खेल


प्रधानमन्त्री कप क्रिकेट : विनोदको शतकको मद्दतमा आर्मी विजयी

प्रधानमन्त्री कप क्रिकेट : विनोदको शतकको मद्दतमा आर्मी विजयी

नेपालखबर
माघ २, २०७७ शुक्रबार १५:३३,

कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज गण्डकी प्रदेश विरुद्धको खेलमा भण्डारीले अविजित १११ रनको पारी खेलेपछि आर्मी ९८ रनले विजयी भएको हो। टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २८७ रन बनायो। आर्मीका लागि भण्डारीले ७३ बल खेल्दै चार छक्का र नौ चौका प्रहार गरे। यस्तै राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रन बनाए। बलिङतर्फ गण्डकी प्रदेशका लागि कप्तान विपिन खत्री र विशाल पौडेलले दुई दुई विकेट लिए।

आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो। गण्डकीका लागि समिर कँडेलले ५०, कप्तान विपिन खत्रीले अविजित ३७, अर्जुन कुमालले ३६ तथा दीपक डुम्रेले २६ रन बनाए। बलिङतर्फ आर्मीका लागि राजेश पुलामी एक्लैले ५ विकेट लिए। उनले नौ ओभरमा एक मेडन राख्दै २५ रन मात्र खर्चिए। यस्तै भीम सार्कीले तीन तथा आकाश चन्द र रोहित पौडेलले एक एक विकेट लिए। शतक प्रहार गरेका आर्मीका भण्डारी म्यान अफ दी म्याच घोषित भए।

शनिबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र प्रदेश नम्बर १ बीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको छ। सहभागी १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन्।

दुवै समूहको शीर्ष दुई स्थान बनाउने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन्। फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ। राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता भइरहेको छ। यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad