खेल


राष्ट्रिय भलिबलमा तहल्का मच्चाउने खेलाडी उत्पादन गरिरहेको न्यु डायमन्ड (भिडिओ)


लक्ष्मी जि.सी
माघ १५ , काठमाडौँ

ओखलढुंगाकी सन्ध्या सुनुवार ११ वर्षकी भइन्। उनी गत साउनदेखि न्यु डायमन्ड स्पोर्ट्स युथ क्लबमा आएर नियमित प्रशिक्षण गरिरहेकी छिन्।भविष्यमा उत्कृष्ट सेटर बन्ने सन्ध्याको लक्ष्य छ।

ओखलढुंगाकै अनुष्का कार्कीले पनि डायमन्डमै आएर भलिबल खेल्न थालेकी हुन्। उनका बुबा पनि भलिबलप्रेमी भएकाले डायमन्डसम्म आइपुगेकी हुन्। 

डायमन्डबाट नै प्रशिक्षण सुरु गरेकी सुमित्रा रेग्मी अहिले राष्ट्रिय महिला भलिबल टोलीको मुख्य सदस्य बनेकी छिन्। छोटो समयमा नै राष्ट्रिय टोलीमा ‘डेब्यु’ गर्न सफल उनी यसको श्रेय डायमन्डलाई नै दिन्छिन्। 

यस्तै राम्रो भलिबल खेल्ने लक्ष्यमा डायमन्ड पुगेकी पोखराकी सारिका कार्कीलाई प्रतिभा माली र सुमित्रा रेग्मीजस्तै खेलाडी बन्ने रहर छ। त्यही सपनालाई यथार्थमा बदल्न मिहिनेत गरिरहेकी सारिका अहिले डायमन्डको उमेर समूहको टोलीबाट खेल्छिन्। 

पुरानो नैकापस्थित चन्द्रागिरिमा क्लबको आवासीय भवन छ। त्यहाँ खेलाडीहरु अभ्यासमा व्यस्त भेटिन्छन्। कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरु पनि पढाइ सकेर अभ्यासमा नै जोडिन्छन्।

ससाना नानीहरुदेखि राष्ट्रिय टोलीका प्रगति नाथ, सुमित्रा रेग्मी, सलिना श्रेष्ठ र प्रतिभा माली मात्र हैन, उमेर समूहका खेलाडी पनि एकै कोर्टमा प्रशिक्षण गर्छन्। प्रशिक्षक कुमार राई उनीहरुलाई नियाल्छन्, गल्ती गर्दा सम्झाउँछन्। 

‘अहिले कोर्ट पनि सानो भएको छ। एक दिन योभन्दा ठूलो भलिबल कोर्ट बनाउने इच्छा छ’, उनले नेपालखबरसँग भने।

टोलीकी सहायक प्रशिक्षक ललिता नाथ साना बहिनीहरुलाई सिकाउँछिन्। उनले पनि डायमन्डबाट नै खेल जीवन सुरु गरेकी हुन्। कप्तानी जिम्मेवारी सम्हाल्दै अहिले टोलीको सहायक प्रशिक्षकको भूमिकामा छिन्। परिचय फेरिएपछि ललिता अहिले प्रशिक्षणमा मात्र हैन, व्यवस्थापनमा पनि उत्तिकै सक्रिय  रहेको बताउँछिन्। 

उनले भनिन्, ‘डायमन्डमा खेल्न मात्र हैन, सबै जना परिवारजस्तो भएर बसेका छौँ। त्यसैले काम गर्न पनि सहज छ।’

नेपालको महिला भलिबलको चर्चा गर्दा न्यु डायमन्ड युथ स्पोर्टस क्लबलाई बिर्सियो भने अधुरो हुने गर्छ। 

क्लबले नेपालको उमेर समूहमा मात्र नभई राष्ट्रिय टोलीका लागि समेत खेलाडी उत्पादन गरिरहेको छ। 

डायमन्डले एउटा विद्यालयको मैदानबाट भलिबलको यो यात्रा सुरु गरेको थियो। अहिले राष्ट्रिय टोली निर्माणमा योगदान दिने हैसियत बनाउन सफल भएको छ। 

डायमन्डबाट जन्मिएका खेलाडीले अहिले नेपालको राष्ट्रिय र उमेर समूहको टोली धानिरहेको छ। 

क्लबसँग अहिले आफ्नै भवन छ अनि भलिबल खेल्ने कोर्ट। तर अहिले त्यो पनि साघुँरो बन्दै गइरहेको छ। झण्डै ५० जना खेलाडीले अहिले डायमन्डमा प्रशिक्षण गर्दै आइरहेका छन्। ३० जनाभन्दा बढीले आवासीय सुविधासँगै अध्ययन र खेललाई सँगै अघि बढाएका छन्। 

वि.सं. २०६९ सालमा नेपाल भलिबल संघले आयोजना गरेको क्लब च्याम्पियनसिपबाट न्यु डायमन्डले घरेलु प्रतियोगितामा भाग लिन थालेको थियो। त्यसपछि अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन। कलिला हातहरुलाई कुमार राईले भलिबल खेल्न सिकाएका थिए। अहिले उनीहरुको पदचाप पछ्याउँदै थुप्रै खेलाडी डायमन्डले जन्माएको छ। 

प्रतिभा माली, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी र प्रगति नाथ मात्रै होइन, कुनै समय राष्ट्रिय भलिबलमा तहल्का मच्चाएका रेश्मा भण्डारी, कृपा अधिकारीदेखि रमिला तण्डुकार पनि डायमन्डकै प्रतिभा हुन्। 

डायमण्डले निखारेका प्रतिभालाई लैजान विभागीय टोली पनि लालायित हुने गरेका छन्।

राष्ट्रिय टोलीमा समेत अहिले डायमन्डका खेलाडीको दबदबा हुने गर्छ। देशका कुनै पनि ठाउँमा महिला भलिबल हुँदा डायमन्डलाई अनिवार्य निम्तो आउने गर्छ। 

भलिबलमा डायमन्ड चम्किएको छ। विभायीय टोलीको दबादबालाई तोड्दै आफ्नो छुट्टै परिचय बनाएको छ। 

माघ १५, २०८२ बिहिबार १०:३८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad