खेल


आईपीएलमा तहल्का मच्चाउँदै १५ वर्षे वैभव : स्कुल जाने उमेरमा छक्का र चौका

आईपीएलमा तहल्का मच्चाउँदै १५ वर्षे वैभव : स्कुल जाने उमेरमा छक्का र चौका

वैभव सूर्यवंशी


एजेन्सी
चैत १७, २०८२ मंगलबार १९:२१, काठमाडौँ

१५ वर्षको उमेरमा धेरै किशोरहरू स्कुलको गृहकार्य र परीक्षाको चिन्तामा हुन्छन्। तर, भारतका वैभव सूर्यवंशी भने विश्वकै महँगो र प्रतिष्ठित क्रिकेट लिग आईपीएलमा विश्वका नामुद बलरहरूको सातो उडाइरहेका छन्।

मार्च २७ मा आफ्नो १५ औँ जन्मदिन मनाएका वैभवले त्यसको तीन दिनपछि नै गुवाहाटीको मैदानमा चेन्नई सुपर किंग्स (सीएसके) विरुद्ध जुन प्रदर्शन गरे, त्यसले क्रिकेट पण्डितहरूलाई फेरि एकपटक स्तब्ध बनाएको छ। चेन्नईका ब्याटरहरू रन बनाउन संघर्ष गरिरहेको र १२७ रनमा अलआउट भएको त्यही पिचमा वैभवले मात्र १५ बलमा अर्धशतक प्रहार गरे।

राजस्थान रोयल्सका लागि ओपनिङ गर्न आएका वैभवले १७ बलमा ५२ रनको इनिङ्स खेले, जसमा ४ चौका र ५ छक्का सामेल थिए। उनलाई अर्को एन्डबाट यशस्वी जायसवालले पूर्ण साथ दिएका थिए। 'जायसवाल भाइले मलाई हरेक बलपछि 'सिंगल लेउ' भन्नुभएन, बरु ब्याटमा बल आएको छ भने 'हिर्काऊ' भनिरहे,' वैभवले खेलपछि सुनाए।

उनको यो आत्मविश्वासका पछाडि कप्तान रियान परागको ठूलो योगदान छ। परागले उनलाई सिजनका सबै १४ खेल खेल्न पाउने ग्यारेन्टी दिँदै मिडियाको चर्चाबाट टाढा रहेर आफ्नो 'नेचुरल गेम' खेल्न छुट दिएका थिए।

वैभवले अघिल्लो सिजन (२०२५) मा १४ वर्षकै उमेरमा डेब्यु गर्दै ३५ बलमा शतक प्रहार गरेर सनसनी मच्चाएका थिए। उनले यो सिजन पनि त्यही लयलाई निरन्तरता दिएका छन्। पहिलो बलमै जीवनदान पाएका उनले त्यसको भरपूर फाइदा उठाए। उनको विष्फोटक ब्याटिङकै मद्दतले राजस्थानले १२८ रनको लक्ष्य मात्र १२.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

वैभवको यो पारी देखेपछि पूर्व क्रिकेटर मोहम्मद कैफले सामाजिक सञ्जालमा लेखेका छन्, 'गत वर्ष मलाई लागेको थियो वैभवलाई अलि चाँडै 'हाइप' दिइयो, तर अहिले मलाई लाग्छ यो १५ वर्षको केटो अर्को लेभलमा पुग्न तयार छ।' त्यस्तै हर्षा भोगलेले उनलाई 'भीड तान्ने खेलाडी' को संज्ञा दिएका छन् भने इरफान पठानले यति कम उमेरमा यस्तो प्रतिभा कहिल्यै नदेखेको बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad