समाज


महिलाले विचार राख्नै नहुने : चरित्रहत्या र बुलिङको अखडा बन्दै सामाजिक सञ्जाल

महिलाले विचार राख्नै नहुने : चरित्रहत्या र बुलिङको अखडा बन्दै सामाजिक सञ्जाल

आयुषा ढकाल
चैत २७, २०८२ शुक्रबार १२:२८, काठमाडौँ

आजको डिजिटल युगमा सामाजिक सञ्जाल अभिव्यक्ति स्वतन्त्रताको सशक्त मञ्च बन्नुपर्ने थियो। तर, नेपालमा फरक विचार राख्ने महिलाहरूका लागि यो मानसिक प्रताडना र चरित्र हत्याको अखडा बन्दै गएको छ। 

महिलाले समाज, राजनीति वा समसामयिक विषयमा आफ्नो स्पष्ट र फरक धारणा सार्वजनिक गर्दा उनीहरूको तर्कमाथि बहस हुनुको साटो व्यक्तिगत जीवनमाथि नै आक्रमण गर्ने प्रवृत्ति बढ्न थालेको छ।

मंगलबार मात्र नेकपा एमालेकी सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीसहित १८ जना महिला सांसदले भोटाहिटीस्थित साइबर ब्युरोमा लिखित उजुरी दिएका छन्। राजनीतिक रुपमा वा अन्य कुरामा फरक विचार राख्ने महिलाहरूलाई सामाजिक सञ्जालमा योजनाबद्ध रुपमा आक्रमण हुन थालेपछि उनीहरू कानुनी उपचार खोजेका हुन्।

पछिल्लो संसदको बैठकमा पनि नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले सामाजिक सञ्जालमा महिलाविरुद्ध हुने साइबर आक्रमणको विषयमा सबैको ध्यानाकर्षण गराएका छन्।

यस्तो समस्या भोग्नेमा राजनीतिज्ञ मात्र होइनन्, युवा अभियन्ताहरू पनि छन्। जेनजी अगुवा रक्षा बमले समेत बलात्कारदेखि ज्यान मार्नेसम्मको धम्की भोग्नुपर्‍यो।

हालसम्म तीन पटक साइबर अपराधविरुद्ध उजुरी दिइसकेकी बमले करिब दुई वर्षअगाडि आफूलाई गाली–गलौज र डरधम्की दिने व्यक्ति विरुद्ध उजुरी दिएपछि उसले माफी मागेको बताइन्। 

तर, पछिल्लो समय जेनजी आन्दोलनपछि उनले झन् धेरै समस्या खेप्नुपर्‍यो। उनलाई जहाँ भेट्यो त्यहीँ ज्यान मार्ने, घर जलाइदिने र बलात्कार गर्ने धम्की आएपछि केही समय बाहिर निस्कन समेत असहज महसुस भयो। 

‘धेरै मान्छेको भिड देख्दा चिढिने समस्या समेत देखिएपछि पुस्तक पढ्ने, प्रकृतिमा रमाउने र सामाजिक सञ्जालमा कम समय बिताउने गरेर आफूलाई सम्हालेँ,’ उनले भनिन्।

रक्षाले त आफूलाई बलियो बनाएर अगाडि बढिन्, तर धेरै महिलाहरू यस्तो त्रासदीयुक्त धम्कीका कारण मनोपरामर्शदाताको शरणमा पुग्नुपरेको छ। केही दिनअघि मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा सडकमा निस्किएकी अमिशा पराजुलीले पनि आफ्नो अभिव्यक्तिका कारण तीव्र गाली र धम्कीको सामना गर्नुपर्‍यो, जसका विरुद्ध उनले साइबर ब्युरोमा उजुरी दिएकी छिन्।

त्यस्तै, फागुन २१ को चुनाव अगाडि रेनुका बराल नामक महिलाले ‘झापा–५ मा केपी ओलीले जित्नुहुन्छ, बालेनले जिते कान काट्छु’ भन्ने अभिव्यक्ति दिएकी थिइन्। तर, झापा–५ बाट बालेन शाहले चुनाव जितेपछि बराललाई सामाजिक सञ्जालबाट र प्रत्यक्ष भेटेर भिडिओ बनाउँदै किन कान नकाटेको भनेर जहीँतहीँ प्रश्न गर्न थालियो। कतिले उनको परिवारलाई समेत गालीगलौज गनरे।

यस्ता घटनाहरू राजनीतिक अभिव्यक्तिमा मात्र सीमित छैनन्। कोभिड–१९ को समयमा अभिनेत्री तथा निर्माता दीपाश्री निरौलाले महानायकको विषयमा दिएको एउटा अभिव्यक्तिले उनको वर्षौँ लामो करिअरमा नै ठूलो प्रभाव पारेको थियो। त्यो चोट उनले आजसम्म बिर्सन सकेकी छैनन्। 

‘अब म त्यो कुरा सम्झिन चाहन्नँ। हाम्रो समाजमा पितृसत्तात्मक सोच आज पनि छ, महिला जतिसुकै ठूलो पदमा पुगे पनि उसको कुरालाई सधैँ गलत भन्छन्, पोथी बास्यो भन्ने गर्छन्। त्यही कुरा लोग्ने मान्छेले गर्‍यो भने सहज लाग्छ। जबसम्म यो ब्रह्माण्डमा महिलाको विषयलाई लिएर मानिसहरू साक्षर हुँदैनन्, तबसम्म बोलेर कामै छैन,’ उनले नेपालखबरसँग भनिन्।
यही कारणले गर्दा पनि आफू अन्तर्वार्तामा नजाने उनको भनाइ छ।

दीपाश्री जस्तै एलिना चौहान, समीक्षा अधिकारी र पूजा शर्मा लगायतका कलाकारहरू पनि साइबर बुलिङको सिकार भएका छन्।

निर्वाचनको समयमा वा स्वतन्त्र विचार राख्दा यस्ता आक्रमण झन् बढ्ने गरेको डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल बताउँछन्। 

‘हामीकहाँ यसलाई सम्बोधन गर्ने कानुनको अपर्याप्तता पनि हो र साथै मानिसहरूले जे बोले पनि हुन्छ, जे गरे पनि हुने रहेछ भन्ने सोचेर यस्तो प्रवृत्ति बढेको हो,’ सिग्देलले नेपालखबरसँग भने।

आक्रमण गर्दा पनि निकै संयोजित रुपमा व्यक्तिका निजी, पुराना फोटो, अभिव्यक्ति बाहिर ल्याएर मिम बनाउने ट्रेन्ड देखिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा डिजिटल साक्षरता र शिष्टाचारको कमीले गर्दा यस्तो भइरहेको सिग्देलको ठहर छ।

‘जसरी हामी युवा पुस्तालाई अफलाइनमा के गर्ने र के नगर्ने भनेर बुझाउँछौँ, त्यसैगरी अनलाइनमा पनि बुझाउन आवश्यक छ। साइबर क्राइम गरेबापत खासै कोही दण्डित हुनु नपरेको देख्दा प्रयोगकर्तामा यस्तो आँट आउने गरेको छ,’ उनले थपे।

अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत मर्यादामाथि आक्रमण रोक्न कानुन मात्र बनाएर नपुग्ने रक्षा बमको धारणा छ। यसका लागि संगठित रुपमा सचेतना फैलाउने, अभिभावकले सही भूमिका खेल्ने र शिक्षकदेखि समाज र सरकारसम्मको डिजिटल साक्षरतामा काम गर्नुपर्ने उनाको भनाइ छ।

बम भन्छिन्, ‘हामीसँग डिजिटल माध्यम त हात–हातमा छ, तर डिजिटल साक्षरता भने एकदमै कम देखियो। त्यसैले सरकार र समाज दुवै तहबाट यसमा काम हुनुपर्छ।’

प्रविधिले सहज बनाएको यो लैङ्गिक हिंसालाई समाधान गर्ने स्पष्ट कानुन र त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा आज पनि धेरै महिलाहरू आफ्ना कुरा राख्न हिचकिचाउने, कमेन्ट अफ गर्ने वा एकाउन्ट नै बन्द गर्नुपर्ने बाध्यतामा छन्। कुनै महिलाको विचार आफूसँग मेल नखाँदैमा उसको चरित्र हत्या गर्ने र परिवारमाथि हिलो छ्याप्ने प्रवृत्तिले डिजिटल समाजलाई असुरक्षित बनाउँदै लगेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad