नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी पुनः सशक्त रूपमा ‘पुनर्जीवित’ हुने विश्वास व्यक्त गरेका छन्। मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित पार्टीको चुनावी समीक्षा कार्यक्रममा थापाले पार्टी नयाँ ऊर्जा र रणनीतिका साथ फर्किने बताए।
‘कांग्रेस रिभाइभ हुन्छ भन्नेमा मलाई पूर्ण विश्वास छ। पुराना साथीहरूको अनुभव र नयाँ साथीहरूको ऊर्जा लिएर ७७ वटै जिल्लामा पुग्छु,’ उनले भने, ‘म कांग्रेसको कार्यकर्ता हुँ। एउटा चुनावको जय पराजयबाट आत्तिने होइन। हामीले धेरै कुरा सुन्नुपर्ने छ। नयाँ कुरा सिक्नुपर्ने छ।’
केही दिनमा आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा पनि आउने थापाले बताए।
‘मेरो धेरै कुरा छैन। म सुन्न मात्र आएको हुँ। हामीले केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य साथीहरूको कुरा सुन्यौँ। पार्टी कार्यालयमा २०–२५ वर्षका साथीहरू पनि निर्वाचनको समीक्षा र भविष्यमा नेपाली कांग्रेस कता जाँदैछ भनेर चिन्तन गरिाख्नु भएको छ। यसैगरी हामी सातै प्रदेशमा पार्टीका साथीहरूको कुरा सुन्छौँ,’ उनले भने, ‘नयाँ युवा र पार्टी बाहिरका साथीहरूको पनि कुरा सुन्नुपर्ने छ।’
केन्द्रीय समिति बैठकले निर्णय गरेर विश्वविद्यालयमा पढ्दै गरेको, पेसा व्यवसाय गर्दै गरेको पार्टीभित्र र बाहिर गरेका विभिन्न जातजातिका सबैसँग अन्तिक्र्रिया गर्ने उनको भनाइ छ। ‘पार्टी निर्वाचनमा कसरी हार्यो भन्ने मात्र होइन, अब पार्टीको आगामी यात्राबारे पनि प्रतिवेदन बनाएर पेस गर्न पार्टीले मलाई नै जिम्मेवारी दिएको छ,’ सभापति थापाले भने,‘अहिले म त्यो काममा लागेको छु।’
२०७९ सालको निर्वाचनमा पाएको मतबाट गत फागुन २१ मा सम्पन्न निर्वाचनमा १० लाख गुमाउनुको उत्तर खोज्नुपर्ने थापाको भनाइ छ।
‘२०७९ को निर्वाचनमा कांग्रेसले २७ लाख मत पाएको थियो। हामीले यसपटक ती मतदाता जोगाउन सकेनौँ। करिब १० लाख मतदाताले हामीलाई मत हाल्नु भएन। उहाँहरूले हामीलाई मत किन हाल्नु भएन भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ,’ उनले भने।
कांग्रेसको क्रियाशील सदस्यता र भ्रातृ संस्था व्यवस्थित नभएरभन्दा पनि केन्द्रीय सन्देश पठाउन सक्दा चुनावमा हारिएको बताए।
‘आजका दिनमा सबैभन्दा व्यवस्थित पार्टी एमाले छ। एमालेको सांगठनिक पक्ष सबै राम्रो हुँदा पनि पर्फमेन्स त हाम्रो भन्दा तल भयो। चुनाव हार्नुमा पार्टीको आन्तरिक विषयभन्दा कोर कुरा सन्देश हो जस्तो लाग्छ। हामीले केन्द्रीय सन्देश पठाउन सकेनौँ,’ उनले भने।
एमाले–माओवादीसँगको प्रतिस्पर्धाको अध्याय सकियो
प्रचारको नयाँ शैली आएपछि नेतृत्व, पार्टी र कार्यकर्ताको परिभाषा परिवर्तन भएको उनको भनाइ छ।
‘यो अवस्थामा कांग्रेस कसरी जान्छ? हिजो माओवादी आएर विभिन्न जातीय संगठन बनायो। हामीले पनि जातीय संगठन बनायौँ। हिजो एमालेसँग प्रतिस्पर्धा गर्दा एमालेले विभिन्न पेसागत संघ–संगठन बनायो। हामीले पनि त्यही गर्यौँ। एमाले र माओवादीसँगको प्रतिस्पर्धाको एउटा अध्याय सकियो,’ थापाले भने।
नयाँ पार्टीसँगको प्रतिस्पर्धाका लागि कांग्रेसलाई पुनर्जीवित गर्नुपर्ने थापाले बताए।
‘हाम्रा के कुरा काम लाग्छन्, के कुरा काम लाग्दैनन्, छुट्याउनुपर्छ। विगतबाट प्रेरणा र सन्दर्भ लिऊँ र अगाडि बढौँ,’ उनले भने।
क्रियाशील सदस्यता खारेज
सभापति थापाले कांग्रेसको क्रियाशील सदस्यता खारेज भएको बताए।
‘कांग्रेसको केन्द्रीय समिति बैठकबाट कांग्रेसको क्रियाशील सदस्यता खारेज गरेका छौँ। अहिले क्रियाशील सदस्यता छैन। पार्टीका पदाधिकारीदेखि प्रदेश सभापति सबैले आवेदन दिएर क्रियाशील सदस्यता अद्यावधि गर्नुहोला,’ उनले भने।
आगामी वैशाख १ गतेबाट क्रियाशील सदस्यता अद्यावधिक गरिने भन्दै आफूले पनि वडामा गएर आवेदन दिने थापाले बताए।
‘काठमाडौँ महानगरपालिकाको ३० नम्बर वडामा गएर नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिका लागि आवेदन दिन्छु,’ उनले भने, ‘आवेदन दिसकेपछि त्यहाँको वडाले प्रक्रिया पुर्याएर मेरो क्रियाशील सदस्यता अद्यावधिक हुन्छ।’
यसरी अद्यावधिक गर्दा कांग्रेसको पुरानो १० लाख क्रियाशील सदस्यता २ लाखमा झरे पनि फरक नपर्ने उनले बताए।
‘हामीले क्रियाशील सदस्यताको भारी बोकेर पार्टीको यत्रो संरचनाको अर्थ छैन। क्रियाशील सदस्यता अद्यावधिक गरेर पार्टीमा शुद्धीकरण सुरु गर्नुपर्छ,’ थापा भन्छन्।
पार्टीमा बृहत्तर एकताका लागि सभापतिको हैसियतले आफ्नो ठूलो जिम्मेवारी रहेको भन्दै उनले पार्टीलाई एकताबद्ध बनाएर १५ औँ महाधिवेशन गर्ने बताए।
‘पार्टीलाई चुस्त दुरुस्त बनाउछौँ। पार्टीबाहिर रहेको ठूलो जमातलाई पार्टीभित्र ल्याएर जोड्ने काम सबै मिलेर गर्नुपर्ने छ,’ उनले भने।
प्रतिनिधिसभा निर्वाचनबाट प्रतिपक्षमा पुगे पनि कांग्रेसले प्रतिज्ञापत्रमा भनेका कुरा प्रदेश र स्थानीय सरकारबाट पुरा गर्ने थापाको भनाइ छ।
‘हामी सबै फेरि यसरी नै प्रदेश, स्थानीय सरकार र शासकीय सुधारका विषयमा पनि कुराकानी गर्ने छौँ। कांग्रेसको प्रतिज्ञापत्रमा भनेका कुरा प्रदेश र स्थानीय सरकारबाट पूरा गर्छौँ। मैले सर्लाही ४ मा चुनाव लड्दा हारे पनि मधेस बुझ्ने मौका पाएको छु। हिजो कांग्रेसलाई मधेसले नै उठाएको हो। भोलि पनि उठाउँछ,’ उनले भने।
प्रदेश र स्थानीय सरकारबारे उपसभापति विश्वप्रकाश शर्मा र संविधान संशोधनको परामर्शका लागि उपसभापति पुष्पा भुसाल नेतृत्वको समितिले काम गरिरहेको थापाको भनाइ छ।
Shares

प्रतिक्रिया