कर्णाली प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ।
बिहीबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको हो। यो जितसँगै लुम्बिनी र एपीएफ समान सात अंक बनाएको पुलिस क्लब नेट रनरेटमा अघि रहँदै चौथो स्थानमा रहेको हो।
पराजित कर्णाली प्रदेश तीन अंकसहित तालिकाको नवौँ स्थानमा छ। कर्णालीले पीएम कपमा पाचौँ हार भोगेको हो।
पुलिस क्लबले दिएको २६२ रनको लक्ष्य पछ्याएको कर्णालीले ४५.२ ओभरमा २१३ रन बनाउँदा अलआउट भयो। कर्णालीका अर्जुन घर्तीले ४६, सुनिल धमलाले ३४ र विपिन रावलले २८ रन बनाए।
दिनेश अधिकारी र कप्तान दिवान पुनले समान १६, विपिन शाहीले १५, प्रकाश जैसीले १४, रविन्दू शाहीले १२ र राज शाहले १० रन थपे।
पुलिस क्लबका लागि ललित राजवंशीले पाँच विकेट लिए। उनले ९.२ ओभरमा दुई मेडन राख्दै ३६ रन खर्चे। करण केसीले तीन विकेट लिए। दिपक चन्द र आरिफ शेखले समान एक विकेट लिए।
त्यसअघि विरगञ्जको नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६१ रनको योगफल तयार पारेको थियो।
पुलिस क्लबका लागि ओपनर दिनेश खरेलले सर्वाधिक ८२ रन बनाए। उनले सय बलमा नौ चौका र एक छक्का हाने। अमित श्रेष्ठले ३० रन बनाए। कप्तान आरिफ शेखले २७, रासिद खानले २४, दिलसाद अलीले २३, करण केसीले २१ र शंकर रानाले एक रन बनाए।
कर्णालीका लागि प्रकाश जैसीले तीन विकेट लिए। दिनेश अधिकारी र अनुज चुनाराले समान दुई विकेट लिए। दिवान पुनले एक विकेट लिए।
Shares

प्रतिक्रिया