नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टोली जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल)बाट बाहिरिएको छ।
मंगलबार राति भएको पहिलो सेमिफाइनलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटको फराकिलो हार व्यहोर्दै उपाधि होडबाट बाहिरिएको हो।
ब्रायन लारा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर मात्रै १ सय ७ रन बनाएको थियो ।
एक सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा ग¥यो। ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्स ५४ रन र टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । त्यसअघि सुनिल नारिनलाई जमैकाका मुजिब उर रहमानले ४ रनमा आउट गरेका थिए।
त्यसपछि जमैका विकेट बिहिन भयो। यसअघिका सबै खेलमा विकेट हात पारेका सन्दीप पनि यो खेलमा विकेटविहीन भए। ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए पनि विकेट लिन असफल भए। सन्दीपले जारी सीपीएलका ११ खेलमा १२ विकेट लिए।
त्यसअघि खराब सुरुवात गरेको जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाउँदा कप्तान रोभम्यान पोवेलले ३३ रन जोडे। कार्लोस ब्रेथवेट १३ रनमा अविजित रहे पनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
ट्रिनबागोका जेरोमी होसिनले ३ विकेट लिँदा खारी पेरीको २ विकेट लिँदै जमैकाको इनिङ्स धरापमा पारे।
दोस्रो सेमिफाइनलमा बुधबार गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले बिहीबार उपाधिका लागि ट्रिनबागासँग भिड्नेछ।

प्रतिक्रिया