खेल


सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, विराटनगरको पनि ‘प्लेअफ’ सुनिश्चित

सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, विराटनगरको पनि ‘प्लेअफ’ सुनिश्चित

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १९:३९, काठमाडौँ

चितवन राइनोजलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिलो ‘क्वालिफायर’मा पुगेको छ भने विराटनगर किंग्सको पनि ‘प्लेअफ’मा स्थान सुरक्षित भएको छ। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार साँझ चितवनलाई ४९ रनले हराउँदै सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा पुगेको हो। सुदूरपश्चिमले अहिलेसम्म खेलेका ६ वटै खेल जितेको छ। लिग चरणमा अपराजित रहेको सुदूरपश्चिम १२ अंकसहित अंक तालिकाको शीर्षस्थानमा छ। 

यो हारसँगै चितवनको ‘प्लेअफ’को बाटो कठिन बनेको छ। अहिलेसम्म खेलेका ६ खेलमध्ये चार हार ब्यहोरेको चितवनको दुई जितसहित चार अंक छ। अब अन्तिम खेल जितेमा ६ अंक हुनेछ। चितवनलाई ‘प्लेअफ’मा पुग्न अन्तिम खेल जितेर मात्रै हुँदैन, अरु टोलीको खेलमा निर्भर हुनुपर्छ। 

आजको खेलसँगै अन्तिम चारमा पुग्ने तेस्रो टोली पनि पक्का भएको छ। सुदूरपश्चिम यसअघि नै अन्तिम चारमा पुगेको थियो भने काठमाडौँ गोर्खाज बिहीबार दिउँसो भएको खेलमा पोखरालाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो। काठमाडौँ लिग चरणका सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै १० अंकसहित दोस्रो स्थानमा छ। 

आज चितवन पराजित भएसँगै विराटनगरको ‘प्लेअफ’ स्थान सुरक्षित भएको छ। विराटनगर लिग चरणका ६ मध्ये दुई खेलमा हार र चार खेलमा जितसहित आठ अंक बटुेर तेस्रो स्थानमा छ। 

अब अन्तिम चारको एक स्थानका लागि चार टोली लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्टस् र चितवन राइनोज प्रतिस्पर्धामा छन्। शुक्रबार जनकपुरसँग हुने लिग चरणको आफ्नो अन्तिम खेल जितेमा लुम्बिनी आठ अंकसहित ‘प्लेअफ’मा पुग्नेछ भने अन्य तीन टोलीको यात्रा टुंगिनेछ। 

शुक्रबारको खेल जनकपुरले जितेमा भने ‘प्लेअफ’को प्रतिस्पर्धा रोचक बन्नेछ। समान ६ खेल खेलेको लुम्बिनीको ६ अंक छ भने पोखराको चार अंक छ।

त्यस्तै, पाँच खेल खेलेको जनकपुरको दुई अंक मात्रै छ। जनकपुर अर्को खेलमा शुक्रबार लुम्बिनीसँग र अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। अहिलेसम्म कर्णालीमा प्लेअफको दौडबाट बाहिरिएको छ। 

बिहीबार सुदूरपश्चिमले दिएको एक सय १७० रनको लक्ष्य पछ्याउने क्रममा चितवन १२० रनमै समेटियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए। उनले २३ बलमा एक चौका र दुई छक्का प्रहार गरे। 

त्यस्तै, देव खनालले २८, अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। 

सुदूरपश्चिमका लागि पुनित मेहराले दुई, दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले एक–एक विकेट लिए। 

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले चार विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो। सुदूरपश्चिमका लागि क्रिस लिनले सर्वाधिक ७५ रन बनाए। उनले ५६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। 

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४ रन बनाए। दीपेन्द्रले १४ बलमा दुई छक्का प्रहार गरे भने आरिफले १६ बलमा दुई चौका र एक छक्का प्रहार गरे। 

त्यस्तै, प्रारम्भिक ब्याटर विनोद भण्डारीले २१ रन बनाए। उनले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए। पुनित मेहराले १३ रन बनाए भने इशान पाण्डे र हरमित सिंह एक-एक रनमा आउट भए। 

चितवनका लागि सैब जैबले दुई विकेट लिए। रञ्जित कुमार र जर्ज स्क्रिमसोको नाममा एक-एक विकेट रह्यो। 

शुक्रबार जनकपुर बोल्टस् र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछ। यो खेल अपराह्न ४ बजे सुरु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad