विराटनगरको सहिद रंगशालामा यही चैत २८ गते शनिबारदेखि ३८औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैत २८ देखि हुने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले आगामी गत चैत २८ देखि २०८३ वैशाख ५ गतेसम्म प्रतियोगिता हुने जनाएको हो।
प्रतियोगितामा नेपालका ७ र भारतको १ गरी कुल ८ वटा टोलीहरूको सहभागिता रहने निश्चित भएको आयोजकले जनाएको छ। जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र फुटबल क्लब, नेपाल एपीएफ क्लब, र चर्च ब्वाइज युनाइटेड काठमाडौँबाट सहभागी हुनेछन् भने स्थानीय टोलीका रूपमा सम्राट फुटबल क्लब विराटनगर र झापा-११ फुटबल क्लबले पनि प्रतिस्पर्धा गर्नेछन्।
भारतको झारखण्डस्थित अल झारखण्ड विर्शामुण्डा फुटबल एकेडेमीले समेत प्रतियोगितामा सहभागिता जनाउने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए।
करिब १ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यस प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद सहित शिल्ड प्राप्त गर्नेछन्। फ्लड लाइटको माध्यमबाट साँझ ६ बजेदेखि दिवा रात्रिकालीन रूपमा सञ्चालन हुने खेलहरूलाई भव्य बनाउन तयारी तीव्र पारिएको छ।
यस वर्ष ट्रष्ट आफैले आयोजना गर्न लागेको यस प्रतियोगिताको मुख्य प्रायोजक नोबेल मेडिकल कलेज रहेको छ, जसले प्रतियोगिता सम्पन्न गर्न ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ।
यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष एवं ट्रष्टी राजेन्द्र राउतले प्रतियोगिता सञ्चालनका क्रममा आर्थिक घाटा भएमा केही प्रतिशत रकम आफूले बेहोर्ने प्रतिबद्धता जनाए।
विसं २०१८ सालदेखि तत्कालीन महेन्द्र गोल्डकपको नामबाट सुरु भएको यस प्रतियोगितामा पहिलोपटक जिल्ला लिग विजेताले सहभागिता जनाउने भएको छ । अध्यक्ष शाहीले गोल्डकपमा पहिलोपटक स्थानीय क्लबका रुपमा सम्राटलाई अवसर दिइएको बताए।
यसअघि, गोल्डकपमा आयोजकले नै टोली बनाउँदै आएको उल्लेख गर्दै शाहीले भने, ‘यसपटक भने फुटबल खेल्दै आएको व्यावसायिक क्लबलाई स्थान दिनु उत्तम हुने बुझेका छौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजदेखि भारतको अल झारखण्ड विर्षा मुन्डा फुटबल एकेडेमीसम्मको सहभागिता हुनेछ।’
हालसम्म गोल्डकपका लागि आवश्यक तयारी पूरा भइसकेको बताउँदै उनले रंगशाला क्षेत्रमा ब्यानर र होर्डिङ बोर्डलगायत व्यवस्थापनसँग सम्बन्धित केही काम भइरहेको प्रष्टाए। गोल्डकपका लागि मैदानदेखि फ्लड लाइट्ससम्मको मर्मत गर्नुपर्ने बताउँदै ट्रष्टका महासचिव विनेश बस्नेतले फ्लड लाइट्स सञ्चालन गर्नका लागि प्रयोग हुने जेनेरेटर समेत बिग्रिएको उल्लेख गरे।
उक्त जेनेरेटर कोशी प्रदेश खेलकुद विकास बोर्ड मातहत रहेको छ। महासचिव बस्नेतका अनुसार, हाल फ्लड लाइट्स प्रयोग गरेबापत बोर्डलाई दैनिक ५ हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ।

प्रतिक्रिया