खेल


विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा

विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर २३, २०८२ मंगलबार १९:१०, काठमाडौँ

विराटनगर किंग्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो।

योसँगै सुदूरपश्चिमले विराटनगरसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। लिग चरणमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो। 

सुदूरपश्चिमसँग पराजित भएपछि विराटनगर पहिलो प्रयासमा नै उपाधि नजिक पुग्ने मौका गुमाएको छ। अब विराटनगरले फाइनल पुग्न दोस्रो मौका पाउनेछ। विराटनगरले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ। 

एलिमिनेटर खेलमा बुधबार तेस्रो स्थानको काठमाडौँ गोर्खाज र चौथो स्थानको लुम्बिनी लायन्स खेल्नेछन्।

सुदूरपश्चिमले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाउँदा अलआउट भयो। विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले ३६ रनको सर्वाधिक योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। फाफले २९ बलमा तीन चौका र एक छक्का प्रहार गर्दा हेमन्त धामीको बलमा क्याच आउट भए। 

मार्चेन्ट डे लाङगे १५ रन बनाउँदा स्कट कुग्लेजिनको बलमा हरमित सिंहबाट क्याच आउट हुन पुगे। बसिर अहमदले १२ रन थपे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

विराटनगरलाई रोक्न दोस्रो ओभरमा नै सुदूरपश्चिमले तीन विकेट लिएको थियो। १.१ ओभरमा विराटनगरले तीन रन बनाउँदा तीन विकेट गुमाएको थियो। पावर प्लेमा विराटनगरले तीन विकेट गुमाएर मात्र ३४ रन बनायो। 

विराटनगरलाई कम स्कोरमा रोक्न सुदूरपश्चिमका लागि हरमित सिंह, अविनास बोहरा र स्कट कुग्लेजिनले समान दुई विकेट लिए। हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट आफ्नो नाममा गरे। 

विराटनगरले बनाएको यो सिजनकै कम स्कोर हो। त्यस्तै, एनपीएलको इतिहासमा तेस्रो कम स्कोर हो। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ५५ रनको योगफल तयार पारेको थियो। 

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ५२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। उनले ४४ बलमा तीन चौका र एक छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए। 

आरिफ शेखले २० रन बनाउँदा क्याच आउट भए। स्कट कुग्लेजिन एक रनमा नटआउट रहे। 

त्यस्तै, ११ बलमा दुई चौका र एक छक्काको सहयोगमा २० रन बनाएका सेल्डन ज्याकसन सूर्य तामाङको बलमा विकेटकिपर लोकेश बमबाट आउट हुन पुगे। 

११ बलमा १४ रन बनाएका हरमित सिंह प्रतिश जिसीको बलमा साम हेजलेटको हाटबाट क्याच आउट भए। इशान पाण्डे १३ रनमा आउट भए। ओपनर मुख्तर अहमद १० रन बनाउँदा मर्चेन्टको बलमा बोल्डआउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी तीन रनमा रनआउट हुन पुगे। 

विराटनगरका लागि मार्चेन्ट डे लाङ्गे र प्रतिश जिसीले दुई–दुई विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले समान एक विकेट लिए। एनपीएलको पहिलो खेलमा विकेटविहीन बनेका कप्तान सन्दीप लामिछानेले आफ्नो स्पेलमा १६ रन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad