राजनीति


गोकर्णेश्वरमा विद्यार्थीमाथि एमाले कार्यकर्ताको कुटपिट: ‘घण्टी’ बजाएको निहुँमा पसलभित्र लुक्दा पनि छोडेनन्

गोकर्णेश्वरमा विद्यार्थीमाथि एमाले कार्यकर्ताको कुटपिट: ‘घण्टी’ बजाएको निहुँमा पसलभित्र लुक्दा पनि छोडेनन्

भिडियोमा विद्यालय पोशाक लगाएका एक विद्यार्थी भाग्दै पसलभित्र लुक्न गएको देखिन्छ। भडियोबाट प्रिन्ट स्क्रिन गरेको इमेज।


नेपालखबर
फागुन ११, २०८२ सोमबार १८:३५, काठमाडौँ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८, अत्तरखेलमा नेकपा (एमाले) का कार्यकर्ताले विद्यालय पोसाकमै रहेका विद्यार्थीमाथि कुटपिट गरेका छन्। सोमबार दिउँसो स्थानीय ‘केक कर्नर एज्ड बेकरी’ मा बसिरहेका विद्यार्थीमाथि राजनीतिक र्‍यालीमा सहभागी समूहले साङ्घातिक आक्रमण गरेको हो।

निर्वाचनको माहोल तातिरहेका बेला राजनीतिक दलका कार्यकर्ताहरू विद्यालय जाने उमेरका बालबालिकामाथि नै जाइलागेपछि स्थानीयस्तरमा सुरक्षा र नैतिकताको प्रश्न उठेको छ। पछिल्लो समय राजनीतिक दलहरूले गर्ने प्रदर्शनमा असहिष्णुता बढ्दै जाँदा यस्ता घटनाहरू दोहोरिन थालेका छन्।

सोमबार सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडिओमा एमालेको झन्डा बोकेका कार्यकर्ताको समूह पसलभित्रै पसेर विद्यार्थीलाई लखेट्दै कुटपिट गरिरहेको देखिन्छ। प्रत्यक्षदर्शीका अनुसार नजिकैको ‘इस्ट पोल स्कुल’ मा कक्षा १० मा अध्ययनरत ५-६ जना विद्यार्थी पसलमा बसिरहेका बेला बाटोबाट गइरहेको एमालेको र्‍यालीलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न ‘घण्टी’ सँग मिल्दो आवाज निकालेर जिस्क्याएपछि विवाद सुरु भएको थियो।

एक स्थानीयका अनुसार विद्यार्थीले जिस्क्याउन खोज्दा र्‍यालीमा रहेका कार्यकर्ता अचानक आक्रामक बनेका थिए। ती स्थानीयले भने, ‘विद्यार्थीहरूले घण्टी बजाएपछि र्‍यालीमा रहेका कार्यकर्ताहरू रिसाए र पसलभित्रै पसेर विद्यार्थीमाथि हातपात गरे। उनीहरूले विद्यार्थीलाई २-४ झापड हानेका थिए।’

विद्यालयको पोसाकमै रहेका नाबालकमाथि दलीय कार्यकर्ताले देखाएको यो व्यवहारको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ। प्रत्यक्षदर्शीले थपे, ‘उनीहरू ५-६ जनाको समूहमा चिया खाँदै थिए। एक्कासि एमालेको र्‍यालीबाट हुल आयो र भित्र पसेर कुटपिट गर्न थाले।’

विद्यार्थीहरू भेनस पब्लिक स्कुलका हुन्। भिडिओमा उनीहरू विद्यालय पोशाकमै देखिन्छन्।  

घटनाको गम्भीरतालाई हेर्दै प्रहरीले यसबारे सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले भिडिओ सार्वजनिक भएपछि प्रहरीले सत्यतथ्य बुझ्ने काम गरिरहेको जानकारी दिए।

एसपी भट्टराईले भने, ‘गोकर्णेश्वरको घण्टी वाला भिडिओ सामाजिक सञ्जालमा आएको मेरो जानकारीमा छ। तर, घटनाको यथार्थ विवरण र कस्तो परिवेशमा यो भएको हो भन्नेबारे हामी भेरिफाई गर्दै छौँ। अहिलेसम्म आधिकारिक रूपमा यस्तै भएको हो भनेर भन्न सक्ने स्थिति छैन, अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad