खेल


स्कटल्यान्डविरुद्ध फराकिलो जित खोज्दै नेपाल (प्रिभ्यु)

स्कटल्यान्डविरुद्ध फराकिलो जित खोज्दै नेपाल (प्रिभ्यु)

नेपाली महिला क्रिकेट टोली (क्यान)


लक्ष्मी जि.सी
माघ ११, २०८२ आइतबार १७:८, काठमाडौँ

घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्नका लागि नेपाली राष्ट्रिय महिला क्रिकेटको टोलीको अंक गणितीय सम्भावना मात्र बाँकी छ।

सुरुवाती २ खेलमा हार र एक् खेलमा जित निकालेको महिला टोलीले समूह चरणको अन्तिम खेलमा सोमबार स्कटल्यान्डविरुद्ध खेल्दै छ। सो खेल बिहान ९ बजे सुरु हुनेछ।

सो खेलमा नेपाली टोलीले स्कटल्यान्डलाई हराएर मात्र सुपर सिक्समा पुग्न पर्याप्त छैन। सोमबारको खेलमा नेपालले स्कटल्यान्डलाई हराए अंक तालिकामा चार अंक जोड्नेछ। स्कटल्यान्डसँग अहिले नै ४ अंक छ। दुई खेलमा जित र एक खेलमा हार भोगेको स्कटल्यान्ड चार अंकमा तालिकाको दोस्रो स्थानमा छ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई फराकिलो अन्तरले हराउनुपर्नेछ। अर्को खेलमा नेदरल्यान्ड्सले थाइल्यान्डलाई पनि फराकिलो अन्तरले हराउनुपर्नेछ। नेदरल्यान्डस र थाइल्यान्ड पनि सोमबार नै खेल्नेछन्।

नेपालले अंक तालिकामा चार अंक जोडेर मात्र सुपर सिक्समा पुग्नेछैन। नेट रनरेटमा बलियो हुँदै तेस्रो स्थानमा रहन सके सुपर सिक्समा पुग्नेछ। 

त्यसो हुन नसके नेपाल चौथो स्थानमा रहेर सुपर सिक्सको दौडबाट बाहिरिनेछ। नेपाल सुपर सिक्सबाट बाहिरिए नेपालको विश्वकप खेल्ने सपना फेरि एकपटक अधुरै रहनेछ।

नेपालको महिला टोलीले पहिलो पटक ग्लोबल छनोट खेलेको हो। पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको महिला टोली दोस्रो खेलमा नेदरल्यान्डस्सँग २ रनको झिनो अन्तरले पराजित भएको थियो।

तेस्रो खेलमा भने जिम्बाब्वेमाथि ६ विकेटको जित निकालेको थियो। सो खेलमा टोलीकी उपकप्तान पुजा महतोले नटआउट अर्धशतक पूरा गरिन्। राष्ट्रिय टोलीबाट तीन अर्धशतक पूरा गर्ने पुजा पहिलो खेलाडी हुन्।

जारी ग्लोबल छनोटमा नेपालका दुई खेलाडीले १ हजार रनको कोशेढुंगा पार गरेका छन्। सीताले जिम्बाब्वेविरुद्धको खेलमा १ हजार रन पूरा गरिन्। नेदरल्यान्ड्स विरुद्धको खेलमा पूर्वकप्तान रुविना क्षेत्रीले १ हजार रन पूरा गरिन्।

यता स्कटल्यान्डसँग समान ४ अंक भए पनि नेट रनरेटमा पछि पर्दै थाइल्यान्ड तालिकाको तेस्रो स्थानमा छ। 

समूह चरणमा अपराजित रहेको नेदरल्यान्डस् ६ अंकमा शीर्ष स्थानमा रहेर सुपर सिक्समा पुगिसकेको छ। अब शीर्ष दुइमा रहनका लागि नेपाल र स्कटल्यान्डसँगै थाइल्यान्ड दौडमा छन्। स्कटल्यान्ड र थाइल्यान्डसँग अहिले ४ अंक छ।

समूह चरणका चार खेलमा लगातार हार भोगेको जिम्बाब्वे अंकविहीन रुपमा बाहिरिसकेको छ। उता समूह ‘ए’बाट अपराजित रहँदै बंगलादेश सुपर सिक्समा पुगिसकेको छ। यो समूहबाट आयरल्यान्ड, अमेरिका र पपुवा न्यु गिनी सुपर सिक्सको दौडमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad