आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस। महिला जागरुकतालाई लिएर मनाइने यो दिवसलाई महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनका रुपमा सम्झिने गरिन्छ।
महिला अधिकारको संघर्षको दिनलाई प्रतिविम्वित गर्ने यो दिन सरकारले सार्वजनिक विदा दिँदै आएको छ। पछिल्लो समय महिलाहरु घर र व्यवसाय हरेक क्षेत्रमा सक्षम छन् भनेर आजको दिनलाई विशेष सम्झिने गरिन्छ।
महिलाहरुले हरेक क्षेत्रबाट आफुलाई समाजमा स्थापित गर्दै अन्तर्राष्ट्रियस्तरसम्म आफूलाई चिनाइरहेका छन्। यसबाट नेपाली खेलकुद क्षेत्र अछूतो रहने कुरै भएन।
नेपाली खेलकुदमा नतिजाको हिसाबले हेर्ने हो भने पुरुष खेलाडीको तुलनामा महिला खेलाडीहरु अग्रस्थानमा आउँछन्। खेलकुदको माध्यमबाट महिला खेलाडीहरुले आफुलाई मात्र हैन देशलाई नै अन्तर्राष्ट्रियस्तरसम्म चिनाइरहेका छन्। आजको दिन नेपाली खेलकुदका केही महिला खेलाडीको चर्चा गरौँ।
सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
एथलेटिक्सकी सन्तोषी श्रेष्ठ नेपाली खेलकुदमा ‘गोल्डेन गर्ल’को नामले परिचित छिन्। लामो दुरीको दौडमा सहभागिता जनाइरहने सन्तोषीले घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।
त्यसपछि उनी गोल्डेन गर्न परिचित भइन्। साग इतिहासमा एथलेटिक्सतर्फ नेपाललाई स्वर्ण दिलाउने सन्तोषी पहिलो खेलाडी हुन्।
पेरिस ओलम्पिक २०२४ को महिला म्याराथनमा सन्तोषीले सहभागिता जनाउँदा नेपालको प्रतिनिधित्व २८ वर्षपछि भएको थियो। त्यसअघि सन् १९८८ मा राजकुमारी पाण्डे र मेनुका रावत तथा १९९६ मा विमला राना मगरले ओलम्पिकमा भाग लिएका थिए। त्यसयता महिला म्याराथनमा नेपालको प्रतिनिधित्व शून्य थियो।
२०२४ मा नै सन्तोषीले बंगलादेशमा भएको बंगबन्धु म्याराथनमा स्वर्णपदक जितिन्।
कीर्तिमानहरुकै चाङमा सन्तोषीले भ्यालेन्सिया म्याराथन २०२५ मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्। २१.१९५ कीमी दुरी सन्तोषीले २ घण्टा ४० मिनेट २३ सेकेण्डमा पार गर्दै आफ्नै कीर्तिमान तोडिन्।
गत असोजमा दिल्ली हाफ म्याराथनमा उनले राष्ट्रिय कीर्तिमान बनाइन्। कात्तिकमा भारतमा भएको दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा पनि ५ हजार र १० हजार मिटर दौडमा २ कांस्य पदक जित्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
नेपाली एथलेटिक्सकी कीर्तिमानी धाविका सन्तोषीले घरेलु मैदानमा भाग लिएको सबै जसो प्रतियोगितामा स्वर्ण पदक आफ्नो नाममा गर्छिन्।
विभागीय दबदबालाई तोड्दै घरेलु मैदानमा सन्तोषीले एकक्षत्र राज गरिरहेकी छिन्।
एरिका गुरुङ (कराते)
कराते स्टार एरिका गुरुङले छोटो समयमा नै आफुलाई नेपाली खेलकुदमा मात्र हैन अन्तराष्ट्रियस्तरमा स्थापित गरिन्। समयका हिसाबले हेर्ने हो भने यो अवधि छोटो ेदखिएपनि एरिकाले गर्ने मेहनतको भने अहिलेसम्म कुनै हिसाब हुनसकेको छैन।
रिङबाहिर एरिका जति शान्त देखिन्छिन् त्यो भन्दा फरक स्वभाव उनको रिङ भित्र उनी हुन्छिन्। जितको हुटहुटीमा उनी अझैपनि कडा मेहनत गरिरहेकी हुन्छिन्। काठमाडौको मनमैजु डोजोबाट सुरु भएको उनको कराते यात्रा अहिले अन्तराष्ट्रियस्तरमा पदकसम्म पुगेको छ।
सन् २०२३ मा चिनमा भएको १९ औँ एसियाली खेलकुदमा ६८ केजी माथिको तौल समुहमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्दै उनले सनसनी मच्चाइन्। एसियाली खेलकुदमा करातेले जितेको त्यो ऐतिहासिक र पहिलो रजत पदक थियो।
करातेका लागि मात्र हैन एसियाली खेलकुदमा नेपालले २५ वर्षपछि रजत पदक जितेको थियो।
२०२३ मा नै इन्डोनेसियामा भएको १०औँ सितारियो एसियन कराते च्याम्पियनसिपमा उनले स्वर्ण पदक जितेकी थिइन्।
एरिकाले भुटानमा सम्पन्न आठौँ दक्षिण एसियाली करोत च्याम्पियनसिपमा २ स्वर्ण, अष्टे«लियन ओपन २०२४ मा स्वर्ण, चिनमा भएको २० औँ एएकेएफ सिनियर कराते च्याम्पियनसिपमा २ रजत पदक जितेकी थिइन्।
यस्तै सिंगापुरमा भएको १६ औँ एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्ण, दुबईमा भएको वल्र्ड कराते वान लिगमा रजत पदक जितेकी थिइन्।
थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा दुई स्वर्ण, नवौँ एसकेएएफ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा दोहोरो स्वर्ण। २०२५ मा टर्कीको स्तानबुलमा भएको डब्लुकेएफ करोत वान प्रिमियर लिगमा ६८ केजी माथिको तौल समुहमा रजत पदक जितेकी थिइन्। २०२५ मोरक्कोमा भएको कराते वान प्रिमियर लिगमा कास्य पदक र मलेसियामा कराते वान सिरिज ‘ए’मा स्वर्ण पदक जितेकी थिइन्।
पलेशा गोवर्धन (पारा तेक्वान्दो)
विशेष क्षमता भएका व्यक्ती खास हुन्छन् भन्ने कुराको ज्वल्त उदाहरण हुन्, पारा तेक्वान्दोकी पलेसा गोवर्धन।
सा् १९६४ टोकियो अोलम्पिकबाट नेपालको ओलम्पिक यात्रा सुरु भएको थियो। त्यसको ६ दशकमा नेपाललाई ओलम्पिकमा पहिलो पदक दिलाउने खेलाडी हुन्, पलेशा।
उनले २०२४ को पेरिस पारा ओलम्पिकमा उनले नेपाललाई पहिलो कास्य पदक दिलाएकी थिइन्। पलेशाले ५७ केजी तौल समूहको के ४४ क्याटोगोरीमा नेपाललाई कास्य पदक दिलाउँदै इतिहास रचेकी थिइन्। यो नेपालको इतिहासमा ओलम्पिक र पारा ओलम्पिकमा पहिलो पदक थियो।
उनले १० औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी४ ) मा कास्य पदक जितेकी थिइन्। पलेशाले युथ एसियन गेम र एसियाली पारा ओलम्पिक्समा स्वर्ण जितिसकेकी छिन्। पेरिस पारा ओलम्पिक्स, एसियन गेम र एसियन च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन्।
सावित्रा भण्डारी (फुटबल)
दक्षिण एसियाकै उत्कृष्ट फरवार्डको परिचय बनाएकी सावित्रा भण्डारी (साम्बा) गोल मेसिन नामले परिचित छिन्।
नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान समेत रहेकी साम्बा नेपालबाट युरोपियन लिग खेल्ने पहिलो महिला खेलाडी हुन्। सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी साम्बाले सन् २०१८ बाट व्यवसायिक विदेशी लिग खेल्न थालेकी हुन्।
भारतिय महिला लिगको पहिलो सहभागितामा नै साम्बाले सेथु एफसीलाई च्याम्पियन बनाएकी थिइन्। त्यसपछि गोकुलम केरला एफस्ी पुगेकी साम्बाले त्यहाँ पनि सनसनी मच्चाउँदै कीर्तिमानी प्रर्दशन गर्दै टोलीलाई च्याम्पियन बनाइन्।
सन् २०२३ मा इजरायलको हापोएल रानानाबाट साम्बाले युरोपियन लिगमा उडान भरेकी हुन्। इजरायलपछि साम्बाले फ्रान्सको एन अभान्टा गुएनग्याम्पमा आबद्ध भइन्। पछिल्लो समय न्यु जिल्यान्डको वेलिङटन फोनिक्समा आवद्ध साम्बा अहिले घुडाँको चोटको कारण मैदान बाहिर छिन्।
नेपालका लागि सर्वाधिक गोलकर्ता साम्बा घरेलु मैदानमा भने एपीएफ फुटबल क्लबमा आवद्ध छिन्। साम्बाले नेपालका लागि ६५ गोल गरिसकेकी छिन्।
मनिषा उपाध्याय (क्रिकेट)
युवा स्पिनर मनिषा उपाध्याय नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य हुन्।
वि.सं.२०७६ मा गण्डकी प्रदेशबाट प्रधानमन्त्री कप खेलेकी मनिषाले माथिल्लो तहको क्रिकेटमा पाइला राखेकी हुन्। नेपालको उमेर समूहमा उत्कृष्ट प्रर्दशन गरेकी मनिषाले सिनियर टोलीमा पनि आफ्नो लयलाई कायम राखेकी छिन्।
सन् २०२५ मा घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित त्रिकोणात्मक सिरिजमार्फत टी–२० आई सिरिजमा डेब्यु गरेकी थिइन्। डेब्यु सिरिजमा उनले सात विकेट लिएकी थिइन्।
टी–२० आईमा ९ खेलको आठ इनिङ्समा उनले १६ विकेट आफ्नो नाममा गरेकी छिन्।
थाइल्यान्डको बैककमा भएको आइसीसी महिला टी२० विश्वकप एसिया क्षेत्र छनोटमा मनिषाले युएईविरुद्ध चार विकेट लिएकी थिइन्।
घरेलु मैदानमा भएको ग्लोबल छनोटमा मनिषाले स्कटल्यान्डविरुद्ध चार विकेट नै आफ्नो नाममा गरेकी थिइन्।
Shares

प्रतिक्रिया