खेल


म्याराथन धावक जीतबहादुर केसीलाई २५ लाखसहित सम्मान गरिने

म्याराथन धावक जीतबहादुर केसीलाई २५ लाखसहित सम्मान गरिने

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १९:२४, काठमाडौँ

नेपाल सरकारले देशलाई पहिलो अन्तरराष्ट्रिय पदक दिलाउने म्याराथन धावक एवं ओलम्पियन जीतबहादुर केसीलाई सम्मानस्वरूप नगद रु २५ लाख प्रदान गर्ने भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सम्मान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। पूर्वम्याराथन धावक एवं ओलम्पियन केसीले सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको पहिलो एसियाली एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक हासिल गरेका थिए।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खरेलले मेहेलकुना–खटाङ–घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुल आयोजना, सुर्खेतलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तोक्ने निर्णय भएको पनि जानकारी दिए।  
    
बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यस्तै, यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णयसमेत गरिएको छ। 

बैठकले नेपाली सेनाका तीन जना महासेनानीको सरूवा, एक सहायक रथीको पदावधि थप र एक सहायक रथीको उपरथीमा विशेष बढुवा गर्ने निर्णय गरेको छ। 

यसैगरी महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरिएको छ। नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ। 

यसैगरी कोलम्बो प्लानको नवौँ महासचिव पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने निर्णय गरिएको छ। 

बैठकले नेपाल र मौरिससबीच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने निर्णय गरेको छ। सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेडको संस्थापना गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति दिने, नेपाल न्याय सेवा, न्याय समूहका चारजना सहसचिवको सरुवा गर्ने निर्णय भएको छ। सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको पनि मन्त्री खरेलले जानकारी दिए
    
यस्तै, यही मङ्सिर २९ र पुस १ गते भुटानको थिम्पुमा आयोजना हुने कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपककुमार खराललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad