बंगलादेशसँग शुक्रबार नेपालले पहिलो मैत्रीपूर्ण खेल्दा नेपाली टोली करिब नौ महिनापछि फुटबल मैदान फर्किनेछ। कतार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणमा रहेको नेपाललाई मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले पनि हेरिएको छ।
ढाकास्थित बंगबन्ध रंगशालामा दिउँसो पौने पाँच बजे हुने खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्न लागेको हो। दुई मैत्रीपूर्ण तालिका बनाएर एक साता अघि बंगलादेश प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशमा एक साता अभ्यास गरेको छ।
एक साता काठमाडौंमा अभ्यास गरेर ढाका प्रस्थान गरेको नेपाली टोली शुक्रबार घरेलु टोलीविरुद्ध मैदान उत्रिँदा सुखद् नतिजाको खोजीमा हुनेछ। कोरोना महामारीले निराश बनेका दर्शकलाई नेपाली खेलाडीले जित निकाल्दै खुसी दिलाउन पक्षमा रहेका छन्।
मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा म्याच हुने छन्। दुई म्याचका विजेताले ट्रफी पनि पाउने बुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा जानकारी गराइएको छ।
कोरोना महामारीका कारण विश्वकप छनोट खेलहरु स्थगित भएकाले नेपाल र बंगलादेश दुवैले यो खेललाई अनुभव साट्ने अवसरको रुपमा लिएका छन्। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रीपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको हो। एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको छ।
यसअघि अक्टोबर र नोभेम्बरका लागि तय भएका छनोट खेल कोरोना महामारीका कारण स्थगित भएका थिए। शुक्रबार बंगलादेशसँग खेल्ने लागेको नेपालले ‘हेड टु हेड’ मा निकै पछि रहेको छ। नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ। जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ। एक खेल भने नतिजाविहीन भएको छ। तर, बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ।

प्रतिक्रिया