राजनीति


प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख-उपसभामुखको निर्वाचन कार्यसूची पेस

बैठक सञ्चालन नियमावली
प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख-उपसभामुखको निर्वाचन कार्यसूची पेस

नेपालखबर
चैत १७, २०८२ मंगलबार १९:३९, काठमाडौँ

प्रतिनिधि सभाको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका तीन अध्यादेश पेस गर्नेसहित संघीय संसद सचिवालयले सम्भावित कार्यसूची पहिचान गरेको छ। 

निर्वाचनपछि बस्न लागेको सभाको पहिलो बैठकका लागि सचिवालयले कार्यसूची पहिचान गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले बताएका हुन्।

संसद सचिवालयले यिनै एजेण्डामाथि छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ। संसदको अधिवेशन शुरु हुनुअघि बुधबार संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूको सहभागितामा सर्वदलीय बैठक आह्वान गरिएको सहसचिव गिरीले बताए।

अधिवेशन आह्वान भइसकेपछि सामान्यतः कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रचलन भएपनि हाल उक्त समिति नभएको अवस्थामा सर्वदलीय बैठक बोलाइएको हो।

उनकाअनुसार सर्वदलीय बैठकले अधिवेशनको सभाको पहिलो बैठक सञ्चालन, प्रारम्भिक एजेण्डा चयन तथा कार्यतालिका व्यवस्थापनका विषयमा सहमति जुटाउनेछ। सभाको पहिलो बैठकले संसद नियमावली समेत तय गर्नेगरी कार्यसूची तय गरिएको उनको भनाइ छ।

उनले संसदको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्यादेश पेश गर्ने र संसदका प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गर्नेसहितको कार्यसूची पहिचान भइसकेको छ।

साथै सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने विषय समेत प्राथमिकतामा रहने उनले बताए। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखको निर्वाचन पहिलो बैठक बसेको १५ दिनभित्र सम्पन्न गर्नुपर्ने हुन्छ। 

प्रवक्ता गिरीले भने, ‘संसद सचिवालयले संसदको पहिलो बैठकको कार्यसूची के के हुनसक्छन् भनेर पहिले नै पहिचान गरिसकेको हुन्छ। कतिपय कार्यसूची संसदको दोस्रो वा तेस्रो बैठकमा लैजानुपर्छ भने केही कार्यसूचीहरू पहिलो बैठकमा नै लैजानुपर्छ। जस्तैः अध्यादेशहरू पेश गर्ने, सभामुख र उपसभामुखको निर्वाचन पनि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ। त्यसबाहेक अहिलेकै निवयमावलीअनुसार अगाडि बढ्ने वा नयाँ नियमावली बनाउने भन्ने विषयमा पनि छलफल गर्न उपयुक्त हुन्छ।’

उनले सभा सञ्चालनको लागि सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको बहुउद्देश्यीय हल पूर्ण नभएको समेत बताए। सभा हेर्न आउने दर्शक, सञ्चारकर्मी लगायत लागि सहभागी गराउने अवस्था समेत नरहेको बताए। प्रतिनिधि सभा नियमावली पारित भएसँगै परामर्श समिति र विषयगत समिति गठनको बाटो खुल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad