आईसीसी टी-२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट २ करोडभन्दा बढी रकम पाउने भएको छ।
विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डमाथि जित निकाल्दा नेपालले पाउने रकम ४५ लाख १० हजार ४ सय ७३ रुपैयाँ बृद्धि भएको हो। विश्वकपमा सहभागी भएबापत हरेक टोलीले १ करोड ६२ लाख ७ हजार ७ सय ३ रुपैयाँ ७५ पैसा पाउने व्यवस्था छ। नेपालले थप रकम स्कटल्यान्डसँगको खेल जित्दा पाउने भएको हो।
समूह चरणमा नेपालले चार खेल खेलेको थियो। तीन खेलमा हार भोगेको नेपालले अन्तिम खेलमा जित निकाल्यो। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसीबाट कुल १ लाख ४३ हजार ६५४ अमेरिकी डलर (सोमबारको विनिमय दर अनुसार २ करोड ७ लाख ९८ हजार २ सय ११ रुपैयाँ ७५ पैसा) पाउने निश्चित भएको छ।
आईसीसीले विश्वकपमा सहभागी टोलीलाई १ लाख १२ हजर ५०० अमेरिकी डलर दिनेछ। प्रत्येक खेल जितेमा ३१ हजार १५४ अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। सुपर-८ मा पुग्ने टोलीले २ लाख ७० हजार अमेरिकी डलर पाउनेछन्।
सेमिफाइनलमा पुग्ने टोलीले ६ लाख ७५ हजार अमेरिकी डलर पाउनेछन्। विश्वकपको उपविजेताले ११ लाख ७० हजार अमेरिकी डलर र विश्वकप विजेताले २३ लाख ४० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
नेपालले लगातार दोस्रो पटक रोहित पौडेलको कप्तानीमा विश्वकप खेलेको हो। नेपालले खेलेका तीनै विश्वकप खेल्ने कीर्तिमान सोमपाल कामीले बनाएका छन्। नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। त्यसमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो। नेपाल र बंगलादेशको समान ४ अंक भए पनि नेट रन रेटमा अघि रहँदै बंगलादेश अर्को चरणमा प्रवेश गर्दा नेपालको विश्वकप यात्रा समूह चरणमा नै सिमित बनेको थियो।
त्यसपछि नेपाललाई विश्वकप खेल्न १० वर्ष लाग्यो। नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप खेलेको थियो। त्यसमा पनि नेपाल जितविहीन रहँदै समूह चरणमा नै सिमित बनेको थियो।
यस पटक सुरुवाती तीन खेलमा हार भोगेको नेपालले अन्तिम खेलमा भने जित हात पारेको थियो।
समूह ‘सी’ मा रहेको नेपाली टोली पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। समूह चरणको दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको थियो भने तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डमाथि भने ७ विकेटको जित निकालेको थियो।
नेपालले विश्वकपका सबै खेल मुम्बइको वानखेडे स्टेडियममा खेलेको थियो। सुरुवाती तीन खेलमा टस हारेको नेपालले खेल पनि गुमाएको थियो। अन्तिम खेलमा नेपालले टस जितेसँगै खेल पनि आफ्नो पक्षमा पारेको थियो।
समूह चरणको अन्तिम खेलमा जित निकालेर स्वदेश फर्किएको टोलीका खेलाडी अहिले काठमाडौँमा जारी जय ट्रफीमा व्यस्त छन्। यसपछि नेपाली टोली घरेलु मैदानमा नै हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान र यूएई सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ। त्रिकोणात्मक सिरिज यही फागुन अन्तिम साता सुरु हुनेछ।
समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको नेपाली टोलीले टी-२० विश्वकपमा १२ वर्षपछि पहिलो जित दर्ता गरेको हो। विश्वकपमा नेपाली टोलीले गरेको प्रर्दशनको अहिले पनि चर्चा भइरहेको छ।
Shares

प्रतिक्रिया