राजनीति


जेनजी विद्रोहमाथि दमन गर्नेलाई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौं : गृहमन्त्री

जेनजी विद्रोहमाथि दमन गर्नेलाई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौं : गृहमन्त्री

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १९:९, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहमाथि गरिएको दमनका जिम्मेवारलाई राज्य प्रणालीभित्र मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने चेतावनी दिएका छन्। 

मंगलबार काठमाडौँमा जेनजी सहिदहरूको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै उनले सरकार कारबाहीमा ‘दृढतापूर्वक अघि बढ्ने’ स्पष्ट संकेत दिए।

गृहमन्त्री अर्यालका अनुसार जेनजी आन्दोलनका घाइते तथा शहीदका माग पूरा गर्दै दोषीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढ्नेछ। सत्तामा बसेकाहरू नै कुशासनका अभियन्ता बनेका कारण जेनजी विद्रोह चर्किएको उल्लेख गर्दै उनले भने, ‘सत्तामा बस्नेहरू कुशासनका अभियन्ता बनेका कारण जेनजी विद्रोह भएको हो। त्यसकारण सहिदको सपनाअनुसार अब हामी सुशासनका अभियन्ता बन्नुपर्छ।’

सरकार सुशासनका पक्षमा दृढतापूर्वक अघि बढिरहेको बताउँदै उनले नागरिकलाई कमजोरी देखेमा औंल्याउन आग्रह गरे। अर्यालले भने, ‘कारबाही गर्ने कुरामा दृढतापूर्वक अगाडि बढ्छौं। दोषीलाई राज्य प्रणालीभित्रबाट मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि घेराबन्दी गर्छौं।’

गृहमन्त्रीका अनुसार जेनजी विद्रोह र सरकारी दमनसम्बन्धी विषयमा जाँचबुझ आयोग, प्रहरी र राष्ट्रिय मानव अधिकार आयोगले छुट्टै अनुसन्धान गरिरहेका छन्, र त्यसले अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउनेछ।

उनले नागरिक सरकार गठनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गर्ने वातावरण पाएको दाबी गर्दै पर्दा पछाडि बसेर नेताहरूलाई चलाउने तथा जनतालाई दुःख दिने तत्वहरू पहिचान भई कारबाहीको दायरामा आइसकेको पनि बताए।

गृहमन्त्री अर्यालले भने, ‘यो देशका नेताहरुलाई नचाउने र पर्दा पछाडि बसेर दोहन गर्ने तत्वहरू पहिचान भइसकेका छन्। तीमध्ये केही त कारबाहीको दायरामा पनि गइसकेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad