अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ। अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि अन्तिम दिन भारतीय ब्याट्सम्यानको धैर्यपूर्वक खोल्दै टिमलाई हारबाट जोगाएका थिए।
पाँचौं दिन २ विकेटको क्षतिमा ९८ रनबाट खेल्न थालेको भारतले दोस्रो इनिङमा ५ विकेटको क्षतिमा ३ सय ३४ रन बनाउन सक्यो। जितका लागि अस्ट्रेलियाले भारतलाई ४ सय ७ रनको चुनौती दिएको थियो।
बराबरी भएको खेलमा भने भारतले कीर्तिमान पनि बनाएको छ। सिड्नीको खेल मैदानमा चौथो इनिङमा कुनै पनि टिमले २ सय ८८ भन्दा बढी रन बनाउन सकेका थिएनन्। सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलियाले चौथो इनिङमा सर्वाधिक बढी रन पछ्याएर खेल जितेको इतिहास छ।
भ्रमणकारी टोली भारतले आफू विजयी हुने आकांक्षा राखेको देखिएको थिएन्। भारतीय ब्याट्सम्यान हनुमा बिहारीले १ सय ६१ बलको सामना गरेर २३ रन मात्र बनाएका थिए। रविचन्द्रन अश्विनले पनि १ सय १८ बल खेल्दै ३९ रन बनाएका थिए। दुबैले भारतीय टोलीको स्कोरलाई ३ सय ३४ सम्म पुर्याएका थिए।
भारतका लागि रिषभ पन्तले १ सय १८ बल खेल्दै विस्फोटक ९७ रन बनाएका थिए भने चेतेश्वर पूजाराले ७७ रन बनाए। यससँगै चेतेश्वरले टेस्ट खेलमा ६ हजार रन पूरा गरेका छन्।
अस्ट्रेलियाले पहिलो इनिङमा ३ सय ३८ तथा दोस्रो इनिङमा ६ विकेटको क्षतिमा ३ सय १२ बनाएर भारतसामु जितका लागि ४ सय ७ रनको चुनौती दिएको थियो। भारतले पहिलो इनिङमा २ सय ४४ तथा दोस्रो इनिङमा ५ विकेटको क्षतिमा ३ सय ३४ रन बनायो। चौथो टेस्ट म्याचको श्रृंखलाको अन्तिम खेल जनवरी १५ बाट ब्रिसबेनमा शुरु हुने छ। तीन खेल मध्य अस्ट्रेलिया र भारतले एक एक वटा टेस्ट जितेका छन्। तेस्रो खेल बराबरी भएको छ।

प्रतिक्रिया