खेल


नेपाली युवा टोली अफगानिस्तानसँग पराजित

नेपाली युवा टोली अफगानिस्तानसँग पराजित

नेपालखबर
पुस २, २०८२ बुधबार १८:२७, काठमाडौँ

यूएईमा जारी यू–१९ एसिया कपमा नेपाली युवा टोलीले लगातार तेस्रो हार व्यहोर्दै जितविहीन यात्रा सकाएको छ। 

बुधबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित हुँदै नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको हो। नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले र दोस्रो खेलमा बंगलादेशसँग ७ विकेटले पराजित भएको थियो। 

नेपालले प्रिमियर कपको उपविजेताको रुपमा एसिया कप खेलेको हो। नेपाल रहेको समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका छन्। अन्तिम खेलमा जित निकाल्दै अफगानिस्तानले एसिया कप यात्रा सकाएको छ। 

नेपालले दिएको १ सय २५ रनको झिनो लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। अफगानिस्तानले छैटौँ ओभरको पहिलो बलमा फैसल सिनोजादा १३ र दोस्रो बलमा नजिरुल्लाह नियाजाइ शून्यमा आउट भए। नेपालका लागि दुवै विकेट अविशेक तिवारीले लिए। 

ओस्मान सदात २८ रनमा विपिन शर्माको बलमा क्याच आउट हुन पुगे। उजैरुल्लाह नियाजाईले ६१ र कप्तान महबुब खानले ११ रन थपे। 

त्यसअघि यूएईको द सेभेन्स स्टेडियममा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली ४६.४ ओभरमा १ सय २४ रन बनाउँदा अलआउट भयो। नेपालका लागि दिलसाद अलीले बनाएको ३२ रन नै सर्वाधिक रह्यो। चन्दन रामले २७ रन थपे। अविशेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

अफगानिस्तानविरुद्ध कमजोर सुरुवात गरेको नेपाली टोलीले पावर प्लेमा नै ३ विकेट गुमाए २९ रन बनाएको थियो। नेपालका ओपनर साहिल पटेल १ रनमा अब्दुल अजिजको बलमा बोल्डआउट भए। 

त्यस्तै, निरज यादव २० बलमा १ चौका सहयोगमा ८ रन बनाउँदा क्याच आउट हुन पुगे। विकेटकिपर आशिष लोहार ४ रन बनाउँदा एलबीडब्लूको धरापमा परे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad