अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दीपक खतिवडाले अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईले बहुमतका आधारमा विधान विपरित काम गरेको आरोप लगाएका छन्।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उपाध्यक्ष खतिवडाले ‘अर्ली इलेक्सन’का नाममा विधान विपरित काम गरेको बताएका छन्। ‘एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईले बहुमतको दम्भमा फुटबल विकासको आवरणमा विधान विपरीतका गतिविधि र चरण्म बेथितिहरूलाई प्रश्रय दिँदै आउनुभएको छ,’ उपाध्यक्ष खतिवडाले पत्रकार सम्मेलनमा भने।
उनले पत्रकार सम्मेलनमार्फत अध्यक्ष नेम्वाङ र महासचिव राईलाई चार वटा आरोप लगाएका छन्। पहिलो, उनीहरूले विधान र निर्वाचन निर्देशिका विपरीतको ‘अर्ली इलेक्सन’ गर्न खोजेको जिकिर गरेका छन्।
दोस्रो, साधारणसभाको निर्णय उल्लंघन गरेको उनले आरोप लगाएका छन्। २०८१ वैशाख २६ मा धुलिखेलमा सम्पन्न नियमित साधारण सभाले आगामी कार्यकाल (२०८३-२०८७) का लागि सदस्य संस्थाहरूको निर्वाचन प्रक्रिया पूरा गरेर मात्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको उनले उल्लेख गरे।
तेस्रो, अदालत, राखेपको निर्देशिकाको अवज्ञा गरेको उनले बताए। जसले गर्दा फिफाले प्रतिबन्ध लगाउने सम्भावना बढेको उनको भनाइ थियो।
चौथो, अध्यक्ष नेम्वाङ र महासचिव राईले निर्वाचित पदाधिकारीको आवाज दबाउन खोजेको पनि उनले आरोप लगाएका छन्। ‘मेरो सुझाव र आवाजलार्य बहुमतको आधारमा दबाउने काम भइरहेको छ,’ खतिवडाले भने, ‘एन्फामा अहिले नीति र विधिभन्दा पनि व्यक्तिको स्वेच्छाचारिता दाबी भएको छ।’
उनले आफू निर्वाचनको विपक्षमा नभएको बताए। जिल्लाबाटै निर्वाचन सकेर मात्रै केन्द्रको चुनाव गर्नुपर्ने उनको भनाइ छ। अहिले पनि आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको उल्लेख गर्दै उम्मेदवारी फिर्ता लिन पनि तयार रहेको बताए।
Shares

प्रतिक्रिया