वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोले २ गोल गरेसँगै इटालियन सिरी ‘ए’ मा युभेन्टस जित हासिल गर्न सफल भएकाे छ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ४–१ गोल अन्तरले पराजित गरेकाे हाे।
कोरोना संक्रमणका कारण केही खेल गुमाएका रोनाल्डोले उत्कृष्ट पुनरागमन गरेका हुन्।
रोनाल्डोलाइ प्रशिक्षक आन्द्रिए पिर्लोले रोनाल्डोलाइ ५६औं मिनेटमा पाउलो डिबालाको स्थानमा मैदान पठाएका थिए। रोनाल्डोले मैदान छिरेको ३ मिनेट नबित्दै गोल गरेका थिए।
खेलको १६ औं मिनेटमा अल्भारो मोराटाले युभेन्टसलाई अग्रता दिलाएका थिए। घरेलु टोलीले ३२औं मिनेटमा टोमासो पोबेगाको गोलमा खेललाइ बराबरीमा ल्यायो।
६७औं मिनेटमा एड्रीएन राबीओटले युभेन्टसको अग्रता दोब्बर पारे। ७६औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाइ ४–१ को अग्रता दिलाए।
जितसँगै युभेन्टस अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। युभेन्टसले ६ खेलमा ३ जित र ३ बराबरीसँगै १२ अंक जोडेको छ। शीर्षस्थानमा रहेको एसी मिलानले ६ खेलमा ५ जित र १ बराबरीसँगै १६ अंक जोडेको छ। सासोलो १४ अंकमा दोस्रो स्थानमा छ।

गएराति नै भएको अर्को खेलमा ज्लाटन इब्राहिमोभिच र फ्रान्क केसीको गोलमा एसी मिलानले उडिनेजीलाइ २–१ ले पाखा लगायो। जितसँगै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ। घरेलु टोलीका रोड्रिगो डि पलले एक गोल फर्काए।
गएराति कै खेलमा लाजियोले टोरिनोलाइ ४–३, सासोलोले नेपोलीलाइ २–०, रोमाले फाइरेन्टाइनलाइ २–० ले हराउँदा सम्पादोरिया र गेनाआले १–१ को बराबरी गरे।

प्रतिक्रिया