मेयर छँदा हरेक शनिबार श्रमदान अभियान चलाएर चर्चा कमाएका हर्क साम्पाङले घरदैलो अभियानमा पनि त्यसलाई निरन्तरता दिएका छन् भने उनका प्रतिस्पर्धी चुनावी रणनीति बनाइरहेका छन्।
बिहान घाम झुल्केसँगै धरान उपमहानगरपालिका-१९ स्थित बुद्ध चोक छेउछाउमा केही युवा प्लास्टिक र फोहोर उठाउँछन्। फोहोर उठाउँदा उठाउँदै घरघरमा पुग्छन्।
दिउँसोतिर त्यही समूह धरान-१९ का गल्लीमा देखिन्छ। यो समूहको अगुवाको एउटा हातमा ‘माटो’ तस्बिरसहितका प्रचार सामग्री छन् भने अर्को हातमा ह्यान्ड माइक। उनी बोल्दै हिड्दै गर्दा समर्थकले टीका लगाइदिन्छन्।
यो दृश्य, माघ १० गते शनिबारको हो। टोलीका अगुवा हुन्, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई (साम्पाङ)। यति वेला उनी चुनावी प्रचारका लागि घरदैलो अभियानमा छन्।
मेयर हुँदादेखि नै हर्कले शनिबारलाई ‘श्रमबार’का रुपमा उपयोग गरेका थिए। त्यसैले माघ १० को शनिबार पनि सहयोगी र शुभचिन्तकसँगै घरदैलो अभियानमा प्लास्टिक र फोहोर पनि टिपिरहेका थिए।
सुनसरी-१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका उनले चुनावी प्रचारका क्रममा पनि ‘श्रम संस्कृति’ रोकेका छैनन्। बिहानै वडा नम्बर १९ मा प्लास्टिक टिप्दै सुरु भएको घरदैलो र श्रमदान अभियान दिउँसो दलबलसहित धरान-१९ को पुतली लाइन छिरेको थियो। अभियान जति अगाडि बढ्दै थियो, समर्थक थपिँदै गए।
बेलगाछी लाइनमा पुगेपछि मदन लिम्बूको घरमा पुग्छन्, हर्क। उनी समर्थकले बोकेको अबिर हातमा निकाल्छन् र मतदातालाई लगाउन थाल्छन्। अबिर लगाउँदै प्रचार सामग्री हातहातमा थमाउँदै अघि बढ्छन्।

उनको प्रचारशैली देखेर मदन लिम्बू पनि प्रभावित भएका छन्। मेयर हुँदा राम्रो काम गरेको उनी सुनाउँछन्। ‘अहिले धरान फेरिएको छ। पानीको समस्या समाधान उन्मुख छ, पार्क बनेका छन्,’ मदन भन्छन्।
यसरी घरदैलो हिडिरहेका हर्कले ह्यान्ड माइकबाट आफूले गरेका कामको विवरण र भविष्यको खाका सुनाइरहेका छन्। धरानमा खानेपानीको व्यवस्थापन र श्रम संस्कृति पार्क निर्माणमा खेलेको भूमिकालाई उनले चुनावी एजेन्डा बनाएका छन्। धरानको चिन्डे डाँडामा बनाउने भनिएको सुम्निमा पारुहाङको प्रतिमाको विषय पनि उनले अघि सारेका छन्। पूर्वाधार निर्माणमा गरेको कामलाई उनले मुख्य चुनावी हतियार बनाएका छन्।
मेयर-वडाध्यक्षदेखिकै प्रतिस्पर्धा
प्रतिनिधि सभाको निर्वाचन जति नजिकिँदै छ, उति सुनसरी-१ को चुनावी माहोल रोचक बनिरहेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरानका पूर्व मेयर हर्क र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं धरान-१७ का पूर्व वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)का प्रतिस्पर्धामा उत्रिएका छन्। यसले चुनावी चर्चा थप चुलिएको छ।
हर्कले घरदैलो अभियान चलाइरहँदा अन्य दलका उम्मेदावर भने आन्तरिक गृहकार्यमा व्यस्त छन्। कतिपयले प्रचारप्रसार सुरु गरिसकेका छन्। पूर्व वडाध्यक्ष मनोज भने शनिबार पार्टीको कार्यक्रमका लागि वराहक्षेत्रमा थिए।
मनोज २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट धरान-१७ को वडाध्यक्ष निर्वाचित भएका थिए। त्यसपछि २०७९ सालको निर्वाचनमा पनि लोकप्रिय मतका साथ वडाध्यक्ष दोहोरिए। पहिलो कार्यकालमा काममा व्यस्त रहेका उनी दोस्रो कार्यकालमा भने हर्कसँगको विवादले चर्चामा आए।
मनोज र हर्कबीच सुरुवातदेखि नै विवाद भयो। दुवै जना सामाजिक सञ्जालमा भाइरल बने। मनोज धरान उपमहानगरका प्रवक्ता थिए। तर मेयरसँग तालमेल कहिल्यै मिलेन।

धरानको कार्यपालिका बैठकमा प्रस्तुत हुने एजेन्डामा मेयर हर्क र वडाध्यक्ष मनोजबीच वादविवाद भइरह्यो। कतिपय विषयमा त चर्काचर्की नै भयो। उनीहरूको चर्काचर्की सामाजिक सञ्जालमा छरपस्ट भइरह्यो।
हर्कका समर्थकले मनोजलाई ट्रोल बनाउने गरेका थिए। त्यस्तै, मनोजका समर्थकले पनि हर्कलाई ट्रोल बनाउँन छोडेनन्।
यो बीचमा दुवै जनाबीच अनौपचारिक रूपमा भलाकुसारी भएको सुनिएन। एकले अर्कालाई अनेक उपनाम थिए। खोला खोल्सी धाउने भएकाले मनोजले हर्कलाई ‘खोले मेयर’ भनेको र हर्कले मनोजलाई ‘गुइँठे वडाध्यक्ष’ भनेको सामाजिक सञ्जालमा भाइरल नै भयो। अहिले पनि स्थानीय बासिन्दा उनीहरूको चर्चा गर्दा त्यही उपनाम दिने गरेका छन्।
प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न हर्कले मेयरबाट राजीनामा दिएकै दिन मनोजले पनि वडाध्यक्षबाट राजीनामा दिए। सँगै चुनावी मैदानमा उत्रिने भन्दै सँगै बिदाबारी भएका थिए। उनीहरू स्थानीय तहबाट अलग भएपछि पनि एक-अर्काको प्रतिस्पर्धी बनेका छन्।
मेयर हुँदा हर्कले खासै काम नगरेको मनोजको भनाइ छ। ‘धरानमा पछिल्लो समय विकासको नाममा स्टन्ट मात्र भएको छ। वास्तविक जनजीविकाका सवालहरू ओझेलमा परेका छन्,’ उनी भन्छन्।
विधि र पद्धति मानेर आएकाले व्यक्तिप्रधान भएर होइन, संस्थाप्रधान भएर काम गर्नुपर्ने उनको भनाइ छ। ‘धरानमा अहिले शिक्षा, स्वास्थ्य र रोजगारीको समग्र अवस्था कस्तो छ? केवल ढुंगा बोकेर मात्र विकास हुँदैन। हामीलाई फेसबुकको विकास होइन, दिगो र व्यवस्थित विकास चाहिएको छ,’ मनोज भन्छन्।
हर्कको तीन वर्षे कार्यकालमा धरानमा धार्मिक र जातीय सद्भाव खल्बलिन पुगेको उनको दाबी छ। हर्कका स्वभावजन्य कमजोरी र सामाजिक सञ्जालमा गरिने अमर्याादित टिप्पणीले धरानको छविमा आँच पुगेको उनको तर्क छ।
शालीन टीकाराम
सुनसरी-१ बाट प्रतिनिधि सभा सदस्यका लागि २६ जना प्रतिस्पर्धामा छन्। जसमा १९ जनाले विभिन्न राजनीतिक दलबाट र सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रतिस्पर्धीमध्ये अर्का उम्मेदवार हुन्, नेकपा (एमाले)का टीकाराम लिम्बू। उनी पनि शनिबार चुनावी कार्यक्रममा व्यस्त थिए।
मेन्याङ्बो कल्याणकारी संघले आयोजना गरेको कार्यक्रममा भेटिएका उनले चुनावी गतिविधि सुरु गरिसकेका बताए। पार्टीको आन्तरिक तयारी र भेटघाटमा लागिरहेको उनी सुनाउँछन्।

एमालेले आइतबार चुनाव परिचालन कमिटी गठन गरेपछि क्षेत्रीय स्तर र वडा तहहरूमा कार्यक्रम सुरु हुने उनी बताउँछन्। आफूप्रति युवाको आकर्षण, बलियो पार्टी संगठन र आदिवासी बाहुल्य समुदायको भोट आफ्नो जित्ने आधार भएको टीकारामको भनाइ छ।
यो क्षेत्रमा नेपाली कांग्रेसका सुजेन्द्र गोले तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ (सरिन) पनि बलिया प्रतिस्पर्धी हुन्। गोमा त गत निर्वाचनमा थोरै मतले पराजित भएकी थिइन्। जनता समाजवादी पार्टी (जसपा)का नेपालका अशोक राई १७ हजार ५९ मत लिएर निर्वाचित भएका थिए भने रास्वपाकी गोमाले १६ हजार ६०६ मत पाएकी थिइन्।
यस पटक अशोक उम्मेदवार छैनन्। जसपा नेपाल विभाजित भएर जसपा बनेको छ। जसपाबाट नगेन्द्रबहादुर लिम्बू र जसपा नेपालबाट सञ्जय राई उम्मेदवार छन्।
त्यस्तै, सुनसरी-१ बाट नेपाल मजदूर किसान पार्टीका महेश श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ, नेकपा (माओवादी)का दिलबहादुर बास्तोला (नगेन्द्र), राष्ट्रिय साझा पार्टीका भूपी राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार लिम्बू, नेपाली जनश्रमदान संस्कृति पार्टीका राजकुमार राई, संयुक्त नागरिक पार्टीका नरेश विक र उज्यालो नेपाल पार्टीका डम्बर लावती प्रतिस्पर्धामा छन्।
यसैगरी, नेकपा (संयुक्त)का श्यामनारायण राजधामी, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, आम जनता पार्टीका रायबहादुर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठ र मितेरी पार्टी नेपालका डा. रक्षकुमार राईका चुनावी मैदानमा छन्। स्वतन्त्रबाट ओमकृष्ण उदास, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा चेतबहादुर राई, जीवनकला राई, सुमित राई र देउमान लिम्बू पनि उम्मेदवार छन्।
सुनसरी-१ मा धरान उपमहानगरका २० वटै वडा, वराहक्षेत्र नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ तथा रामधुनी नगरपालिकाको वडा नं. ६ र ७ छन्। यो क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता छन्।
Shares

प्रतिक्रिया