खेल


एन्फा कास्की अनियमितता प्रकरणः छानबिन समितिले दियो यस्तो निर्देशन

एन्फा कास्की अनियमितता प्रकरणः छानबिन समितिले दियो यस्तो निर्देशन

लक्ष्मी जि.सी/वाशुदेव मिश्र
असार २९, २०७७ सोमबार १२:२५,

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गठन गरेको छानबिन समितिले कास्की जिल्ला फुटबल संघलाई १५ दिनभित्र लेखा परीक्षण गराएर साधारण सभा गर्न निर्देशन दिएको छ। कास्की जिल्ला सघंमाथि लागेको अनियमितताको छानबिन गर्न पोखरा पुगेको टोलीले ११ दिन लगाएर छानबिन गरेको हो।

एन्फा उपाध्यक्ष विरबहादुर खड्काको संयोजकत्वमा आनन्द राञ्जित र नारायण अधिकारी सम्मिलित पोखरा पुगेको टोलीले मनकामना कप, ग्रासरुट फुटबल, क्वीक्स कप फुटबल प्रतियोगिता र संघको आर्थिक हिसाब किताबको छानबिन गरेको थियो। आफूहरुले छानबिन सकेर प्रतिवेदन तयार पारिसकेको बताउँदै एन्फा केन्द्रलाई प्रतिवेदन बुझाएपछि थप निर्णय लिने संयोजक खड्काले बताए।

यसअघि एन्फा कास्कीमा व्यापक अनियमितता भएको भन्दै कारबाही गरिनुपर्ने आवाज उठेको थियो। एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेसँगै प्रदेश सभासद राजीव गुरुङ (दीपक मनाङे) ले पनि एन्फामा व्यापक अनियमितता भएको आरोप लगाएका थिए।

आर्थिक अनियमिततासँगै संस्था नै विधिसम्मत नचलेको आरोपपछि एन्फा केन्द्रीय कमिटीले नै छानबिनको लागि तीन सदस्यीय समिति गठन गरेको थियो। छानबिनको अख्तियारी पाएको समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै ११ दिनपछि छानबिन सकिएको जनाए पनि प्रतिवेदन भने सार्वजनिक गरेन।

एन्फा केन्द्रीय कमिटीलाई यसपछिको कारबाहीको जिम्मेवारी सुम्पेपनि छानबिन समितिले तत्काल कार्यालय खोल्न, मनकानमा केबलकार पोखरा कपको आयव्यय सार्वजानिक गर्न र तिर्नुपर्ने रकम तत्काल तिर्न एन्फा कास्कीलाई निर्देशन दिएको छ।

एन्फा कास्की अहिले कार्यालयविहीन छ। फुटबल मैदान निर्माणको क्रममा रहेकाले पनि कार्यालय सञ्चालनमा नआएको एन्फा कास्कीको जिकिर छ। २०७५ सालमा पोखरामा भएको मनकामना केबलकार पोखरा कपको आयव्यय सार्वजनिक भएकै छैन। सो प्रतियोगितामा घाटा लागेको एन्फा कास्कीको जिकिर छ भने अनियमितता भएको उजुरी पनि परेको छ।

छानबिन समितिले मनकामना कपको हिसाब १५ दिनभित्र सार्वजनिक गर्न तथा तिर्नुपर्ने रकम तिर्न महेद्र गुरुङको संयोजकत्वमा समिति गठन गरी काम गर्न र कार्यालय खोल्न निर्देशन भने दिएको छ।

‘हामीले संघलाई ३ वटा निर्देशन दिएका छाैँ, निर्देशनको पालना भएन भने कारबाही हुन्छ’, छानबिन समितिका संयोजक वीरबहादुर खड्का (बच्चु) ले भने, ‘छानबिनको प्रतिवेदन तयार पारेका छाैँ, बाँकी कारबाही केन्द्रले गर्नेछ।’

समितिले विभिन्न ६ विषयलाई लिएर छानबिन गरेको थियो। छानबिनको मुख्य विषय भनेकै २०७५ सालमा भएको मनकामना केबलकार पोखराकप रहेको थियो। जसको आर्थिक गतिविधि आयव्यय सार्वजनिक हुन सकेको थिएन। कुनै पनि संस्थाले प्रतियोगिता सञ्चालन गरेपश्चात त्यसको ६ महिनाभित्र आयव्यय सार्वजनिक गर्ने प्रावधान छ। तर, एन्फा कास्कीले भने २ वर्षसम्म पनि आयव्यय सार्वजनिक गरेको छैन।

छानबिन समितिको प्रतिवेदन अनुसार मनकामना पोखरा कप गर्दा २९ लाख १७ हजार २ सय ९० रुपैँया घाटा भएको छ भने प्रतियोगिता सञ्चालन गर्दा ९२ लाख ९८ हजार १ सय ६५ रुपैयाँ खर्च भएको छ। प्रतियोगिताबाट ६३ लाख ८ सय ७४ रुपैयाँ आम्दानी भएपनि विभिन्न ३७ पार्टी (व्यवसायी) हरुलाई २४ लाख ९ हजार ९ सय १४ रुपैयाँ तिर्न बाँकी रहेको छानबिन समितिका संयोजक खड्काले जानकारी दिए।

यस्तै क्वीक्स कप आयोजना गर्दा २ लाख १ हजार ७ सय रुपैयाँ आम्दानी भएको र जिल्ला लिग गर्दा २ लाख ११ हजार ७ सय ८५ रुपैयाँ आम्दानी गरेको छ। १४ महिना सञ्चालन गरेको ग्रासरुट फुटबल कार्यक्रमबाट भने २ लाख रुपैयाँ आम्दानी गरेको छ। फिफाबाट सहयोग प्राप्त कार्यक्रम भएपनि संघकै सहमतिमा रकम लिएको छानबिन समितिले बताएको छ।

‘हामीले निष्पक्ष रुपमा छानबिन गरेका छौँ र प्रतिवेदन तयार पारेका छाैँ। कसैको पनि दबाब र प्रलोभनमा नपरी प्रतिवेदन तयार गरिएको छ’, उनले भने, ‘करिब २०–२२ बुँदे प्रतिवेदन तयार भएको छ, विभिन्न ६ विषयलाई लिएर छानबिन गरिएको हो’ छानबिन समितिका सदस्य विष्णुप्रसाद पराजुलीले संस्था विधिवत रुपमा चलेको नदेखिएको बताए। संस्थाले अधिवेशन तथा दर्ता नविकरण समेत नगरेको बताए।

‘संस्था विधिवत रुपमा चलेको देखिएन। केही बिल भरपाईमा प्रक्रिया पुर्‍याएको देखिएन’,पराजुलीले भने, ‘२० हजार माथिको बिल भ्याटमा जानुपर्ने तर केही विल त्यस्तो देखिएन। संस्थाले सुधार गर्नुपर्ने र कमीकमजोरीहरु हामीले प्रतिवेदनमा उल्लेख गरेका छौँ।’

छानबिनको समयमा संघका पदाधिकारीले राजीनामा माग्ने जस्ता कुरा आए पनि त्यो विषय नउठेको उनले दाबी गरे। उनका अनुसार समितिले प्रदेश लिगको पनि विजेता, उपविजेता तथा रेफ्रीलाई रकम दिन निर्देशन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .