीर्ष नेताहरुको बैठक बसिरहेको जानकारी दिए।
‘दुई पार्टीको एकतापछिको समायोजन नटुंगिएपछि आजको बैठक स्थगित गरिएको हो’, नेपालखबरसँग झाले भने, ‘समायोजको टुंगो लगाउन शीर्ष ५ नेताको बैठक बिहानै बसे पनि अहिलेसम्म टुंगो लाग्न सकेको छैन।’
जसपाको आजको बैठकले सरकारको समीकरणको निर्णय गर्ने अपेक्षा गरिएको थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार सिन्धुली पुगेर पत्रकारसँग कुरा गर्दै आफूहरुले जसपाको निर्णय कुरेको प्रतिक्रिया दिएका थिए।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै साथ दिने वा नयाँ सरकार निर्माण गर्न कांग्रेस, माओवादी केन्द्रसँग मिलेर जाने भन्ने विषयमा दुईधार देखिएपछि जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको थियो।
सबै तयारी पूरा गरेर चार/पाँच दिनपछि बैठक बस्ने संभावना रहेको नेता झाले बताए।

प्रतिक्रिया